- कुमार अेाझा
-->

यातायात क्षेत्रमा नयाँ भाडादर निर्धारण नभएको दशक हुन लाग्यो । सरकारले अहिलेसम्म यस विषयमा कुनै तयारी गरेको छैन । पेट्रोलियम पदार्थको मूल्य बढ्दा भाडादर बढ्ने र मूल्य घट्दा सोहीअनुसार भाडादर परिमार्जन गरेर वैज्ञानिक भाडादर निर्धारण गर्नुपर्नेमा सरोकारवालाहरूको जोड छ । दक्षिणकाली मेट्रोबस सेवा प्रालिका व्यवस्थापक नरहरि बलामीसँग यातायात क्षेत्रका विभिन्न आयामहरूमाथि साझामेलका लागि कुमार अेाझाले गरेको कुराकानीः

दक्षिणकाली क्षेत्रमा यातायातको समग्र अवस्था कस्तो रहेको छ ?

–हाम्रो क्षेत्र दुर्गम क्षेत्रसँग जोडिएको ठाउँ हो । दक्षिणकालीलाई यातायातसँग कसरी जोड्न सकिन्छ भनेर चिन्तन गर्दागर्दै यातायात व्यवसायी हुन पुगेको छु । पहिला दक्षिणकाली बस सेवा समितिको उपाध्यक्ष थिएँ । नेपाल यातायात राष्ट्रिय महासंघको अञ्चल कोषाध्यक्ष भएँ । अहिले पनि म चौध अञ्चल ७७ जिल्लामा संयोजनको काम गरिरहेको छु ।

हाल दक्षिणकाली मेट्रोबस सेवा प्रालिको व्यवस्थापकको रुपमा रहेको छु । पहिला १६ जनाको टीम मिलेर काम गरिहरका थियौं । तर, विस्तारै सबै साथीहरु बाहिरिँदै जानु भयो र चार जनाको टीमले यसलाई सञ्चालन गरिरहेका छौं । अहिले हामीले दक्षिणकाली क्षेत्रमा सत्र वटा बस सञ्चालनमा ल्याएका छौं ।

यातायात क्षेत्रको विस्तार पाटन, सिस्नेरी–कुलेखानी–फाखेल हुँदै रत्नपार्कसम्म पुग्ने बस सेवालाई फराकिलो बनाएर लैजाने क्रममा लागिरहेका छौं । यस क्षेत्रमा अर्को पनि कम्पनी रहेको छ । उक्त कम्पनीसँग सहकार्य गर्दै दक्षिणकाली–कुलेखानी–हेटौंडा भनेर सञ्चालित व्यवसायीलाई समेटेर हाल ५४ वटा गाडीहरु सञ्चालनमा आएका छन् ।

अहिले व्यवसाय क्षेत्रमा ठूलो असर परेको छ । कोभिड–१९ को महामारीले यातायात क्षेत्रमा पारेको प्रभावका कारण व्यवसायीहरुले किस्ता तिर्न नसक्ने अवस्था छ । हाम्रो सातौं महिनादेखि रोकिएको किस्ता तिर्न नसकेर यो व्यवसाय तहसनहस भएको छ । तर पनि विचलित नभइ यस क्षेत्रका जनतालाई सेवा प्रदान गर्ने क्रममा लागिरहेका छौं । ‘सेवा नै धर्म हो’ भन्ने मान्यताका आधारमा निरन्तर खटिएका छौं । दक्षिणकालीको दर्शनमा आउने धर्मावलम्बीहरुलाई सेवा पु¥याउने उद्देश्य समेत राखेर काम गरिरहेका छौं ।

२०२० सालमा दक्षिणकाली क्षेत्रमा बाटो बनेको भन्ने इतिहास छ । विगतमा तत्कालीन राजा सवारी हुँदा राजाको ‘देवाली’ गर्ने नै दक्षिणकाली भएको हुनाले बाटो राम्रो थियो । हरेक वर्ष मर्मत हुने गरेको थियो । तर, अहिले सडक विस्तारको क्रममा लामो समय अवरोध भएको कारण समस्या उत्पन्न भएको हो ।

ग्रामीण क्षेत्र नै भएको हँुदा भाडादर समेत न्यून हुनुले यहाँका व्यवसायीहरु मारमा परेका छन् । र, यो व्यवसायदेखि विस्थापित हुने अवस्थामा पुगेका छन् । यसका लागि राज्यले सम्बोधन गर्न सक्नु पर्छ भन्ने हाम्रो माग छ । यसक्षेत्रको यातायात व्यवस्थापनमा भाडादरलाई केही हदसम्म भए पनि समायोजन गरी ब्यवसायीलाई बचाउने काम राज्यले गर्नु पर्दछ ।

स्थानीय सरकारले यसको निराकरणका लागि किन समन्वय नगरेको हो ?

–विगतमा हामीले दक्षिणकाली नगरबस सेवा सञ्चालनमा ल्याएका थियौं । उक्त नगरबसलाई स्थानीय निकायले केही अनुदान राहत दिँदै आएको थियो । तर, सञ्चालनमा ल्याउँदा अर्को समूहबाट बाधाअड्काउ भएको कारण निरन्तरता पाउन सकिएन । पछि दुई किसिमका बससेवाहरु गठन भए ।

ऐनले स्थानीय तहलाई भाडादर तोक्ने अधिकार दिएको भए पनि त्यो हुन सकिरहेको छैन । स्थानीय निकायले थोरै भए पनि भाडादरमा समायोजन गरिदिनु पर्छ भन्ने मागसहित हाम्रो पहल र अभियान निरन्तर जारी राखेका छौं ।

प्रदेश राजधानी हेटौंडासम्म जोडिने राजमार्गको अवस्था किन यस्तो भएको हो ?

–सडक सञ्जालको विकास गर्ने क्रममा डिभिजन कार्यालयले सडक निर्माणको काम गरिरहेको छ । विगतमा केही–केही कम्पनीहरु नआएका होइनन् । तर, भाडादर अपुग भएकै कारण ती यातायातहरु सञ्चालनमा लामो समय टिक्न सकेनन् । साझा र गोकर्णेश्वर जस्ता कम्पनीले समेत यहाँ सेवा दिन सकेनन् र बन्द भए । अहिले सञ्चालनमा आएका यातायात पनि भाडादर समायोजन नहुने हो भने बन्द हुने अवस्थामा छन् ।

नयाँ व्यवसायीलाई स्वागत गर्ने हाम्रो अभियान छ । सिण्डिकेट भन्ने यस क्षेत्रमा छैन । एकाधिकार कसैले जमाउनु हुँदैन । यस व्यवसायलाई धरासायी बनाउनु हुँदैन भन्ने हाम्रो मान्यता हो । तर, राज्यको निकायले यस क्षेत्रका यातायात व्यवसायीहरुको मागलाई सम्बोधन गर्दै राहतका प्याकेज ल्याउनु जरुरी छ ।

अरु किसिमले केही गर्न नसके पनि भाडादर समायोजन गरिदिने अवस्था आयो भने दक्षिणकाली क्षेत्रको विकासमा यातायातले पार्ने प्रभाव र धार्मिक पर्यटक आवगमनमा यसको महत्त्वपूर्ण भूमिका रहन्छ । यहाँका किसानले उत्पादन गरेका कृषि उपज तथा नगदेबालीहरुले उचित मूल्य र बजार पाउनका लागि यातायातले ठूलो योगदान पु¥याउन सक्ने अवस्था रहन्छ ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS