- प्रतिज्ञा थपलिया
-->

लगभग पचास दिन अगाडि। मसँगै काम गर्ने सहकर्मी मित्रलाई अचानक, काममा बेस्सरी ढाड दुख्छ। तर, उसलाई ज्वरो कति पनि हुँदैन। सञ्चाे नभई–नभई काम नगर, घर गएर आराम गर, भन्ने सल्लाह दिन्छौं हामी। ऊ, हाम्रो सल्लाह बमोजिम घर जान्छ। पहिला कहिल्यै ढाड नदुख्ने उसको मनले शान्ति पाउन सकेन। अहिले विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको आशंकामा उसले आफ्नै मनको शान्तिका लागि बाटोमा पर्ने अस्पतालमा स्वाब परीक्षणका लागि दिए। कोरोनाको परिक्षणका लागि स्वावको नमूना दिइसकेपछि रिपोट नआउँदासम्म क्वारेन्टाइन भएर बस्ने प्रावधान अनुसार ऊ सेल्फ आइसोलेट हुन्छ। टेक्सासमा महामारीले उग्ररुप लिएसँगै, परीक्षणको रिपोर्ट आउन ढिलाई भइरहेको थियो त्यो समय।

मसँगै काम गर्ने ती सहकर्मीको रिपोर्ट १२औं दिनमा आयो। त्यो पनि कोरोना पोजेटिभ। त्यो खबर सुनेसँगै हामी सबैको होस–हवास एकछिनलाई हराएको थियो। लगत्तै, हामीमा कुनै मिल्दोजुल्दो वा नयाँ लक्षण छ कि भनेर नियाल्न थाल्यौं, खासै लक्षण नदेखिएपछि, हाम्रो मूल उद्देश्य आफ्नो परिवारलाई सुरक्षित राख्नु थियो।

अब म, घरमा पनि मास्क लगाउन थालें। खानाखाजा अलग खान थालें, वाथरुम र मुख धुने बेसिन चलाए पछि अल्कोहलले सेनिटाइज गर्दै जान थाले। ती सहकर्मीको लक्षण क्रमशः हटे पनि, रिपोर्ट ३० दिन सम्म पोजेटिभ नै आइरह्यो। हामी उसको हौसला बढाउन लगातार कोसिस गर्दै रह्यौं त कहिले उसलाई दैनिक आवश्यक सामग्री जुटाउने काम गर्दै उसलाई सहयोग गरिरह्यौं। कोरोना संक्रमणबाट नआत्तिन र कोरोनालाई पराजित गर्न आत्मबल चाहिन्छ भन्दै उसलाई प्रोत्साहित गर्दै आत्मबल बढाइरह्याैं।

यसरी ४०औं दिनमा ऊसको रिपोर्ट नेगेटिभ आयो। हामीमा एक प्रकारको खुशी छायो। साथी सकुशल भएर फर्केर आयो। हामीले आफु र आफ्ना वरिपरिकालाई सुरक्षित राख्न सफल भयाैं। सहकर्मीबाट अन्य व्यक्तिमा संक्रमण फैलिन र हामीमा संक्रमण सर्न मास्कले जोगाएको थियो। हामी काम गर्दा चाहे मान्छे हाम्रो नजिक हुन या नहुन, मास्क अनिवार्य लगाउँथ्यौं, यो काम गर्ने ठाउँको कम्पनी नियम र पोलिसीभित्र पर्दथ्यो।

डर त अझैपनि छ। कोरोनाबाट बच्ने र बचाउने चुनौती अझ थपिएको छ। म सतर्क र सचेत छु। आफ्नो र अर्काको स्वास्थ्यप्रति। त्यसैले त म यो महामारीको समयमा अन्य सहकर्मी लगायतका साथीभाइहरूको घर जाँदिन र अरूलाई मेरो घरमा नआउन अभिप्रेरित गर्दछु। यो घटना अमेरिकाको टेक्सास राज्यको डलासमा भएको हो। म र मेरा नेपाली साथीहरु यो क्षेत्रमा विगत ३ वर्षभन्दा अगाडिदेखि बसोबास र काम गर्दै आइरहेका छौं। चीनको बुहानबाट शुरु भएर विश्वव्यापी रुपमा फैलिएको ‘कोभिड–१९’ को महामारीले अहिले विश्वलाई चुनौती दिइरहेको छ।

कोरोना भाइरसले अमेरिका जस्तो सर्वशक्तिमान मुलुक तथा युरोपका अधिकांश मुलुकमा महामारीको रुपमा फैलिएको छ। अमेरिकामा रहेका आमनागरिक यो महामारीको मारमा त्रसित जीवन बिताइरहेका छन्। अझ नेपाल जस्तो मुलुकबाट उच्च शिक्षा अध्ययनको क्रममा होस वा आप्रबासनका क्रममा अमेरिकाको सपना सजाएर यहाँ बसोबास गर्नेहरुमा अहिले पनि चैनको सास फेर्ने अबस्था छैन।

हामी कोरोना भन्ने सुन्ने बित्तिकै त्रसित र भयभित हुने गर्दछौं। कोही आफन्तमा यो भाइरसको संक्रमण भइहाले उसँगको संसर्गबाट टाढा हुने, उसलाई हतोत्साहीत गराउने जस्ता काम गर्नु उचित होइन। यो भाइरसलाई तपाई हाम्रो दह्राे आत्मबलले परास्त गर्नलाई ठूलो मद्दत गर्दछ। कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि अपनाउने क्रियाकलापले समेत यो महामारीबाट बच्न ठूलो मद्दत पुर्‍याउँछ। जसका लागि खानपानमा ध्यान दिने, अत्यावश्यक कामका लागि बाहेक शहरबजारको क्षेत्रमा ननिस्कने। मानिस–मानिसबीच भौतिक दूरी कायम राख्ने, सधैं मास्कको प्रयोग गरिरहने जस्ता कार्यहरू गर्नुपर्दछ। हामी नेपालको सन्दर्भमा कुरा गर्दा हाम्रो जस्तो आत्मनिर्भर बनिनसकेको देशमा सबै प्रकारका सामग्रीको उपलब्धता नहुन सक्छ। त्यसैले सुरक्षित रहन र निम्न कुरामा ध्यान दिन मेरामाथि उल्लेखित अनुभवबाट निम्न कुरामा जोड दिन चाहन्छु।

(१) मास्कको अनिवार्य प्रयोग, सही तरिकाले गर्ने। हरेक नेपाली नागरिकसँग बजारमा पाइने महँगाे र स्तरीय मास्क दैनिक प्रयोग गर्ने आर्थिक क्षमता नहुन सक्छ। तर पनि महामारी र भाइरसले को सम्पन्न र को विपन्न नचिन्ने भएकाले हामीसँग के उपलब्ध हुनसक्छ (कपडाको मास्क भए हरेक दिन प्रयोग गरिसके पछि साबुन पानीले धोएर अर्को दिन प्रयोग गर्न सकिन्छ) अनिवार्य रुपमा माक्सको प्रयोग गरौं।

(२) सेनिटाइजर जस्ता सामाग्री र किटनाशक औषधीहरू कुनै जादुको छडी र बाबाको बुटी होइनन्, यो गोजीमा लिएर हिँड्दैमा कोरोना भाग्दैन भन्नेतिर ध्यान दिऔं। यसलाई त साबुन पानी हात धुन नमिलेको बेलामा बिकल्पको रूपमा प्रयोग गर्ने सामग्री मात्र हुन्।

(३) सामाजिक सद्भाव राखौं तर भौतिक दुरी कायम गर्ने गरौं। एकअर्कासँगको भेटमा दुई मिटरसम्म दुरीमा मात्र संवाद गरौं। यो त मेरो साथी हो, फलानो त हो नी, उसलाई त मैले चिनेकै मान्छे हो, भन्ने जस्ता लापरवाहीपूर्वक अनुमान नगरौं र अनुमानका भरमा कोरोना लागे नलागेको धारणा नबनाऔ।

(४) कोरोना संङ्क्रमितलाई हेलाको भावले व्यवहार गर्ने होइन, हौसला र हौसला र आत्मबल बढाउने किसिमका सन्देश तथा जानकारीबाट प्रोत्साहन दिऊँ। मायाले र आत्मविश्वासले ईच्छाशक्ति बलियो हुन्छ, सङ्क्रमणसँग लड्ने शाहस बढ्छ। सचेत बनौं, सुरक्षित रहौं, महामारीसँग लड्न आत्मविश्वासी भई प्रतिवद्ध बनौं ।

हालः टेक्सास, अमेरिका

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS