- कुमार ओझा
-->

काठमाडौं । विश्व ब्यापीरुपमा फैलिएको ‘कोभिड १९’ को महामारी र देशमा लामो समयसम्म भएको बन्दाबन्दी र निषेधाज्ञाले थिलथिलो बनेको देशको अर्थतन्त्र निषेधाज्ञाको अन्त्यसँगै चलायमान हुन शुरुभएको छ । बन्दाबन्दी र निषेधाज्ञाको अन्त्य भएसँगै शहरी क्षेत्रका बजार तथा पसलहरु खुल्न थाले पछि अर्थतन्त्र चलायमान भएको हो । नेपाली हिन्दु धर्मावलम्वीहरुको महान चाड बढादशैं नजिकिएसँगै बजारमा आम नागरिकको चहलपहल बढेको छ । चाडबाडको रौनकले थपिए पछि बजारमा किनमेल गर्ने र दशैंका लागि खानपानको जोहो गर्नेहरुको भिड बढेको हो ।

कोरोना भाइरसको संक्रमण बढेपछि विगत छ महिनादेखि देशमा निषेधाज्ञा थियो । बन्दाबन्दीले शिथिल बनेको देशको अर्थतन्त्र गत असोजको पहिलो सातादेखि केही चलायमान बनेको छ । दशैंको पूर्वसन्ध्यामा बजारमा चहलपहल बढ्नु र बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह बढेको बताईन्छ । ‘बजार खुलेपछि दशैं र तिहार जस्ता नेपालीहरुका महत्वपूर्ण चाडबाडले गर्दा कर्जा र निक्षेपको माग बढ्न थालेको’ नेपाल बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले बताए । ‘बैंक तथा वित्तीय संस्थाहरुले कर्जाको व्याजदर घटाएर राहत दिनु, आर्थिक क्रियाकलाप सुचारु भई खुल्दै गएको, दशैँको माहोल बन्दै जानुले बैंक र वित्तीय संस्थामा कर्जाको माग बढ्न थालेको हो’ उनले भने ।

गत भदौ महिनाको अन्तदेखि असोजको ९ गतेसम्म करिव दुई हप्तामा वाणिज्य बैंकको कर्जा लगानी २५ अर्ब रुपियाँले बढेको कुरा बैंकर्स संघले जनकारी गराएको हो । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा ब्याज बढाएकाले निक्षेप संकलनमा पनि दुईसातामा करिब ३७ अर्ब रुपैयाले बृद्धि भएको छ । दुईसाताको अबधिमा वाणिज्य बैंकहरूले ३५ खर्ब ३२ अर्ब रुपियाँ निक्षेप संकलन गरेका छन । कर्जातर्फ २९ खर्ब २९ अर्ब रुपियाँ लगानी गरेका छन । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभाग प्रमुख देवकुमार ढकालका अनुसार कर्जाको माग बढ्न थाल्नु भनेको विगतमा शुन्य अवस्थामा रहेको बजार चलायमान भै सामान्न अवस्थातर्फ लागेर अर्थतन्त्र सुधारिनु हो ।

नेपाल राष्ट्र बैंकले दिएको जानकारी अनुसार अघिल्लो बर्षको यही अबधिमा कर्जाको औसत ब्याजदर १२ प्रतिशत थियो भने चालु आर्थिक बर्षको साउन महिनामा कर्जाको औसत ब्याजदर १०.४७ प्रतिशतमा झरेको छ । यसले के जनाउँछ भने बैंक तथा वित्तीय संस्थामा बैंकहरुले दिने कर्जाको औसत ब्याजदरमा कमी आएको हो । बैंकहरुको आधारदर घटेसँगै कर्जाको ब्याजदरमा समेत कमी आएको छ ।

बैंक तथा वित्तीय संस्थामा कर्जाको न्यून माग भएपछि बैंक र वित्तीय संस्थाहरुले ब्याजदरलाई घटाएर लगानी आकर्षण गर्न थालेका हुन । यसरी कर्जाको ब्याजदर घटेसँगै पछिल्लो समय कर्जाको माग बढ्न थालेको बताईन्छ । बैंक वित्तीय संस्थाहरुले गत असोज १ गतेदेखि घटाईएको नयाँ ब्याजदर सार्वजनिक गरेपछि कर्जाको नयाँ माग बढ्न थालेको जानकारहरु बताउँछन । राष्ट बैंकले सार्वजनिक गरेको ब्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाहरुले प्रत्येक महिना शुरु हुने अघिल्लो दिन नै अर्को महिनाको ब्याजदर सार्वजनिक गर्नुपर्ने हुन्छ । राष्ट्रबैंकले केही दिन पहिले मात्रै बैंक तथा वित्तीय संस्थाहरुलाई यस किसिमको निर्देशन जारी गरेको थियो । जस अनुसार उनीहरुले गत असोज १ बाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका थिए । कोरोना महामारीका कारण लगानी बढाउन नसकिरहेका बैंक तथा वित्तीय संस्थाहरुले हाल धमाधम कर्जाका लागि उपभोक्ताहरुलाई आकर्षित गर्ने योजनाहरु ल्याईरहेका छन । विभिन्न सुविधा र अबसरहरुको योजना सार्वजनिक गर्दै बैंकहरुले कर्जाका लागि एकलविन्दु अर्थात ब्याजदरलाई १० प्रतिशत भित्रै कायम गर्ने गरी योजना तय गरेका छन् । उनीहरुले अहिले घरजग्गा खरिद र सवारीसाधन खरिद गर्न सस्तोमा कर्जा उपलब्ध गराईरहेको पाइन्छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको महामारीले देशको अर्थतन्त्रमा ठूलो गिरावट आएको छ भने व्यापार व्यावसाय, पर्यटन क्षेत्र, उद्योग कलकारखानाहरु बन्द रहेका छन् । महामारीका कारण उत्पन्न परिस्थितिले मुलुकको अर्थतन्त्रमा ठूलो असर परेको हो । यसरी बन्द भएका ब्यवसायमा संम्लग्न लाखौं नागरिकको रोजगारी गुमेको छ । अर्कोतिर देशको मुख्य आर्थिक श्रोतको रुपमा रहेको बैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्स बन्द भएको छ । उता पर्यटन ब्यवसाय पुर्णरुपमा बन्द हुँदा पर्यटन उद्योगहरु धरासायी बनेका छन् भने चलचित्र क्षेत्रमा कार्यरत हजारौं कलाकार र प्राविधिकहरुको रोजगारीको आधार बन्द भएको छ ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS