- कुमार ओझा
-->

काठमाडौं जिल्लाको दक्षिणकाली नगरपालिकामा दश वर्षअघि स्थापना भएको गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्था एक सफल सहकारी संस्थाको रुपमा यस क्षेत्रमा परिचित छ । सहकारीले आम नागरिकको विश्वास जित्न सक्नुपर्छ भन्ने अभियानमा लागेका वीरेन्द्रकुमार बलामीले यसको नेतृत्व गरिरहेका छन् । पढेलेखेका युवाहरुले सहकारीको नेतृत्व गर्नुपर्छ । नगरको समृद्धिका लागि सहकारीको भूमिका महत्वपूर्ण हुन्छ । समाजको रुपान्तरणमा सबैको सहकार्य हुनु जरुरी छ भन्ने विचार राख्ने अध्यक्ष बलामीसँग आइसिसी साझाका लागि गुरुप्रसाद खतिवडा र कुमार ओझाले गरेको कुराकानीः

गोपालेश्वर सहकारीको सफलताको सुत्र के हो ? यसलाई कसरी सञ्चालन गरिरहनु भएको छ ?

–गोपालेश्वर सामुदायिक सहकारी संस्था विगत दश वर्षदेखि सञ्चालनमा आएको छ । यो दश वर्षको अवधिमा यसले गरेका कामको आधारमा यसका सदस्यहरु, स्थानीय निकायले यो सफल सहकारी हो भन्ने कुरा महसुस गरेको अवस्था भएको हुनाले हामीले पनि यो सहकारी सफलतातर्फ लागेको हो कि भन्ने लागेको छ । हामीले यो संस्था स्थापना गर्दा नै यसको लक्ष्य, उद्देश्य स्पष्ट पारेर नै दर्ता गरेका थियौं । अहिले मुलुकमा ३७ हजारको हाराहारीमा सहकारी दर्ता भएको भए पनि राम्ररी चलेका सहकारीको संख्या करिब २० हजार रहका छन् ।

हामीले दीर्घकालिन योजना बनाएर यसको स्थापना ग¥यौं । म कन्ट्रक्सनको लेखा फिल्डमा काम गर्ने व्यक्ति र अन्य व्यवसायमा कार्यरत तथा विभिन्न आर्थिक क्षेत्रमा लागेका साथीहरुको समूह मिलेर यसको स्थापना गर्न सफल भएका हौं । हामीसँग युवाहरुको टिम थियो र केही गरौं भन्ने जोस र जाँगर पनि । सहकारी खोल्नुभन्दा पहिला यस सम्बन्धी तालिम लिनुपर्ने आवश्यकतालाई समेत बुझेर अघिबढेका हौं ।

हाम्रो योजनामा सहकारी के हो ? यसको आवश्यकता किन रहन्छ ? सहकारीले सदस्यहरुलाई दिने सेवा सुविधा के के हुन् ? पहिलो वर्ष के के काम गर्छौं ? सहकारी शिक्षा कसरी विस्तार गर्न सकिन्छ भन्ने जस्ता दीर्घकालिन योजनालाई साथै लिएर आएका थियौं । समुदायमा रहेका हरेक वर्गका नागरिकसँगको नजिकमा रहेर हिँड्न सक्यो भने मात्र सहकारीको अवधारणामा सबैलाई समेटेर सँगसँगै लैजान सकिन्छ भनेर समाजमा रहेका बुद्धिजीवी, बृद्धबृद्धा, युवा, महिला र बालबालिकाहरुको आफ्नो बनाउन सक्नु पर्छ भन्ने सोचलाई विस्तार गर्दै सामुदायिक गतिविधिमा गयौं ।

हाम्रो त्यो बेलाको प्लानिङ भनेको संस्थाको पूँजी बढाउनु थियो, सदस्य बढाउनु थियो । जुनबेला यो क्षेत्रमा सहकारी के हो भन्ने थाहा नहुँदा नहुँदै यसको शुरुवात ग¥यौं । हामीले धेरै मानिसलाई सहकारीको सदस्य बनायौं र हरेक क्षेत्रमा पुगेर हरेक हप्ता सहकारकिो प्रशिक्षण दियौं । सहकारीका जानकारहरु मिलेर सहकारीको स्थापना ग¥यौं, सहकारीको मर्म, भावना बुझ्यौं सहकारीका सिद्धान्त र नीति, मूल्यमान्यता गरेर समुदायसम्म पुग्ने काम ग¥यौं र निरन्तरको कामले हामीलाई सफल बनाउन ठूलो मद्दत पु¥याएको छ ।

सरकारीका सदस्यहरुको आर्थिक, भौतिक, सामाजिक आवश्यकताहरुलाई पूरा गर्दै लगानी र सहयोग गर्दै गयौं । शीपको विकास ग¥यौं, सदस्यहरुको क्षमता अभिबृद्धि गर्ने काम ग¥यौं । यसरी अरुको भन्दा फरक र भिन्न–भिन्न प्रकृतिका काम गर्दै गयौं र ऋण प्रवाह गर्ने क्रममा पनि आवश्यकतालाई ध्यान दिएर लगानी ग¥यौं र हाम्रो सहकारी भिन्न रह्यो । हामी सफल हुन सक्यौं ।

सहकारीले अहिले गरिरहेका गतिविधिहरु के–के हुन् ?

–कोभिड १९ का कारणले गर्दा विगत ६ महिनादेखि हाम्रा गतिविधिहरु रोकिएको अवस्था छ । लोन फारम भर्ने सदस्यहरुको व्यवसायको प्रकृति हेरेर लागानी गर्ने उनीहरुलाई व्यवसाय सञ्चालन सम्बन्धी तालिम दिने लगायतका कामहरु गर्दै आएका थियौं, ती कार्यक्रम अहिले अवरुद्ध भएका छन् । स्थानीय निकाय, समुदायका सदस्यहरु, नागरिक समाजका व्यक्तिहरु र हाम्रो सहकारीका सदस्यहरुको सहभागितामा डेरी उद्योग सञ्चालन गर्ने तयारीमा छौं । कोभिडले केही अवरोध गरेको भए पनि हाल ७० प्रतिशत काम पूरा भइसकेको छ ।

सहकारीमा आबद्ध भएका शैक्षिक क्षेत्रका व्यक्तिहरुमा ऋण लगानी गरेका छौं । उहाँहरुले मन्टेस्वरी लगायतका शिक्षा क्षेत्रमा लगानी गर्नु भएको छ । जसले गुणस्तरीय शिक्षामा जोड दिनु भएको छ, उहाँहरु सफल पनि हुनु भएको छ । हामीले ४५ वटा महिला समूहहरु खडा गरेर न्यूनतम ब्याजदर कायम गरी कृषि, व्यापार र उद्यमशिलतामा लगानी गरेका छौं ।

हामीले स्कूलस्कूलमा पुगेर बालबालिकाहरुलाई बचत गर्न सिकायौं, यो नेपालमै पहिलो र नयाँ काम हो । नेपाल राष्ट्र बैंक, दक्षिण एशियाली युवा सहकारी परिषद्को सदस्यहरुको समन्वय र सल्लाहमा हामीले बचत गर्ने कामलाई निरन्तरता दियौं । यो प्रभावकारी पनि भयो र केही–केही आलोचनाका बीच हाम्रो अभियान सफल भएको छ । पछिल्लो चार वर्षको अवधिमा बालबालिकाले गरेको बचतको योजना सफल भयो र उनीहरुमा पैसा कसरी कमाउने र जोगाउने भन्ने कुराको ज्ञान हासिल भएर वित्तीय साक्षर भएको पाएका छौं ।

बालबालिकाका पढाईका साथै दिनको एकघण्टाको समय आर्थिक रुपमा सबल र सम्पन्न कसरी बन्ने भन्ने विषयको ज्ञान दिनु, बचत गर्न सिकाउनु पर्छ भन्ने हाम्रो अभियान हो । अहिले हामीसँग करिव १६ विद्यार्थीहरु सहकारीको बचत सेभिङ अभियानमा हुनुहुन्छ । उहाँहरुबाट हामीले ४२ लाखभन्दा बढी बचत संकलन गरेका छौं । त्यस रकमबाट हामीले विद्यार्थीहरुका लागि फिस तिर्न, डे«स, ब्याक, किताव खरिद गर्न अपुग भएको समयमा सहयोग गर्ने गरेका छौं । स्टेशनरी पसल सञ्चालन गरेको छौं । स्कूलहरुलाई आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराएका छौं ।

तपाईंको सहकारीले कृषि र उद्यम विकासका लागि कस्ता किसान तथा व्यवसायीहरुलाई ऋण लगानी गरिरहेको छ ?

–बचत तथा ऋणको मात्र कारावार गर्ने भएकाले हामीले डाइरेक्ट लगानी गर्न पाउँदैनौं । हामीसँग आबद्ध भएका सदस्यहरुले कृषि उत्पादनमा तरकारी खेती, कुखुरापालन, पशुपालन तथा च्याउ खेती लगायतका क्षेत्रमा लगानी गर्नु भएको छ । यसैगरी उद्यमशीलताको क्षेत्रमा समेत लगानी गरेको अवस्था छ । मौसमी रुपमा लप्सी संकलन र बिक्रीवितरण, नासपातीको क्षेत्रमा लगानी गर्न ऋण लिने र प्रयोगमा आउने गरेका छन् ।

कृषि र उद्यमको क्षेत्रमा सरल ब्याजदरमा कर्जा दिन गरेका छौं । सरल ब्याजमा लगानी गरेका योजनाहरुको अनुगमन गर्ने गरेका छौं, किसान र उद्यमीलाई प्रोत्साहन गर्ने गरेका छौं । सदस्यहरुको सहभागितामा यसै वर्षदेखि हामीले २७ रोपनी जमीनमा सहभागितामूलक नमूना कृषि फार्म सञ्चालनको तयारी गरिरहेका छौं । कृषि नर्सरी बगैँचा निर्माण हुनेछ । ३५ गोटा गाई समेत त्यस फार्ममा हुनेछन् ।

सहकारी सञ्जालको समन्वयात्मक अवस्था कस्तो छ ?

-विगत पाँच वर्षअघि सहकारी सहकारीबीच केही बेमेलको अवस्था थियो । हामीले नै यो क्षेत्रमा सहकारीको ब्रोसर, पम्प्लेट लगायतका सामग्री छपाई गरेर शुरुआत गरेका हौँ । यस सहकारीमा नयाँ नौलोपन छ भनेर सल्लाह सुझाव लिनका लागि पनि अन्य सहकारीहरुले बोलाउने काम गर्नुहुन्थ्यो र हामीसँगको समन्वयबाटै काम गर्ने वातावरण बन्थ्यो । हामीले पनि दक्षिणकाली नगरपालिकामा भएका सहकारीहरुलाई सञ्जालको रुपमा जोड्न सक्यौं भने सबैलाई राम्रो हुने देखेर एकताका लागि अभियान चलायौं ।

सहकारीलाई एकतामा जोड्यौं भने तत्कालिन दक्षिणकालीका ६ वटा गाविस समृद्ध हुनेछन् भन्ने हाम्रो विश्वास रहेको थियो । यो अभियान चलेको डेढ वर्षपछि हामीले नेतृत्व पाएका हौं । अहिले हामी साढे तीन वर्षको अवधिमा पुगेका छौं । स्थानीय निकायको निर्वाचनहरु भए जनप्रतिनिधिहरुको आगमन भयो परिवर्तनहरु भए । सहकारीहरुमा आएको परिवर्तन र सशक्तीकरण सहकारीहरु अहिले सबैले प्रशंसा गर्न योग्य भएका छन् ।

तपाईंको क्षेत्रका सहकारीमा दोहोरो सदस्यताको अन्त्य कहिले हुन्छ ?

–कतिपय सहकारीहरुमा खराब ऋणीहरुले गर्दा समस्या आउने गरेका पनि थिए । त्यस्ता ऋणीहरुलाई जिम्मेवार बनाउन सञ्जालले खेलेको भूमिका महत्त्वपूर्ण छ । दोहोरो सदस्यताले समेत समस्या भइरहेको अवस्थामा हामीले त्यस्तो सदस्यताको अन्त्य गर्ने प्रयास ग¥यौं सञ्जालमा आबद्ध भएपछि सबैको विवरण थाहा हुने भएकाले गर्दा यो सम्भव भएको हो । ब्याजमा पनि एकरुपता कायम गर्न एकै प्रकृतिको ऋणमा समान किसिमको ब्याजदर निर्धारण हुनुपर्दछ भनेर समानता ल्यायौं ।

सहकारी संस्थाहरुको अपचलनको कुरालाई अन्त्य गर्न अध्यक्ष, कोषाध्यक्ष, व्यवस्थापक र कर्मचारीहरुलाई छुट्टाछुट्टै तालिम सञ्चालन गरेर आन्तरिक सुशासन हुनुपर्छ भन्ने कुराको बोध गरायौं । सहकारी दिवसलाई सामुहिक रुपमा मनाउने परिपाटीको थालनी ग¥यौं जसले गर्दा गाउँ समाजमा सहकारी के हो भन्ने कुराको पर्याप्त जानकारी गराउन सकेका हौं । ‘सहकारी जीवनको साथी’ हो भनेर बुझाउन सक्यौं ।

ऐन नियमावलीले तोकेका नीतिनियमको पालना गर्नु नै पर्छ । हामीले नयाँ संस्थाको हकमा अक्षरश पालना गर्ने र पुरानो सदस्यता भएको सहकारीहरुलाई समेत विस्तारै सुधार गर्दै लैजाने अभियान चलाएका छौं । कतिपय सदस्यहरुलाई निश्चित समयभित्र ऋण चुक्ता गरी एउटा मात्र सहकारी छनौंट गर्न लगाउने अभियान चलाउनु पर्छ भन्ने मान्यता राखेका छौं । र, हामीले सहजिकरण गरिदिने काम गर्नुपर्छ । यहाँ कतिपय सञ्चालकहरु नै दुई–तीन सहकारीको सञ्चालकमा रहनु भएको छ । उहाँहरुले पहिला एउटामात्र सहकारीको सञ्चालकमा रहनु पर्दछ तवमात्र सदस्यहरुलाई यसको कार्यान्वयनमा लैजानु पर्दछ ।

कोभिड–१९ को महामारीले यहाँका सहकारीमा पारेको प्रभाव कस्तो छ ?

–दक्षिणकाली क्षेत्रका सहकारीहरुमा यसको खासै असर परेन । सहकारी संस्थाका सदस्यहरु विचलित नहोउन् भनेर हामीले एसएमएसमार्फत् सुसूचित गरायौं । हामीले जुम बैठकमार्फत् पनि सबै सहकारीहरुसँग समन्वय ग¥यौं । समस्या बुझ्यौं । सदस्यहरुलाई बचत झिक्नलाई समस्या नहोस् भनेर सहजीकरण ग¥यौं ‘विश्वासले राख्न दिएको चिज भनेको बेलामा फिर्ता दिएन भने अविश्वास खडा हुने हो ।’

बन्दाबन्दीको समयमा समेत स्थानीय निकाय, प्रहरी, इलाका प्रशासन, विभागका रजिष्टार, नागरिक समाजका प्रतिनिधिको समन्वयमा सहकारीका सञ्चालकहरुको निर्णयले स्वास्थ्य मापदण्ड अपनाएर दिनको दुईघण्टा कार्यालय खुल्ला गरेर सदस्यहरुलाई सेवा प्रदान ग¥यौं । रोगको संक्रमण भएको बेलामा खल्तीमा पैसा पनि भएन भने त्यसले झनै मानसिक तनाव दिँदो रहेछ ।

बरु खल्तीमा पैसा छ भने रोगलाई जित्ने पावर पनि बढ्दो रहेछ भनेर सदस्यहरु रकम निकाल्न आएका उदाहरण हामीसँग छन् । हामीले सदस्यहरुको फोनको भरमा पनि उहाँहरुकै घरघरमा पुगेर बचत फिर्ता पु¥याउने समेत काम ग¥यौं ।

सहकारीको माध्यम्बाट राज्यको विकास हुन्छ भनेर सहयोग पु¥याइरहेका सहकारीकर्मीहरु हौं । यो पेशा क्षेत्र र अभियानमा लाग्नुभन्दा पहिला संकल्प गर्नुपर्ने हुन्छ कि, म कसैको अहितमा काम गर्दिनँ । जनताको सेवामा सँधैं समर्पित हुन्छु भन्ने प्रण गर्नु पर्दछ । सदस्यहरुले पनि सहकारी संस्थाहरु भागेर जान्छन् भन्ने शंकाबाट माथि ठानेर विश्वास समेत गर्नु पर्दछ । पूर्ण जानकारी लिएर मात्र राम्रो नराम्रो गुण र दोषका आधारमा अघि बढ्नु पर्दछ ।

सञ्चालकहरुलाई समेत यसमा लागेपछि जीवनको उत्तरार्धसम्म यसैमा लागेर काम गर्नुहोस् । इमान्दारिता देखाउनुहोस् । आमनागरिकको विश्वास जित्नुहोस् । भावी सन्ततिसम्मको बाटोलाई फराकिलो बनाएर उदाहरणीय काम गरेर दर्बिलो खम्बाको रुपमा आफूलाई स्थापित गराउनु हुन सबैलाई अनुरोध गर्दछु ।

सहकारी आफैंमा एउटा सञ्चार हो । तर हामीले अहिले यसलाई व्यवस्थित गर्न सकिरहेका छैनौं । यसलाई कसरी व्यवस्थित गर्ने भन्ने विषयमा बहस र छलफल हुनु जरुरी छ । सहकारीहरुमा भएका गतिविधिका समाचारहरु कति समयभित्रमा सदस्यहरुलाई पठाउने भन्ने महत्त्वपूर्ण कार्य रहन्छ । यसको लेखाजोखा गरेर सञ्चारको पहुँच विस्तार गर्नु आजको आवश्यकता पनि हो । हरेक सहकारी संस्थाले सूचनाको सम्प्रेषणकर्ता निर्माण गर्नु पर्दछ । जसका लागि सूचनाको क्षेत्रमा काम गर्ने सञ्चार सहकारीहरुसँग समन्वय गर्दै जानु पर्दछ ।

प्रारम्भिक सहकारीहरुको उत्थान र विकासका लागि जिल्ला सहकारी संघले निर्वाह गरेको भूमिका के हो ?

–जिल्ला सहकारी संघसँग आवद्ध भइसकेपछि हाल कोभिड १९ लाई दृष्टिगत गरेर बनाएका विभिन्न योजनालाई कार्यान्वयन गर्ने । महामारीका कारण आम सहकारीहरुमा समेत समस्या आउन सक्ने सम्भावनालाई आंकलन गरी यस्ता समस्याको समाधान गर्न सक्ने कोषको खडा गर्नु पर्छ तर्फ ध्यान गएको छ । साथै हरेक सहकारी संस्थाहरुले समेत जोखिम व्यवस्थापनका लागि कोषको स्थापना गरेर सुरक्षा अपनाउनु पर्छ भन्ने हाम्रो मान्यता रहेको छ । सबैको साझा संघको रुपमा जिल्ला संघलाई विस्तार गर्दैछौं ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS