उत्पादनमा बचत हुने गरी मूल्य निर्धारण हुनुपर्छ –मन्त्री अर्याल

  • प्रकाशित मिति : February 16, 2021
  • sajhamail.com

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेको वस्तुमा बचत हुनेगरी कृषि वस्तुको मूल्य निर्धारण गरिनुपर्ने बताएकी छन् । उत्पादनमा बचत नभएसम्म कृषिप्रति आकर्षण नबढ्ने भएकाले किसानले गरेको उत्पादनमा बचतको सुनिश्चितता हुनेगरी मूल्य निर्धारण गर्नुपर्ने उनले बताईन ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको २७औँ वार्षिकोत्सव समारोहलाई शनिबार सम्बोधन गर्दै मन्त्री अर्यालले कृषिका निम्ति पसिना बगाउने किसानलाई बिचौलियाले मर्कामा पारेको बताईन । उनले भनिन, ‘किसानदेखि उपभोक्तासम्म आउन बीचमा जे जति तह छन, त्यसले किसानलाई मर्का परेको छ ।’

किसानले उत्पादन गरेको वस्तुले उचित मूल्य पाउन नसकेको बताउँदै उनले आफूले उत्पादन गरेको वस्तुको मूल्य निर्धारण किसानको सहभागितामा हुनुपर्ने कुरामा जोड दिइन । किसानले कति मिहिनेत गरेका छन, कति श्रम गरेका छन, कति लगानी गरेका छन, त्यसको कुनै मूल्याङ्कन नगरी बीचका मान्छेले सीधै मूल्य निर्धारण गरिदिँदा किसान मर्कामा परेको उनले बताईन ।

किसानको खेतदेखि उपभोक्तासम्म कृषि उत्पादन आइपुग्दासम्म मूल्य आकाशिने गरेको उल्लेख गर्दै मन्त्री अर्यालले यो असन्तुलनको अन्त्य गर्दै किसानलाई न्याय हुने व्यवहार स्थापित गर्नुपर्ने बताईन । किसानलाई न्यून मूल्य दिने र उपभोक्तासम्म आइपुग्दा उच्च मूल्य लिने काम गर्न नहुने बताउँदै उनले उपभोक्ता र किसान दुवै मर्कामा नपर्ने कार्य गर्न सुझाव दिईन ।

नेपाललाई समृद्ध बनाउने आधार कृषि नै रहेको बताउँदै उनले त्यसका लागि सम्पूर्ण क्षेत्रले कार्य गर्नुपर्ने बताईन । १५औँ योजनामार्फत ‘समृद्ध नेपाल सुखी नेपाली‘को सपना साकार पार्ने योजना अगाडि सारेको उल्लेख गर्दै उनले १६औँ योजना नपुग्दै देशमा उच्चस्तरको विकास हुने दाबी गरिन ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्थापन समितिले विगतको भन्दा केही सुधार गरे पनि अझै सुधारको आवश्यकता रहेको बताउँदै मन्त्री अर्यालले फोहोर र पार्किङको उचित व्यवस्थापन गर्न सुझाव दिईन । स्टलसँग जोडिएका केही कुराले बेथिति ल्याएको भन्दै सुशासन कायम गर्ने सन्दर्भमा सहयोग गर्न व्यवसायीलाई आग्रह गरिन ।