-->

काठमाडौं । कैलालीका केही बीउ उत्पादक कृषि सहकारीले सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत रकम थप गरी किसानबाट धान खरिद गरिरहेका छन् । किसानले उत्पादन गरेको धानले सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्य नपाईरहेको गुनासो आइरहेका बेला कैलालीका किसान भने बढी मूल्य पाएर खुशी भएका छन् ।

नेपाल सरकार मन्त्रिपरिषद्को गत जेठ २ गतेको बैठकले आर्थिक वर्ष २०७७÷७८ का लागि मोटा धानको प्रतिक्विन्टल दुई हजार ७३५ रुपैया र मध्यम धानको प्रतिक्विन्टल दुई हजार ८८५ रुपैया न्यूनतम समर्थन तोकेको थियो । कैलालीका केही कृषि सहकारीले किसानको बीउ धान सरकारले तोकेको समर्थन मूल्यमा १५ देखि २० प्रतिशत थप गरी खरिद गरिरहेका छन् ।

कृषि सहकारीले किसानलाई बीउ उत्पादनका लागि मूल र प्रमाणीकरणको बीउ उपलब्ध गराएर प्रथम पुस्ताको उन्नत बीउ उत्पादन गर्ने गरेका छन् । यसरी किसानले गुणस्तरीय बीउ उत्पादनका लागि गर्नुपर्ने बाली निरीक्षण, सुपरीवेक्षण, विधि र पद्दतिको प्रयोगबाट उत्पादन भएको बीउलाई सहकारीले महंगोमा खरिद गरिरहेका नमूना बहुउद्देश्यीय सहकारी संस्था टीकापुरका अध्यक्ष जीतबहादुर चौधरीले बताए ।

‘किसानको उत्पादनले उचित मूल्य पाउनुपर्छ भन्ने हाम्रो उद्देश्य हो । हामीले नै बीउ उपलब्ध गराएर किसानलाई बीउ उत्पादनमा प्रोत्साहन गरेका थियौं’, जीतबहादुरले भने, ‘त्यही बीउ सरकारले तोकेकोभन्दा केही महंगोमा खरिद गरेका हौँ । तोकेकोभन्दा बढी मूल्य पाएपछि किसान खुशी छन् ।’

कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकामा १२ वटा बीउ उत्पादक कृषि सहकारी र कम्पनी छन् । यी सहकारी र कम्पनीले एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानको बीजवृद्धि खेती गरी धानको बीउ उत्पादन गर्दै आएका छन् ।

अन्य बाली उत्पादनभन्दा बीउ बाली उत्पादनमा धेरै मेहनत तथा किसानले ध्यान दिनुपर्ने हुनाले सरकारले निर्धारण गरेको समर्थन मूल्यमा प्रतिक्विन्टल ३ सय रुपैया थप गरी किसानबाट खरिद गरिरहेको बीजवृद्धि कृषि सहकारी संस्था जानकी गाउँपालिका मुनुवाका प्रबन्धक गोविन्द रावतले जानकारी दिए ।

‘बीउका लागि गरिने खेतीमा अन्य खेतीभन्दा बढी मेहनत लाग्छ’, प्रबन्धक रावतले भने, ‘सहकारीको बैठक बसेर प्रतिक्विन्टल ३ सय बढीमा खरिद गर्ने निर्णय ग¥यौं । यसले किसानलाई बीजवृद्धि खेती गर्न प्रोत्साहनसमेत गर्छ ।’ सरकारले किसानबाट खरिद गरेको धानको भुक्तानीे १५ दिनभित्र किसानलाई दिइसकेको हुनुपर्ने व्यवस्था गरेको छ ।

कृषि सहकारीले किसानलाई रकम भुक्तानी गरेको प्रमाणको आधारमा सहकारीले सरकारबाट अनुदान पाउने व्यवस्था छ । सरकारको समर्थन मूल्यभन्दा बढी नै मूल्यमा धान खरिद गरे पनि किसानलाई तत्काल नगद रकम दिइरहेको धनसिंहपुर कृषि सहकारीका अध्यक्ष धनसिंह साउदले बताए । ‘हामीले प्रतिक्विन्टल ४ सय रुपैया बढीमा खरिद गरिरहेका छौँ’, अध्यक्ष साउदले भने, ‘वर्षभरि खेती गरेका किसान यतिखेर धान बेचेर हिउँदे खेती गर्ने तयारीमा छन् । हामीले नगद दिएर नै खरिद गरिरहेका छौँ ।’

बजारमा गल्ला व्यापारीले यही धान दुई हजार एक सय रुपैयासम्म मात्र मूल्य दिने गरेका छन् । टीकापुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले समेत धान खरिद शुरु गरेको छ । किसानले खाद्यमा मोटा धान प्रतिक्विन्टल दुई हजार ७ सय ३५ रुपैया र मध्यम धान प्रतिक्विन्टल दुई हजार ८ सय ८५ रुपैयामा बिक्री गरिरहेका छन् ।

सहकारीमा बिक्री गर्नेले यसमा १५ देखि २० प्रतिशत थप रकम पाइरहेका छन् । स्थानीय रामदुलारे चौधरी बजारको मूल्यभन्दा करिब एक हजार बढी रकम पाउनु किसानका लागि खुशीको कुरा भएको बताउँछन् । ‘यस वर्ष किसानले खेती गरेर उचित मूल्य पाएका छन’ उनले भने, ‘मैले हिजो बिक्री गरेँ । अब किसान ठगिने दिन अन्त्य भएछन् जस्तो लाग्यो ।’

 

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS