साना जलबिद्युत् आयोजनालाई विशेष पुर्नकर्जा

  • प्रकाशित मिति : February 16, 2021
  • sajhamail.com

काठमाडांै । नेपाल राष्ट्र बैंकले कर्जा पुर्नसंरचना तथा पुर्नतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउने भएको छ ।
बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समिक्षा गर्दै यस्तो व्यवस्था लागु गर्न लागेको जनाएको हो । सो अवसरमा गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गर्न लागिएको जानकारी गराएका हुन् । उनले २०७६ पुस मसान्तमा सक्रिय वर्गमा रहेका कर्जालाई ऋणीले २०७८ असार मसान्तभित्र लिखित कार्ययोजना पेस गरेमा बैंक तथा वित्तीय संस्थाले सोको विश्लेषण गरी बक्यौता ब्याजको न्यूनतम ५ प्रतिशत असुलउपर गरी एकपटकका लागि कर्जा पुर्नसंरचना तथा पुर्नतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाउन लागेको बताए ।

यस्तै १० मेगावाटभन्दा साना जलबिद्युत् आयोजनाहरूको विशेष पुर्नकर्जामा पहुँच पुर्याउन आवश्यक व्यवस्था गरिने राष्ट्र बैंकले जानकारी दिएको छ । विभिन्न प्रयोजनका लागि ऋण धितो मूल्य अनुपात तोकी प्रवाह भएका कर्जामा कोभिडले सिर्जना गरेको असहज परिस्थितिको समयमा चालु आर्थिक वर्षको मौद्रिक नीतिमा गरिएको नियामकीय सहजीकरणलाई यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ । आर्थिक क्रियाकलाप सामान्य हुदै गएसँगै ऋण धितो मूल्य अनुपातसम्बन्धी व्यवस्थामा पुनरावलोकन गर्ने व्यवस्था गरिने पनि केन्द्रीय बैंकले जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाले तोकिएका क्षेत्र र वर्गमा प्रवाह गर्नुपर्ने कर्जा लक्षित क्षेत्र र वर्गले प्राप्त गरे नगरेको सम्बन्धमा विशेष अनुगमन गरी उक्त ऋण दुरुपयोग गरेको पाइएमा सम्बन्धितलाई गरिने कारबाहीलाई थप प्रभावकारी बनाइने राष्ट्र बैंकले नीति लिएको छ ।

विद्युतीय भुक्तानी कारोबार प्रोत्साहित गर्न कारोबारको सीमामा समयानुकूल पुनरावलोकन गरिने तथा क्यूआर कोडलगायतका विद्युतीय कारोबारको प्रवद्र्धनका लागि आवश्यक थप नीतिगत व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको हो ।

राष्ट्र बैंकले विद्युतीय कारोबारको प्रवद्र्धनका लागि वित्तीय साक्षरतामा गरिने निश्चित खर्चहरूलाई संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गणना गर्न सकिने व्यवस्था गरिने जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढ्यो

माघ महिनाको सुरुवातदेखि बैङ्क तथा वित्तीय संस्थाको कर्जा प्रवाह बढेको छ । नेपाल बैङ्कर्स एसोसिएसनको तथ्याङ्कअनुसार गत एक हप्तामा बैङ्कहरूको निक्षेप सङ्कलन पाँच अर्ब रुपियाँले बढेको छ भने कर्जा लगानी २० अर्ब रुपियाँले बढेको छ । अघिल्लो साता पनि निक्षेप सङ्कलन १० अर्बले बढ्दा कर्जा लगानी २१ अर्ब रुपियाँले बढेको थियो ।

माघ १० गतेसम्ममा बैङ्कहरूको निक्षेप सङ्कलन ३७ खर्ब ८४ अर्ब रुपियाँ पुगेको थियो भने कर्जा लगानी ३२ खर्ब ८८ अर्ब रुपियाँ पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा यस्तो कर्जा २०.१ प्रतिशतले बढेको छ । सोही अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दाबी ११ प्रतिशतले बढेको छ ।

नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०७७÷७८ को छ महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार कर्जा प्रवाह बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ११.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १४.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैङ्कहरूको कर्जा प्रवाह ११.३ प्रतिशतले, विकास बैङ्कहरूको कर्जा प्रवाह १५.३ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ०.३ प्रतिशतले बढेको छ । २०७७ पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६६.३ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालू सम्पत्ति (कृषि तथा गैरकृषिजन्य वस्तु)को धितोमा प्रवाह भएको छ ।

२०७६ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६४.९ प्रतिशत र १३.५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७÷७८ को छ महिनामा बैङ्क तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २०.२ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ६.३ प्रतिशतले, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.९ प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा ११.९ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा ११.५ प्रतिशतले, ओभर ड्राफ्ट कर्जा १३.४ प्रतिशतले, डिमान्ड तथा चालू पुँजी कर्जा १३.६ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ४ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ५०.२ प्रतिशतले र ट्रस्ट रिसिट (आयात) कर्जा ५.६ प्रतिशतले बढेको छ भने हायर पर्चेज कर्जा ४.४ प्रतिशतले घटेको छ ।

सो अवधिमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ९.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ६.२ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ पुस मसान्तमा बैङ्क तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २२ प्रतिशतले बढेको छ । २०७७ पुसमा बैङ्क तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.५ प्रतिशत, ३३.६ प्रतिशत र ४९.२ प्रतिशत रहेको छ । अघिल्लो वर्ष यस्तो अंश क्रमशः ८.५ प्रतिशत, ३१.९ प्रतिशत र ४९.२ प्रतिशत रहेको थियो ।