- प्राज्ञ लक्ष्मी उप्रेती
-->

नेपाली हामी रहुला कहाँ नेपालै नरहे
उचाइ हाम्रो चुलिन्छ कहाँ हिमालै नरहे..।

राष्ट्रियताका पक्षधर राष्ट्रकवि माधवप्रसाद घिमिरेले लेखेको कविताका यी शब्दहरूबाट राष्ट्रियताप्रतिको अगाध प्रेमको भाव झल्काउछ । ११ कक्षाको नेपाली विषय पठनपाठनमा रहेको यो कवितालाई विध्यार्थिहरूले बुझेमा देशभक्तिको चेतना विध्यार्थिकालमा नै पर्दापण हुने कुरामा दुईमत नहोला । चेतना र चिन्तनले आधुनिक विश्वमा प्रतिनिधित्व गर्ने सामथ्र्य नेपाली भाषा साहित्यका ओजस्वी कवि माधवप्रसाद घिमिरेको अवसान हुनु लगभग एउटा युगको अड्चन हुनु जस्तै हो सायद । लमजुङमा जन्मने माधव घिमिरे पिता गौरीशंकर शर्मा घिमिरे र माता द्रौपदीदेवी घिमिरेका सुपुत्र हुनुहुन्छ । उहाँले काठमाडौँलाई कर्मभूमि बनाएर साहित्य साधनामा जीवन चुल्याउँदै जानु भयो । छन्द कविताका नायक राष्ट्रकवि माधवप्रसाद घिमिरेको १ सय २ वर्ष उमेर पुग्न लाग्दा २ भाद्र ०७७ साल कुसे औँसीको एक दिन अघि काठमाडौँमा देहावसान भयो । यसले समस्त नेपाली भाषि र नेपाल राष्ट्रलाई अपूरणिय क्षति भएको छ ।

गाउँछ गीत नेपाली ज्योतिको पंखा उचाली
जय जय जय हे नेपाल सुन्दर शान्त विशाल ।

५० वर्ष अघि स्कुलमा लेघ्रो तानेर प्राथनामा यो गीत गाएर पढनपाठन सुरु हुने सुखद क्षणको स्मृतिले म सधैं रोमाञ्चित हुन्छु । आहाँ क्या लय मिल्ने त्यो गीतका शब्दमा राष्ट्रियताको भाव कति झल्केका रैछन । हुन त त्यसबेला यसको अर्थ त बुझिएन तर नेपाली माटो र नेपाली मुटु बोलेको भावलाई लगभग ३० वर्ष अगाडि घरेलु साना उद्योग संघको प्रतिनिधि भएर दिल्ली सम्मेलनमा गएका हामी नेपाली उद्यमीहरूले यहि प्रार्थनालाई गयात्मक स्वरको गीत गुन्जनले महोल तताएको क्षण पनि सम्झिरहेछु । हृदयमै बस्ने भाकामा शब्द शिल्पको मीठास आहा । त्यस्तो शिल्प र शक्तिको तपस्या सबैमा हुन सम्भब कसरी हुनु र । उनका हरेक गीतिरचना सधैं राष्ट्रिय भावनाले ओतप्रोत चेतनाका सौन्दर्य हुन । उनले सिर्जना गरेका थुप्रै श्लोकहरू कति कतिलाई कण्ठ नै छ ।

अत्यन्तै सरल र मृदुभाषी कविलाई विराटनगरमा लगभग ४७÷४८ साल तिर नै भेट्ने मेरो अवसर जुरो । त्यसबेला मेरो कर्म थलो विराटनगर । त्यसपछिका दिनमा काठमाडौं जाँदा कहिले उहाँको घरमा कहिले कुनै कार्यक्रम भेटघाट हुन्थ्यो । घरमा भेट हुँदा बढो प्रफुल्लित मुद्रामा विराटनगरका लेखक कविबारे सोधिखोजि गर्ने उहाँले लेखकहरूलाई प्रियजन मान्नु हुन्थ्यो । मेरो दोस्रो कवितासंग्रह मृदु स्मृतिमा उहाँले दिनुभएको शुभकामना उहाँकै हस्ताक्षरमा प्रकाशित छ । अनि मेरो तेस्रो कवितासंग्रहको विमोचनमा प्रमुख अतिथि भएर दिएको शुभकामना यसबेला सम्झिरहे छु । त्यसपछि त कहिले वनिताको प्रमुख अतिथि त कहिले म रहेको सस्थाहरूको प्रमुख अतिथिका रूपमा र कहिले घरमा नैकै पटक भेटघाट भइरह्यो ।

हरेक भेटमा उहाँले मेरो साहित्यिक कर्मका कुरा गर्नु हुन्थ्यो । उहाँलाई भेटन घर जानु पर्दा एकदिन अघि या उहीँ दिन बिहान फोन गर्यो फोन कहिले बुहारीले कहिले आमाले कहिले दिदीले उठाउनु हुन्थ्यो । अनि म फलानो बोलेको कविबरसँग कुरा गर्नु छ भने पछि कवि प्रफुल्ल मुद्रामा हेलो भनेर बोल्नु हुन्थ्यो र सिस्टचारको औपचारिकता सकिना साथ उहाँको पहिलो प्रश्न नै तपाईँ विराटनगरबाट कहिले आउनु भयो बाट कुरा सुरू हुन्थ्यो । अनि भेट्न आउने कुरा गरेपछि कहिले आउने भनेर सहज हुँदै घरमा भेट गर्न समय दिने उहाँ अब भौतिक रूपमा हुनुहुन्न । तर उहाँले यो राष्ट्र र हामीलाई निकै वौद्धिक सामग्री दिएर जानु भयो । हामीलाई उज्यालोको मार्गनिर्देशन गरेर बिदा हुनु भयो ।

परिष्कारयुक्त सिर्जना मात्र प्रश्तुत गर्ने स्वच्छन्दतावादको उचाइमा घिमिरेको चेत अवर्णनीय नै छ । गीतिचेत भएका सुन्दर शब्दशिल्पि कविको पहिचान कसैसँग तुलना गर्नु भनेको न्याय गर्नु हो हैन मलाई थाहा छैन तर तुलना गरिनु हुन्न जस्तो लाग्छ । उहाँले बुनेका शब्द भावमा लोकजीवनको मीठास नै देशप्रेमसँगै प्रकृति प्रेमको प्रतीक हो । प्रकृतिका हरेक तानाबानाका तरङ्गित स्वरहरू गुन्जाएर पाठकलाई अभिभूत बनाउने सामथ्र्यका आयम कविले अत्यन्त शरल र सबैले बुझ्ने लेख्नु भयो तर शक्तिशाली लेख्नु भयो । उहाँको कवित्व शक्ति अनुकरणीय सन्देशको अपरिमित सौन्दर्य अनुभूति हुन्छ ।

यसै कारण पनि उहाँका कविता पढ्नेलाई सरल लाग्थे । कुनै सिद्धान्त र दर्शनबाट सिर्जनाको भाव छोप्नु हुन्न भन्ने कुरामा संवेदनशील उहाँको लेखनको सबैभन्दा सशक्त पक्ष यही थियो । प्रेमलाई सौन्दर्यको सार्वभौम रूप मान्ने कविवर प्रेमकै भावमा रमाएर प्रेमको सिर्जनामा पाठकलाई मन्त्र मुग्ध पार्ने शसक्त हुनुहुन्थ्यो । सधैंसधैं उमेरको उज्यालोमा प्रेमिल भाव खोज्थे र अरूलाई पनि खोज्न प्रेरित पार्ने कविलाई पछिल्लो समय १०० वर्ष पार गर्नु भएको सुखद अवसरमा उहाँसँग भेटघाट गर्ने योजना भयो । उहाँको स्वास्थ्य र लेखन कर्मलाई ध्यान दिदै वनिताले उहाँको घरमा सानो जमघटको आयोजना गरेर उहाँलाई अभिनन्दन गर्दा उहाँ लगायत उहाँकी श्रीमतीको खुसीको क्षण प्रत्यक्ष अनुभवका अनुभूतिले आल्हादित भैरहेछु । त्यसको केही समय पछि डा हर्षबहादुर बुढा स्मृति प्रतिष्ठानले त्यसरिनै उहाँको घरमा जमघट गरि गरेको अभिनन्दन कार्यक्रमको भेट नै उहाँसँगको अन्तिम भेटभयो ।

कवि घिमिरेले काव्यमा एक युग बाँचेर अन्नत युग हाक्ने संभावना छाडेर भौतिक रूपमा लिन हुनु भयो । कवि शिरोमणि लेखनाथ पौड्याल तथा महाकवि लक्ष्मीप्रसाद देवकोटा पछिका काव्य सम्राट बनेर साढे आठ दशक सम्म अविराम साधनामा गरिरहनु भयो। अलौकिक सिर्जनामा वौद्धिकताको गहिराइमा पुग्ने ज्ञाताका शब्द सारथि काव्य सम्राट घिमिरेले आफ्नो चेतनाको तहलाई फराकिलो पार्दै अमूल्य खण्डकाव्य गीत कविता गीतिनाटक र बालसाहित्य निबन्ध रचना गरेर जनमानसमा लोकप्रिय हुनुभयो । पूर्विय दर्शनकाभावसँगै राष्ट्रभक्ति र प्रकृतिलाई पनि अतिनै प्रेम गर्ने कविले आफ्ना सिर्जनामा आफ्नै देशका अखण्ड सम्पदालाई सर्वस्व ठानेर असरल्ल छर्दै आफ्नै लेखन कर्मबाट अमर हुनुभयो ।

वाङ्मयका चेतनाको उचाइलाई नेपाली गीति प्रणालीमा नै नैलो हाँक दिने सुन्दर शब्द लहरीका शिल्पि घिमिरेको क्षमता आंकलन गर्न नै सकिन्न । आफ्नै जन्मथलो र बाल्यकालका अनुभूतिका शब्दहरूको रोचक र तथ्यपरक संवेदनाका स्वरहरूका सुन्दर चित्रण पाइन्छ । दार्शनिक भावका काव्य सिर्जनाले चकित तुल्याउँने राष्ट्रकविलाई कल्पनाशिलतामा सौन्दर्य झल्काउने प्रकृतिवाद, मानवतावाद, राष्ट्रवादका शिखरपुरूष र यस युगकै नयाँ चेतनाका बिम्ब माने फरक नपर्ला जस्तो लाग्छ मलाई ।

हरेक मानिसहरूले आफ्नै जीवन फरकफरक रूपमा बाँचेका हुन्छन । ती फरक जीवन बाँच्ने अरू भन्दा झन फरक जीवन बाँच्ने राष्ट्रकविको जीवनको आयम पनि मार्मिक छ । बाल्यकालमा मातृवियोगको वेदना अलिपछि पिताको वेदना र १७ वर्षीय युवावस्थामा पत्नी गौरीको वियोगले विक्षिप्त हुने कविको शक्तिशाली हतियार नै लेखन भयो । यसैले त्यहीँ समयमा शोककाव्यका रूपमा गौरी जन्मियो । जुन जनमानसमा लेकप्रियताको कसिमा रहेको मार्मिक कारुणिक कृतिका रूपमा लिने गरिन्छ । यसले कविको कवित्व एकाएक चिलिएर अमर साधकका रूपमा प्रश्तुत हुनुभयो । उक्त शोककाव्यको एक अंश ….

यी रोए पनि दुःख लाग्छ– यिनले सम्झे कि आमा भनी
यी हाँसे पनि सुक्ख छैन– यिनले बिर्से नि आमा भनी ।।
                                                                  (गौरी)
चेतनाको कलेवरबाट प्रश्तुत भएर उत्कृष्ट सिर्जनाका रूपमा आउने कविको सिर्जना शक्ति अतुलनीय थियो। यस्तो शक्ति हुने सर्वोच्च सर्जक अब कुन युगमा जन्म लिन्छन् या लिँदैनन् पछिको कुरा हो । हाम्रा सन्तान दरसन्तानहरूले देख्ने छन या छैनन् । तर अब फेरीफेरी राष्ट्रकवि आउछन भन्ने कुरा जटिल हँुदाहँुदै पनि आशा गरौं । नेपाली साहित्यका अमर साधक राष्ट्रकविले थुप्रै कालजयी कृतिहरूद्वारा अक्षरको आलोकित सारभौमसत्तालाई स्विकार गरेर नै जीवनको अन्तिम अवस्था सम्म नै लेखिरहनु भयो । लेखनको धङ्धङिले कहिले छाडेन अन्तत नेपालीलाई ऋतम्भरा महाकाव्य पाण्डुलिपि अवस्थामा छाडेर जानु भयो । यसैले उहाँको जीवनकाल अर्थपूर्ण र सार्थक रह्यो । कारूण भावका मार्मिक, शान्त भावका मृदुल र शृङ्गाभावका मनमोहक अक्षरका उज्वल स्तम्भ कविवरमा अन्तराष्ट्रिय स्तरकै कवित्व चेतना प्रसस्त भएको सन्दर्भ कहिले मन्तव्यमा कहिले कुराकानीमा असरल छरिन्थ्यो । मलाई लाग्छ राष्ट्रकविको जीवन दर्शनमा मानव करूणाको मूलभूत सिद्धान्त थियो । जुनसुकै तहका पाठले पनि मनपराउने काव्य सिर्जना गर्न खप्पिस नेपाल र नेपालीको मनमा सधैं प्रतिविम्बित हुनुहुन्छ ।

आलोचक र प्रशंसक हरेक क्षेत्रमा हुन्छन नै । राजनीतिज्ञहरूको शिद्दान्तको विचलन हेरेर सबैले बुझ्नुपर्ने कुरा पनि बिर्सनुहुँदैन । सिर्जनामा माटो बोल्ने मुटु बोल्ने र समय र सत्यको स्वर गुन्जाउने उहाँको लेखनले दिएको सौन्दर्यमा हामी आलोकित छौ र यसलाई स्वीकार गरेर प्रशंसा गर्नु हाम्रो कर्तव्य हो जस्तो लाग्छ । उहाँमा मानव जीवनकोे क्षमताको विस्तृत ज्ञान थियो । स्वतन्त्रतालाई जीवनको सौन्दर्य ठान्ने कवि वास्तव एक विश्व नागरिक भएर ‘वसुधैव कुटुम्बकम’ की भावनाबाट प्रभावित हुनुहुन्थ्यो । सिर्जनशीलताको ओजलाई मूल मन्त्र ठानेर सकारात्मक चिन्तन र योगलाई दिनचर्या बनाउँदै नदी बगेजस्तै जीवन बगाइ रहनु भयो । योग जीवनका लागि अनुवन्धन गर्ने धर्म र जीवनलाई उन्नतिको दिशामा पु¥याउने विज्ञान मानेर नित्य योगमा अभ्यस्त हुनुहुन्थ्यो । कसैलाई असर पर्ने ठेस नलाग्ने साहित्य सिर्जना नगरी अहंकार रहित भएर नै जानु भयो । उहाँकै शब्द सापट लिएर कविताको एक टुक्रा मीठो भाव ।

आएर कहिले ऋतु सिद्दिदैन
लाएर माया मुटु रित्तिदैन ।।
नेपाली राजनैतिकको उथलपुथल र परिवर्तनका अनेकौ परिदृश्यका साक्षि राष्ट्रकविले वि. सं. १९९० साल देखि समय समयका भयानक प्रकृति प्रकोपले घटाएका अनेक खाले भोगाइ झेल्दै झेल्दै हाल संसारमा भईरहेको कोरोना महामारीको त्रासदी अवस्थामा आएर उहाँको जीवन चर्खा रोकियो । तर जति बाँच्नुभो सक्रिय, सार्थक र सिर्जनशील जीवन बाँचेर तीन चार पुस्ता कै लागि प्रिय बनेका शब्दशिल्पि सधैंसधैं बाँचिरहनेछन ।

जति नै वेदना र समस्या भएपनि समयको लयमा बग्दै आफ्नो सूक्तिमय सिर्जनामा झनझन सामथ्र्य बनि आफ्नो लागि मात्र नभई नेपाल राष्ट्र, नेपाली जातिका अमर र अजय कवि हुनु भयो । कविवर घिमिरेका बिभिन्न विधाका दुई दर्जन कृति उल्लेख्य छन । मनमोहक भाषा शैलीमा लेखिएका उहाँका सिर्जनाकाबारेमा पनि बिभिन्न दृष्टिकोणको विचरण गरेर अध्ययन गर्नु पर्ने देखिन्छ ।

अन्तमा उहाँले २०१६ सालतिरै रचना गरेको मृत्युबोधी यो गीत भन्ने तथ्य उहाँको प्राण पखेरु उडिसकेपछि सार्वजनिक भयो । जसका केही शब्द हरू यस प्रकार छन….
त्यसरी होओस मरण
जसरी सुत्छन तारमा
गीतका चारू चरण ।
अमरापुरी सभामा
आफैँलाई गरूँ वरण ।
हामी बाँचेका युगकाओजस्वी र अमर कविलाई यिनै शब्दपुष्पद्वारा हार्दिक श्रद्धाञ्जली ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS