- कुमार ओझा
-->

काठमाडौं । नेपाली हिन्दु धर्मावलम्बीहरुको ठूलो तथा महान चाड बढादशैं, तिहार र छठलगायतका चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरसम्म पुग्ने भएको छ । राजधानी काठमाडौ उपत्यकालगायत देशका विभिन्न शहरी क्षेत्रबाट चाड मनाउन घर जानेहरु भएकोले संक्रमणको जोखिम गाउँघरसम्म पुग्ने भएको हो ।

पछिल्लो समयमा कोरोना भाइरस संक्रमितहरुको संख्या शहरी क्षेत्रमा अत्याधिक बृद्धि भएको छ । देशका विभिन्न स्थानबाट राजधानी काठमाडौंमा बसोबास गर्दै आएकाहरु चाडवाड मनाउन घर जाने भएकाले गाउँघरतिर संक्रमण फैलने खतरा बढेको हो । लामो समयसम्मको बन्दाबन्दी खुलेसँगै अहिले बजारमा मानिसहरुको चहलपहल बढेपछि संक्रमितहरुको संख्या अत्याधिक बढेको छ । तीनै मानिसहरु गाउँघर जाने क्रममा संक्रमण फैलिएर व्यापक हुने देखिएको छ । विद्यालय तथा क्याम्पसहरु लोमो समयदेखि बन्द भएकोले धेरैजसो विद्यार्थीहरु बन्दखुलेसँगै गाउँघर पुगिसकेका छन । गाउँघर फर्कने क्रममा यातायातका साधन लगायत यात्राको क्रममा साबधानी अपनाउन नसकेको कारणले समेत संक्रमितहरुको संख्या बढ्ने देखिन्छ ।

लामो समयसम्म बन्दाबन्दीले उपत्यका लगायत शहरी क्षेत्रमा अड्किएर बसेका नागरिकहरु बढ्दो आर्थिक अभाव तथा रोजगारी कटौतीले समेत आ–आफ्नो घर फर्किन तम्तयार भएका हुन । उता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कोभिड–१९’ मानिसको नजिकको सम्पर्कबाट सर्ने हुँदा भीडभाड नगरी चाडपर्व मनाउन आग्रह गरेको छ । मन्त्रालयले सकभर दशैँमा घर नजान, जानै परे घर गइसकेपछि कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्नसमेत अनुरोध गरेको छ । बस वा हवाईजहाजमा घर जाँदा मास्कको प्रयोग गर्ने, अर्काे मानिससँग कुरा गर्दा कम्तीमा दुई मिटरको दूरी टाढा रहेर मात्र कुरा गर्ने, बेलाबेलामा साबुनपानीले हातको सरसफाई गर्ने र स्यानिटाइजरको प्रयोग गर्नसमेत आग्रह गरिएको छ ।

‘कोभिड १९’को जोखिम बढीरहेको बेला मानिसहरुको आवतजावतले भाइरस संक्रमण गाउँघरसम्म पुग्ने निश्चित छ । यस्तो अवस्थामा जोखिमबाट सुरक्षित रहन जो जहाँ रहेको हो त्यहीँ रहेर चाड मनाउन सरकारले आग्रह गरिरहेको छ । ‘कोभिड १९’का फोकल पर्सन महेन्द्र श्रेष्ठका अनुसार उपत्यकालगायत ठाउँबाट मानिस चाडपर्व मनाउन गाउँघरतिर गए, त्यहाँ रहेका बृद्धबृद्धा, बालबालिकाहरु, दीर्घरोगी, सुत्केरीलगायतलाई भाइरस संक्रमण बढ्ने अवस्था तीब्र हुन सक्छ । अहिले भाइरस संक्रमण एक व्यक्तिबाट अर्को स्थानीय व्यक्तिमा संक्रमण सरेपछि यो क्रम दोश्रो चरणमा प्रवेश गरेको छ । मन्त्रालयका अनुसार अहिले केही जिल्लाहरुमा वर्ग विशेष संक्रमण फैलिसकेको छ । यसले भविष्यमा विकराल रुप लिन नसक्ला भन्न सकिन्न ।

