-->

झापा । राज्यले सहकारीलाई गरिवी घटाउने र निम्न आय भएकाको आर्थिक उपार्जन गर्ने नीति दिइरहँदा अधिकांश सहकारी संस्था भने सदस्यलाई ऋण दिने व्याज असुल्ने काममा मात्र केन्द्रित देखिएका वेला ग्रामिण स्तरमा संचालन भएको एक सहकारीले भने निम्न आय भएका, बैकिंङ पहुँचवाट वाहिर रहेको समुदायलाई आर्थिक उन्नतीमा लगाउन लागीपरेको छ । झापाको महारानीझोडा स्थित साना किसान कृषि सहकारीले भने आफ्ना सदस्यलाई सहकारीकै माध्यमवाट आर्थिक विकासमा लाग्न प्रेरित मात्र गरेको छैन, आफै सामुहिक खेतीको सुरुवात गरेर नमुनाकामको थालनी गरेको छ ।

मुलुकमै एउटा नमुना खेती प्रणालीको थालनी गर्ने उद्देश्यले नै संस्थाले ०७० सालवाट सामुहिक खेती गर्दै आएको छ । स्थानिय किसानलाई सहकारीप्रति सचेत गराउदै उनीहरुलाई सदस्य वनाएर २५ वर्षका लागि जग्गा भाडामा लिएर सहकारीले यो क्षेत्रमा खेती थालेको हो ।
महारानीझोडा साना किसान कृषि सहकारीले अहिले स्थानिय ५५ परिवारको ८८ विगाहा जग्गामा सामुहिक खेती गरिरहको छ । संस्थाले एकै स्थानमा यति ठूलो क्षेत्रफलमा सामुहिक खेती गरेको सम्भवत मुलुकमै पहिलो काम हो । जिल्लाको ग्रामिण क्षेत्रमा स्थापित यो सहकारीको अगुवाइमा विगत ३ वर्षदेखि नमुना सामुहिक खेती सुरु भएको हो । पानी, मल, वीउ तथा यन्त्र औजारको अभावमा किसानमा खेतीप्रति हराउँदै गएको आकर्षणलाई पुर्नताजकी दिने र मुलुकमै एउटा नमुना खेती प्रणालीको थालनी गर्ने उद्देश्यले नै संस्थाले ०७० सालवाट सामुहिक खेती गर्दै आएको छ । स्थानिय किसानलाई सहकारीप्रति सचेत गराउदै उनीहरुलाई सदस्य वनाएर २५ वर्षका लागि जग्गा भाडामा लिएर सहकारीले यो क्षेत्रमा खेती थालेको हो । प्रति एक कठ्ठा जग्गा वरावर एक सेयर सदस्य वनाएर संस्थाले गरिरहेको सामुहिक खेतीवाट अहिले उन्नत बीउ उत्पादन भइरहेको छ । चक्लावन्दी प्रणालीमा गरिएको यो खेतीवाट अहिले धान, मकै, गहुँ, तोरी जौ घाँसको बीउ मात्र उत्पादन भएको छैन, वार्षिक सयौ टन धान र मकै पनि उत्पादन भइरहेको छ ।

संस्थाका प्रवन्धक चिरञ्जीवी भण्डारीका अनुसार ०५९ सालमा दर्ता भएको सहकारी संस्था मार्फत अहिले एक हजार ८ सय सदस्यलाई समेटेर नमुना खेती मार्फत खाद्यन्य र दलहनवाली उत्पादन भइरहेको छ । संस्थाले जग्गा उपलव्ध गराउने किसानलाई जग्गाको वर्गिकरण गरेर प्रति विगाहा बार्षिक २४ देखि ३२ मनसम्म धान दिने गरेको उनले बताए । ‘कृषि पेशाप्रति युवा पुस्तामा आकर्षण कम हुदै गयो, किसानले परम्परागत रुपमा गरेको खेतीवाट आम्दानीसमेत घट्दै गएपछि खेतीमा लाग्ने कम भए’, भण्डारी भन्छन, ‘यहि अवस्थामा संस्थाले सामुहिक खेतीको अवधारणा लिएर विगत ३ बर्षदेखि काम थालेको छ, अहिले बर्षेनी सयौं टन उत्पादन हुन्छ, अहिले जमिनलाई सम्याउने र पूर्वाधार विकास गर्ने काम भइरहेको छ ।’ काम थाल्दा कतैवाट अनुदान र सुविधा नलिएपनि अहिले सरकारको सहयोगमा भूमिगत सिंचाइकालागि डिपवोरिङ गर्ने काम समेत पुरा भइसकेको छ । सरकारी अनुदानमा १० वटा स्यालो ट्युवेल मार्फत सिचाइ हुने व्यवस्था मिलाएको र ठूलो क्षेत्रमा सामुहिक खेती गरिरहेको संस्थाले उत्पादन गरेको वीउ ग्रेडिङ गरेर आफ्नै लोगो सहित वजारमा विक्रि गर्ने गरेको भण्डारीले जनाए । सुरुवातको छोटो समयमै स्थानिय किसान र व्यवसायीक खेतीमा रुची राख्नेका लागि संस्थाले गरेको कामले हौसला समेत दिइरहेको छ ।
प्राविधिक ज्ञान र मेसिन औजारको अभावमै पनि चुनौतीपूर्ण काम थालेको संस्थाले यो खेतीवाट वर्षमा दुई बाली उत्पादन गरिरहेको छ । खेतीलाई व्यवस्थित रुपमा अघि वढाउने र सिजन अनुसार बाली लगाउन संस्थाले सदस्य किसानकै छुट्टै उपसमुहहरु निमार्ण गरि कामको जिम्मेवारी समेत दिएको छ । त्यो उपसमूहकै अगुवाइमा कस्तो खेती लगाउने निर्णय लिने गरेको छ । सामुहिक नमुना खेतीका व्यवस्थापक ‘अर्जुन खतिवडा संस्थाको कामवाट खेती विस्तार गर्ने, सिजन अनुसार फसल लगाउने गरेको वताउँछन । ‘विगतमा यो ठाउँका किसानले एक वाली खेती लगाउन मुस्किल थियो’, खतिवडा भन्छन, ‘अहिले दुई वाली खेती लगाएका छौ, खेती लगाउने समितिको निर्णयमा हुन्छ, यो वर्ष मात्र २० विगाहामा मकै खेती छ ।’

एकै स्थानमा ठूलो क्षेत्रफल रहेकाले संस्थाले अहिले ४ विगाहा जग्गामा वृक्ष रोपण गरेर हराभार वनाएको छ भने एक विगाहामा माछा पालन गरेको छ । साढे २ ््विगाहा क्षेत्रमा विभिन्न प्रजातीका फलफूल रोपेको छ । संस्थाले खेतीमा प्राङ्गारिक र गोवर मलकालागि गाई पालन गर्न गोठ समेत निमार्ण गरिसकेको छ । त्यसो त संस्थाले अहिले दूध संकलन केन्द्र संचालन गरिरहेको छ भने ८० प्रतिशत सरकारी लागतमा वीउ ग्रेडिङ गर्ने, भण्डार गर्ने उद्योग समेत स्थापना गरेको छ । सरकारको २ करोड ९५ लाख र संस्थाको २० प्रतिशत लगानीमा करिव ३ विगाहा क्षेत्रमा सामुदायीक वीउ उत्पादन केन्द्र स्थापना भएको हो । त्यहाँ तोरी, धानको वीउ ग्रेडिङ, प्याकेजिङ गर्ने काम भइरहेको छ ।

स्थानिय स्तरमा रहेर सहकारीले सामुहिक काम गरिरहेको भएपनि कृषि सडक, उचित वजारको अभाव, दक्ष जनशक्ति नहुने र भण्डारण समस्याले भने सोचेअनुसार काम गर्न नसकेको संस्थाकी अध्यक्ष मीना ढकाल वताउँछिन । यस्तै, वीउ विक्रिकालागि कृषि सामाग्री केन्द्रमा टेण्डर हालेर मात्र विक्री गर्नुपर्ने समस्या पनि रहेको उनको भनाइ छ । सरकारले वीउ, औजार उपकरणमा सहयोग गरे यो प्रयास अन्य क्षेत्रमा समेत थालनी गर्ने संस्थाले योजना वनाएको उनले जनाइन । केही वर्षभित्रै थप ३० विगाहा जग्गामा पनि सामुहिक खेती गर्ने, दाना उद्योग र डेरी संचालनको योजना समेत संस्थाले वनाएको छ ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS