कोरोना महामारीले सिर्जित अवस्था !

  • प्रकाशित मिति : May 31, 2021
  • सगुन खड्का

काठमाडौं। हाल विश्वव्यापी रुपमा फैलिरहेको कोरोनाको माहामारीबाट हामी नेपालीहरू पनि अछुतो रहन सकैनौँ । कोरोनाको महामारीको कारणले कैयौं नेपाली परिवारहरुको अवस्था निकै कारुणीक भएको छ । अधिकांश मानिसहरुमा कोरोनाको प्रकोपले गर्दा थुप्रै अस्पतालहरूमा बेडको अभाव भएको छ । अक्सिजन सिलिण्डर जस्तो अत्यावश्यक वस्तु उपलब्ध छैनन् । साथीभाइ, आफन्त एवम् परिवारजनलाई अस्पताल पु¥याउन एम्बुलेन्स सेवा समेत उपलब्ध हुन नसकिरहेको अवस्था छ । यो भयावह र हदै कठिनको घडीमा मेरो देशको सरकार कहाँ छ ? के गर्दै छ ? कसैलाई अत्तो पत्तो छैन ।
सडकमा नाराबाजी गर्दै हिड्ने ती विभिन्न दल र भातृ सँगठनहरुका नेता, कार्यकर्ता एवम् नागरीक समाजका अभियन्ताहरू खै कहाँ कुन दुलोमा के गर्दैछन् ? थाहा छैन । सत्ताको स्वादमा रमाईरमाई सधैँ हात पसार्न र हात चाट्न पल्केकाहरू यतिबेलाको आक्रान्त र भयावय अवस्थामा जनताका घर दैलोमा गइ उनीहरूलाई राहत बाड्नुपर्ने बेलाम चुपचाप बस्नुले उनीहरूको मनोदशा घामजस्तै छर्लङ्ग भएको छ ।
अरुबेला आफ्नो स्वार्थको पक्षमा ज्यानको परवाह नगरी नक्कली क्रान्तीको नाउँमा होमिने ती अग्रपंक्तिका विद्यार्थी नेताहरू यतिबेला घरभित्रै चुपचाप बसिरहेका छन् कि सरकारको बचाउ गर्दै दिन बिताइरहेका छन् । सामान्य रुपमा पेट्रोल, डिजेल, खाद्य वस्तुको भाउ बढ्दा महिनौ दिनसम्म चक्का जाम गर्ने, परीक्षा शुल्कमा जाबो रु १० बढ्दा उत्पाच मच्चाउने विद्यार्थी संगठनहरु के कारणले कोरोनाको महामारी नियन्त्रणमा सरकार विरुद्ध खुल्न किन सकेन ? जनताको जीउँ ज्यानको सुरक्षाको लागि उ किन मौँन छ ? यस विषयमा जनता जान्न चाहन्छन् ।

यतिखेर देशमा कोभिड–१९ ले पारेको आतङकबाट कम भन्दा कम क्षेती होस् भन्नाको लागि राष्ट्रभर लकडाउन गरिएको छ जसलाई मानवीय स्वास्थ्यको कारणले कतिपय अवस्थामा स्यावासी भन्न मन लाग्छ । तर हरेक दिन बिहान र बेलुका ज्याला मजदुरी गरेर जिविका चलाउने सर्वसाधारणले खान नपाएर अकालमै मृत्युको अमिलो घटना ब्यहोर्न परिरहेको अवस्थाबाट पारपाचुके प्राप्त गर्नको लागि के उपाय अपनाउन सकिन्छ । सरकारले आजैदेखि सोच्नुपर्ने हुन्छ ।

गाउँ तथा शहर र बस्तिहरुमा कोरोनाको सम्बन्धमा सामान्य जानकारी भए पनि कसरी र कुन प्रकारले यसले महामारीको रुप लिइरहेको छ भन्ने कुरामा उनीहरु विल्कुलै अनभिज्ञ छन् । त्यसैले कतिपय गाउँका सर्वसाधारणाहरु भारतदेखि कोरोनाको लक्षण लिएर धमाधम गाउँ पस्दै छन् र पसिरहनेछन् । त्यस्ता मानिसहरुलाई सरकारले नाका नाकामा क्वारेनटाइन बनाएर, तिनीहरुको स्वास्थ्य अवस्था बुझी, आइसोलेसनमा राख्न पर्ने वा क्वारेन्टाइनमा राख्न पर्ने वा सरासर घर पठाए हुने निर्णय गर्नु पर्ने थियो । तर त्यसबारे सरकार कानमा तेल राखेर बस्यो । कतिपयले त तेल बेसार घसे च्वाट्टै निको हुने रट्टान लगाएर बसे । नेपालका प्रधानमन्त्री समेत तातो पानी पिएमा च्वाट् हुने तर नेपालीको रोगसँग लड्न सक्ने खुबी अन्य देशका मानिसहरुको तुलनामा उच्च भएकोले कोरोना खोरोनाले नेपालीलाई छुन सक्दैन भनेर अनर्गल हल्ला पिटाएर बसे ।

अहिलेसम्म आइपुग्नुपर्ने कोभिड भाइरसका विरूद्ध दिइने खोपको अत्तोपत्तो छैन । अस्पताल लगायतका स्वास्थ्य कर्मी, नर्स, डाक्टरहरुलाई दिनुपर्ने दोस्रो डोजको कुरा कहाँ पुग्यो ? जेष्ठ नागरिकहरुलाई दिनुपर्ने दोस्रो डोज कहाँ पुग्यो ? पैसठ्ठी वर्षभन्दा मुनीका र ५५ वर्षमाथिकालाई दिन भनेको भ्याक्सिन के हालत छ ? सरकार, सरकार फेरबदलमै आफ्नो सम्पूर्ण शक्ति लगाएर बसेको छ । त्यो दरिद्र मनस्थितिमा परिवर्तन गर्न सकिरहेको छैन यो दुःखद अवस्था हो । सरकारको लाजमर्दो अवस्था हो । अतः सरकारले यथासिघ्र यसको व्यवस्था गर्नु अत्यन्त जरुरी छ । नत्र भने कुर्सी कुरेर बसेर जनताको लागि कुनै फाइदा छैन ।

सरकार भ्रष्टाचारीको सहयोगीको रूपका कार्य गरेको जस्तो प्रतित हुन्छ । सर्व साधारण मरे पनि कोही फिक्कर छैन भन्ने मनसायमा चुर्लुम्म डुबेको भान हुन्छ । सरकार स्वयम्लाई थाहा होलानी दिनहुँ करिब दुई सयजनाको हाराहारीमा कोरोनाको कारणबाट अकालमा मृत्यु भइरहेको छ । भने संक्रमितहरूको संख्या दिनानुदिन बढिरहेको छ । अतः यथासिघ्र सरकारका सबै निकायहरू एकिकृत भएर यस रोगका विरुद्धमा उत्साहका साथ जुट्नु अत्यावश्यक भइसकेको छ ।
सगुन खड्का
काठमाडौ ।
२०७८।०२।१४