सरकारले यसपटकको चाडपर्व हामी जहाँ छौं त्यहीँ रहेर मनाऔं भनिरहँदा आमनागरिकमा यसको के कति सम्भावना छ भन्नेतर्फ समेत ध्यान दिनु आवश्यक हुन्छ । ‘कोभिड–१९’को प्रभावमा देशमा भएको छ महिना लामो बन्दाबन्दीका कारण यहाँ हजारौं नेपालीहरुको रोजगारी खोसिएको छ । सयौं नागरिक बसोबास गरिरहेको ठाउँमा जिविकोपार्जनको समेत समस्या बढ्दो छ । काठमाडौ जस्तो शहरमा लाखौंको संख्यामा रहेका नेपाली नागरिकहरु डेरा गरेर बसोबास गरिरहका छन् । उनीहरुलाई डेराभाडाको समेत समस्या बढ्दो छ भने दैनिक जिविकोपार्जनको समस्याले दिनप्रतिदिन जटिलता थपिएको छ । जसले गर्दा उपत्यकामा रहेका नागरिकहरु कसरी आफ्नो गाउँघरसम्म पुग्ने भन्ने लालसामा हतारिएका छन् ।

‘‘यस पटक टीका नलगाए केही हुँदैन, खोप आएपछि अर्को बर्ष टीका लगाउँदा हुन्छ’’ भन्ने, भनाईको हद्सम्म जायज हो तर, घर नजाऔं भन्ने कुरा जायज हुनै सक्दैन । रोजगारी खोसिएका नागरिकहरु काठमाडौं जस्तो मानवियता नभएको शहरमा विना रोजगारी लामो समयसम्म रहन सक्दैनन् । उनीहरुको अहिलेको एउटैमात्र विकल्प आ–आफ्नो घरगाउँ पुग्नु नै हो । यता मन्त्रालयका प्रबक्ता डा. जागेश्वर गौतमले दशैं अर्को बर्ष पनि आउने भएकोले भीडभाड नगरी मनाउन अनुरोध गरेका छन् । उनले दशैंको वेला उच्च संक्रमणको जोखिम ठाउँबाट गाउँ जाने भएकोले गाउँतिर संक्रमण सर्ने सम्भावना बढ्नेछ । त्यसैले चाडबाडको बेला घर जाँदा विशेष ध्यान दिनु पर्दछ ।

राज्यले अनुरोध र आग्रह मात्र गर्ने हो । अहिले नेपाल सरकार प्रायः निरिहता प्रदर्शन गरिरहेको छ । सरकारी निकायले जोखिम न्यूनिकरणका लागि अपनाएका कदमहरु कुनै पनि नेपाली नागरिकका लागि सहयोगी बन्न सकेका छैनन् । सर्वसाधारण नागरिकलाई कुनै पनि बखत भाइरसको संक्रमण भएको खण्डमा उपचारका लागि अस्पताल पुग्न सक्ने अवस्था छैन । सरकारका सञ्चालकहरु भाषण र विज्ञप्ति सार्वजनिक गर्नका लागि मात्र सक्षम छ ।

जवसम्म आम नागरिक आँफैं सचेत र सजग हुन सक्दैन तबसम्म जोखिमबाट जोगिन सम्भव देखिएन । यता इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेको सुझाव छ ‘दशैँमा घर जाँदा शहरबजारबाट सङ्क्रमण लिएर जाने भएकाले गाउँ जोखिममा पर्नसक्छ सबैले सतर्कता अपनाऔं ।’ दशैँमा आफूभन्दा मान्यजनसँग टीका थाप्दा टाढैबाटै बसेर थाप्नसमेत उनले अनुरोध गरेका छन् । बसमा घर जाँदा स्वास्थ्यका न्यूनतम मापदण्डसमेत अपनाउनुपर्ने उनले सुझाव दिएका छन् ।

अहिले काठमाडौ उपत्यकाबाट दैनिक रुपमा करिव ३० हजारको हाराहारीमा मानिस घर गइरहेको महानगरीय ट्राफिक महाशाखाका रेकर्डमा देखिन्छ । ट्राफिक प्रवक्ता तथा प्रहरी उपरीक्षक रामेश्वरप्रसाद यादव भन्छन ‘चाडपर्व नजिकिएसँगै घर जाने मानिसको पनि भीड लाग्न थालेको छ, लकडाउनको अन्त्य पछि असोज १ गतेदेखि हालसम्म करीव सात लाख मानिस उपत्यका बाहिरिएका छन् ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS