- शिक्षा थपलिया
-->

काठमाडौं । काठमाडौको दक्षिणकाली नगरपालिका फर्पिङमा स्थापित गोपालेश्वर सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको दशौं बार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थाले विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ को महामारीका बाबजुद् सुरक्षा मापदण्ड अपनाउँदै ‘वडागत सदस्य सहभागीतामूलक दशौं बार्षिक साधारणसभा’ भन्ने नारा अघिसार्दै सम्पन्न गरेको हो ।

साधारणसभालाई सम्बोधन गर्दै दक्षिणकाली नगरपालिकाका प्रमुख मोहन बस्नेतले सहकारीले उत्पादनमुखि कार्यक्रमलाई प्राथमिकतामा राखेर आफ्ना गतिविधिहरु सञ्चालन गर्न अग्रसर हुनु पर्नेमा जोड दिए । सहकारीमा संकलन भएको समुदायको करोडौं रुपैयालाई उद्योगधन्दा स्थापना र उत्पादन मूलक क्षेत्रमा लगाउन सकेमा नगर र गाउँको आर्थिक समृद्धि यात्रा अझ मजबुद् हुने उनले बताए । ग्रामिण क्षेत्रमा सहकारीले खेलेको भूमिकाको प्रशंसा गर्दै प्रमुख बस्नेतले साधारणसभाको सफलताको शुभकामना समेत व्यक्त गरे ।

कार्यक्रममा संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष वीरेन्दकुमार बलामीले दक्षिणकाली नगरपालिकाको नौंवटै वडाहरुमा छरिएर रहेका संस्थाका सदस्यहरुले महामारीको अवस्थामा देखाएको सहभागिताको प्रशंसा गर्दै सबैलाई धन्यवाद दिए । संस्थाले कोभिडको महामारीका समयमा ऋणी सदस्यहरुलाई ब्याजमा १५ प्रतिशत सम्म छुटको व्यवस्था मिलाएको जानकारी गराए । सदस्यहरुले सहकारी प्रति देखाएको विश्वास र मितव्ययिताको व्यवहारले संस्थालाई अघिबढ्न प्रेरणा मिलेको समेत विचार व्यक्त गरे ।

संस्थाले महामारीका बखत आफ्ना सदस्यहरुको घरदैलोमा पुगेर आवधिक बचत फिर्ता गर्ने, सदस्यहरुको अवस्थाको अवलोकन गर्ने जस्ता कार्य गरेको थियो । सहकारीले अघिल्लो आर्थिक बर्ष ५ प्रतिशतमात्र शेयर लाभांस वितरण गरेको थियो भने यस बर्ष ९ प्रतिशतले लाभांस वितरण गर्न सकिने गरी मुनाफा आर्जन गरेको अध्यक्ष बलामीले जानकारी दिए । संस्थाले नेपालीहरुको महान चाड बढादशैंलाई ध्यानमा राखेर शेयरको लाभांस १२ लाख पचास हजार रुपैया भन्दा बढी रकम सदस्यहरुलाई वितरण गरिसकेको छ । संस्थामा हाल ३ हजार ३ सय पैंतीस सदस्य रहेका छन् ।

संस्थाले सहकारी क्षेत्रलाई शसक्त, बलियो र दिर्घकालिन बनाउन शेयरपूँजीको परिमाणलाई बढाएर संस्थाको मजबुतीलाई द¥हो बनाउनु पर्ने कुरालाई जोड दिएको छ । संस्थाले समाज र समुदायमा सामाजिक सेवा पुर्याउने संघसंस्थालाई सकेसम्मको सहयोग गर्दै आएको जनाएको छ । गैर सरकारी सामाजिक संस्थाहरु, तालिम प्रदायक संस्था स्थानीय निकायहरुसँग समन्वय गरी विभिन्न बिषयका सीप मूलक तालिमहरु लगायत गतिविधिहरु सञ्चालन गर्दै आईरहेको जानकारी गराएको छ ।

कार्यक्रममा दक्षिणकाली नगरपालिकाकी उपप्रमुख बसन्ती डंगोल, प्रशासकिय अधिकृत दिपककुमार केसी, ६ नम्वर वडाध्यक्ष शंकरमान महर्जन, ५ नम्वर वडाध्यक्ष श्यामबहादुर खत्री, ७ नम्वर वडाध्यक्ष हरिप्रसाद तिमिल्सिना, ९ नम्वर वडाध्यक्ष अमृका बलामी लगायतले साधारणसभाको शुभकामना व्यक्त गरेका थिए । संस्थाले आर्थिक बर्ष ०७६÷०७७को खर्च हिसाब तथा आयव्यय विवरणको लेखा परिक्षण प्रतिवेदन साधारणसभा समक्ष प्रस्तुत गरेको थियो ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS