राष्ट्रिय अपाङ्ग कोष र लायन्स क्लबद्वारा अपाङ्गता भएका व्यक्तिलाई सहायक सामाग्री वितरण

  • प्रकाशित मिति : March 15, 2021
  • sajhamail.com

काठमाण्डौँ । राष्ट्रिय अपाङ्ग कोष र लायन्स क्लब अफ काठमाण्डौँ क्यापिटल डिस्ट्रिक्ट डिसेबल सपोर्ट कमिटी तथा डिस्ट्रिक्ट ए २ एम् डि ३२५ को संयुक्त आयोजनामा ६२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री प्रदान गरिएको छ ।

कार्यक्रमको औपचारिक सत्रमा मन्तव्य दिँदै लायन्स क्लब अफ काठमाण्डौँ क्यापिटलका अध्यक्ष प्रमिला गोयलले अपाङ्गता भएका व्यक्तिहरुको जिवनमा सहायक सामाग्रीले उनिहरुको पहुँच सुनिश्चित गर्न सहयोग पुग्ने  बताउँदै सहायक सामाग्री प्राप्त गर्नु भनेको उनिहरुको अधिकार भएकोले यसले उनिहरुमा सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक संस्थाको तर्फबाट राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामाले लायन्स क्लबले आफ्नो मानविय सेवा अन्तर्गत गरेको कार्यक्रमबाट ६२ जना अपाङ्गता भएका व्यक्तिहरुले सेवा प्राप्त गरेकोमा लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ए २ एम् डि ३२५ र डिसेबल कमिटीलाई धन्यवाद दिँदै अपाङ्गता भएका व्यक्तिहरुलाई सधैँ सहायक सामाग्री वितरण मात्र गरेर नहुने भन्दै सहायक सामाग्रीको उत्पादन, वितरण र मर्मतका लागी दिगो सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । उहाँले सहायक सामाग्री वितरण मात्र नगरी अपाङ्गता भएका व्यक्तिहरुको जिवनस्तर उकास्न र उनिहरुको आयआर्जन, शिक्षा र स्वास्थ्यमा पनि सहयोग पुर्याउन लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ए २ एम् डि ३२५  तथा डिसेबल कमिटीका पदाधीकारीहरुलाई अनुरोध गर्नुभयो ।

सहायक सामाग्री प्राप्त गर्नेमध्येका अभिषेक भट्टराईले आफू ७ बर्षको हुँदा देव्रे खुट्टामा क्यान्सर भएको र कान्ती बाल अस्पतालमा खुट्टाको शल्यक्रिया भएको बताउँदै लायन्स क्लव र राष्ट्रिय अपाङ्ग कोष शारिरीक पुनर्स्थापना केन्द्रले आफुलाई सहायक सामाग्री दिएर महत्वपुर्ण सहयोग गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

कार्यक्रमको प्रमुख अतिथी समेत रहनुभएको लायन्स क्लब अफ क्यापिटल डिस्ट्रिक्ट ए २ एम् डि ३२५ डिस्ट्रिक्टको डिस्ट्रिक्ट गभर्नर डाक्टर शुशीला मल्लले अपाङ्गता भएका व्यक्तिहरुको विषय अत्यन्तै संवेदनशील भएको हुनाले उहाँहरुसँग सम व्यवहार गरिनुपर्ने बताउँदै अपाङ्गता भएका व्यक्तिहरुलाई समाजको मूल धारमा स्थापित गर्नका लागी लायन्स क्लब डिस्ट्रिक्ट ए २ एम् डि ३२५ सधैँ सबै अपाङ्गता भएका व्यक्तिहरुको विचमा रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रमको सभाध्यक्षता समेत ग्रहण गर्नुभएको लायन्स क्लब अफ काठमाण्डौँ क्यापिटलका डिस्ट्रिक्ट डिसेबल सपोर्ट कमिटीका संयोजक किशोर भक्त श्रेष्ठले मन्तव्य दिँदै अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामाग्री वितरण गर्ने मानविय सेवाको अवसर प्रदान गरेकोमा राष्ट्रिय अपाङ्ग कोषप्रति आभार व्यक्त गर्दै यस्तो किसिमको सहकार्यलाई दिगो बनाउँदै देशका विभिन्न स्थानमा सहायक सामाग्री आवश्यक अपाङ्गता भएका व्यक्तिहरुलाई सेवा दिनका लागी लायन्स क्लब तयार रहेको बताउनुभयो ।

लायन्स दोस्रो भाइस डिस्ट्रिक्ट गभर्नर दिनेश प्रसाद श्रेष्ठ, प्रथम भाइस डिस्ट्रिक्ट गभर्नर केशव पाण्डेले मन्तव्य राख्नुभएको कार्यक्रममा लायन चार्टर प्रेसिडेण्ट तथा पिडिजी लायन हरी शंकर निरौलाले धन्यवाद ज्ञापन तथा  लायन देव शर्मा पौडेलले सहजीकरण गर्नुभएको थियो । यसअघिका कार्यक्रमहरुमा लायन्सको क्लबको एकाइ अन्तर्गत भएतापनि यसपालीदेखी डिस्ट्रिक्ट स्तरबाट भएको आयोजकले जनाएको छ ।