- डा. श्रीधर सुवेदी
-->

मानव यस संसारमा रहेका जीवित प्राणीहरु मध्ये सर्वश्रेष्ठ र विवेकशील प्राणी हो । विवेकशील प्राणीको नाताले मानव प्रकृति संरक्षण र प्रवद्र्धनमा लाग्नु पर्नेमा विवेकहीन भई २१ औं शताब्दीको आर्थिक सम्पन्नताको म्याराथुन दौडमा दौडीरहेको छ । आफू र आफ्नो भूगोलको विकास सुचांङ्कको मापन यूनिट, आर्थिक प्रगति र सम्पन्नतालाई ठानेको छ । दृष्टि भएर पनि दृष्टिबिहीन हुन पुगेको छ । उसलाई कुनै पनि कुरामा प्रगतिको गतिमा दिन दुईगुणा रात चौगुणा छिटो छलाङ मार्ने । जसको लागि प्रकृति माथी लगातार आक्रमण गरिरहेको छ । म पनि यस सुन्दर प्रकृतिको एक सदस्य मात्र हुँ यस धर्तीमा जे जति जीव, किटपतंङ्ग, वनस्पतीको अधिकार छ, मेरो पनि त्यतिमात्रै हो भन्ने ज्ञान रहित बन्न पुगेको छ । मेरो मात्र एकतर्फी प्रगतिको लागि गरिएका प्रकृति दोहन कार्यले म बाहेकका प्रकृतिका अन्य प्राणीहरुको अस्तित्व संकटमा परेको छ भन्ने विवेक हुँदाहुँदै निहीत स्वार्थमा विवेक हिन हुन पुगेका छौं हामी मानव ।

आर्थिक उन्नती र विज्ञानको नाममा मानवले विकास गरेका प्रविधिहरुले नै प्रगतिको लगातार दोहन गरी मर्माहित तुल्याएको छ । यहाँ सम्मकी आकाश, जल, वायु, पृथ्वी र अग्नी (पंचमहाभूत) माथी समेत आक्रमण गरिरहेको छ । विज्ञान र विकासको दुनियाँमा मानवले गरेको प्रगतिमा कुनै सन्देह छैन । जे जति प्रगति गरेपनि मानव प्रकृतिको तुलनामा सधैं पछाडी नै देखिएको हुन्छ । जसको उदाहरण हाल विश्वमा मानवलाई त्रास फैलाइरहेको ‘कोरोना’ को उदाहरणलाई लिन सकिन्छ ।

‘कोभिड–१९’ नामक शुक्ष्म भाइरसको कारण प्रकृतिको विवेकशील एवं सर्वश्रेष्ठ प्राणी मानव, आफैं निर्मित पींजडामा कैद भइरहेको छ । तर, प्रकृतिका अन्य प्राणीमा कोरोनाको असर परेको देखिँदैन । चिकित्सा विज्ञानका विज्ञहरु यस महामारीबाट मानव समुदायलाई छुटकारा दिलाउन अहोसात्र खटीरहेका छन् । तर, ठोस उपचार विधि पत्ता लागिसकेको छैन । भौतिक दूरी कायम गर्ने, आइसोलेसनमा बस्ने बाहेक हामीसंग अन्य विकल्प छैन । करिव ८ महिनाको अवधिमा कोरोनाको संक्रमणदर, संक्रमीत ब्यक्ती, संक्रमीत भएपछि निको भएका ब्यक्ती र मृत्यु भएका ब्यक्तिहरुको स्वास्थ्य अवस्थालाई गहिरिएर सोच्ने हो भने कोरोनाबाट बच्न दृढ आत्मविश्वास, हाम्रो शरीर भित्रको निजी चिकित्सक (रोग प्रतिरोधात्मक क्षमता) को महत्वपूर्ण भूमिका पाईयो ।

निरोगी ब्यक्ती भन्दा मुटुरोग, सुगर, उच्चरक्तचाप, क्यान्सर, मृगौला रोग, श्वासप्रश्वास आदि जस्ता दीर्घकालिन रोगी ब्यक्तीमा कोरोनाको संक्रमण एवं मृत्युदर बढी पाइयो । अन्य कुनै रोग नलागेको ब्यक्तीमा कोरोना संक्रमण पोजेटिभ देखिए पनि सुधारदर बढी पाईयो । विभिन्न कालखण्डमा आउने कोभिड जस्ता माहामारीबाट बच्न हामीले हाम्रो शरीरभित्रको डाक्टर (रोग प्रतिरोधात्मक क्षमता) को विकास र जीवनपद्दतीको कारण उत्पन्न हुने प्राणघातक रोगबाट बच्नुपर्ने देखियो ।

आजभन्दा केही दशक अगाडीसम्म जीवनपद्धती सम्बन्धी प्राणघातक रोगका रोगी भेटीनु कठीन थियो तर, आज प्रत्येक घरघरमा पाउन थालिएको छ । आधुनिक चिकित्सा विज्ञानको चरम विकास, विशेषज्ञ, अस्पताल आदिको संख्यामा वृद्धि भएपनि रोगीको दर दिनानुदिन बढ्दै गइरहेको छ । किन यस्तो भइरहेको छ भनेर हामीले कोरोनाको कहरको बिचमा शरीर छुन र मस्तिष्क खुल्ला भएको अवस्थामा गहिरिएर सोच्नु पर्ने भएको छ । यो कुनै दोषारोपण नभई यथार्थलाई औंल्याउने प्रयास मात्र गरिएको हो । प्राकृतिक नियमको पालक बन्दै रोग र शोक रहित खुसी र सुखी विश्वको निर्माण गर्न आजको आवश्यकता हो । यसको लागि प्रत्येक मानवले आ–आफ्नो ठाउँबाट यथार्थपरक भई सोच्ने, अध्ययन गर्ने र साँचो रुपले प्रयोग गर्नुपर्ने हुन्छ । हामीले यथार्थलाई आत्मसाथ नगरी नीजि स्वार्थमा लागि रह्यौं भने हाम्रो अस्तित्व नै संकटमा नपर्ला भन्न सकिँदैन ।

भोजन जीवित प्राणीको अपरिहार्य बस्तु हो । भोजन विना प्रत्येक जीवित प्राणीको जीवन चल्न सक्दैन । भोजन (गाँस), गाँस, बास र कपास मध्ये पहिलो र आधारभूत आवश्यकता हो । भोजनको दीर्घकालीन श्रोत भनेको कृषि हो । कृषि कार्यबाट प्रकृतिको साथ र सहयोगले हाम्रो थालिसम्म भोजन पुर्याउने कार्यमा कृषकको धेरै ठूलो मेहनत रहेको हुन्छ । माटो, कृषक, उपभोक्ता र वातावरण बीचको अन्तर्निहित सम्बन्ध बर्षौदेखि सन्तुलित, दिगो र स्वस्थ हुँदै आइरहेको थियो । जसको कारण हामी सदा स्वस्थ, चुस्त र तन्दुरुस्त थियौं ।

दोश्रो विश्वयुद्धपछि जव कृषि संस्कार (Agriculture) लाई विभिन्न नाम र बहानामा केही समित ब्यक्ती र राष्ट्रको आर्थिक प्रगतिको लागि कृषि ब्यापार (Agriculture) बनाईयो तब छिटो र धेरै कृषि उपज उत्पादन गर्ने कार्यको थालनी गरियो । छिटो र धेरै उत्पादन गर्न मानव सभ्यता देखिनै चल्दै आइरहेका बैज्ञानिक, सनातन, प्रकृतिसम्वत् परम्परागत बैधिक, कृषि वर्गलाई सिध्याउने खेल भयो । कृषिमा गलत कार्य, रासायनिक मल र बिषादीको प्रयोग गर्न शुरु गरियो । जसको कारण माटोको उर्बराशक्ति र माटोमा भएको शुक्ष्म तत्वहरु मर्न गई माटो खेतीका लागि अयोग्य भयो । खेती चक्र पद्धती ध्वस्त हुन गयो । परिणाम स्वरुप दैनिक खाने खाना अधिक मात्रामा हानीकारक रसायनहरुले भरिपूर्ण हुन पुग्यो । स्वच्छ पिउनेपानी विषाक्त भयो । सास फेर्ने हावामा कार्वन डाईअक्साईड, कार्वन मोनोअक्साइड, सल्फर गाईअक्साईड जस्ता प्राणघातक ग्यासहरु बढ्न गई अक्सिजनको मात्रा घट्दै गईरहेको छ ।

ब्यस्त जीवनशैलीको कारण हामी सन्तुलित, स्वस्थ भोजनको बारेमा सोच्नसम्म सकेका छैनौं । अधिकांश मानिस आधुनिक धनवानी एवं ज्ञानवानी देखिने अस्वस्थ प्रतिष्पर्धीको नाममा बजारको तयारी तथा गलत खानाहरु खाईरहेका छौं । फलतः मुटुरोग, सुगर थाइराईड, बाथरोग, मृगौलारोग, नसारोग, क्यान्सर, पारकिन्सन, निःशन्तान, अलजाईमर जस्ता जटील रोगहरुको शिकार बन्नु परेको छ । जिन्दगी छोटो बचाई र लामो मराइ जस्तो भईरहेको छ । निरोगी शरीरको कति आवश्यक छ भन्ने कुरा निम्न श्लोकले दर्शाउँदछ ।

सर्वमन्यत् परित्यज्य शरीरमनु पालयेत् ।
तद्भावे हि भावनां सर्वाभावः शरीरिणम ।।
नगरी नरस्येव रथस्येव रथि यथा ।
स्वशरीरस्य मेधावी कृत्येष्व वहितो भवेत् ।।
                                     आयुर्वेदिय हितोपदेश

मानिसहरुले अरु सबै काम (कम महत्वका) हरु छाडी शरीर स्वस्थ राख्ने प्रयत्न गरी राख्नु पर्दछ । शरीर र त्यसको स्वास्थ्य ठीक नभएमा प्राणीहरुको सम्पूर्ण कुरा भएर पनि कुनै काम लाग्दैन । जसरी नगरको रक्षकले नगरको हेरविचार गर्दछ, रथको मालिकले रथको रक्षा गर्दछ, त्यसैगरी बुद्धिमान मानिसले आफ्नो शरीरको स्वस्थ हुने काममा ध्यान दिनु पर्दछ ।

‘रोगी निरोगी, निरोगी सदा निरोगी’ रहिराख्न हामीले हाम्रो जीवनपद्दतीलाई सुदृढ गर्दै लग्नुपर्ने देखिन्छ । भोजनको श्रोत –कृषिमा भएका गलत कार्यहरु छोडेर माटोको प्राणरक्षामा आधारित दिगो कृषिको विकास गर्नुपर्दछ । कृषिमा रासायनिक मल र बिषादीको अन्त्य गर्दै वनस्पतीबाट उत्पादन गरिएका प्राङ्गारिक मल र बिषादीको उपयोग गर्नु पर्दछ । मानव शरीरलाई दैनिक आवश्यक पर्ने भिटामिन, मिनरल्स, जस्ता पौष्टिक तत्वहरु प्राकृतिक रुपमा वनस्पतीमा आधारित वस्तुको उपयोग गर्नु पर्दछ ।

आधुनिक जीवनशैलीबाट उत्पन्न भएका शारिरीक एवं मानसिक समस्याबाट बच्न योग, ध्यान, जप, तप, जस्ता बैद्धिक क्रियाकलापको अवलम्बन गर्नु पर्दछ । छिटो र छरितोको नाममा विकास गरिने ‘विज्ञान’ प्राकृतिक कानुनको परिधिमा रही प्राणी जगतको हित अनुसार हुनुपर्दछ ।

धर्म, संस्कार, ब्यापार, पैसा, अस्तित्व आदिको नाममा हुने गरिएका मनमुटाव, युद्ध सदाको लागि बन्द गरी यस धर्तीमा रहेका मानव जाती हामी सबै एउटै हौं । हामी सबै मिलेर हातेमालो गरेर अगाडी बढेमा मात्र हामी मानवको साथै यस धर्तीमा रहेका सम्पूर्ण प्राणीको अस्तित्व रहनेछ र खुसी, सुखी, स्वस्थ, हराभरा नयाँ स्वर्णिम युगको शुरुवात हुनेछ ।

-->

तपाईको प्रतिक्रिया

RELATED POSTS