लुम्बिनीमा केवलकार निर्माण हुने

  • प्रकाशित मिति : February 15, 2021
  • sajhamail.com

काठमाडौं । लुम्विनीमा लुम्बिनी केवलकार निर्माण हुने भएको छ । केवलकार, सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरुसहित लुम्बिनी केवलकार निर्माण हुन लागेको हो

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार बुटबल उपमहानगरपालिका, ३ गोलपार्क, बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गरेका छन् । लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल, मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् ।

प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ भन्दै आयोजना अगाडि बढाउन सरकारको तर्फबाट पूर्ण सहयोग हुनेछ भने कोभिडले देशको पर्यटन क्षेत्रलाई पुगेको धक्कालाई समेत यस परियोजनाले सहयोग पुर्याओस भन्ने आफ्नो शुभकामना रहेको उनले बताए । उनले बुटवलको जनसंख्या, भारतको उत्तरप्रदेश एवम् लुम्बिनी आउने विदेशी पर्यटकका माझ यो केबलकार लोकप्रिय बन्नेछ भने । आयोजनाका निर्माणकर्ताहरुले आयोजना एकवर्ष भित्र सक्ने प्रतिवद्धता जनाएकोमा प्रसंशा गर्दै यसका लागि जेजस्तो सहयोग चाहिन्छ सरकारले पुरागर्ने बताए ।

उनले बुटवल ज्ञानमूभि, ध्यान भूमि र तपोभूमि रहेको भन्दै यसको धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्वलाई पनि सघाउ पुु–याउने अपेक्षा गरे ।

अर्थमन्त्री विष्णु पौडेलले बुटवलमा विकास निर्माणका कामले गति लिएका छन् र यसबिचमा लुम्बिनी केबलकार रोलमोडल बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

मुख्यमन्त्री शंकर पोखरेलले विकास सबैका लागि हो, यो आयोजनाबाट लुम्बिनी प्रदेशका हामी सबै खुशी छौं भने । लुम्बिनी केबलकार प्रालिका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले यस क्षेत्रलाई नेपालको एक ऐतिहासिक तथा पर्यटकीय संगमस्थल सहितको गन्तव्यका रुपमा विकास गर्ने प्रयत्न स्वरुप यो आयोजना सुरुगरेको बताए ।

उनले प्राकृतिक सौन्दर्यले समेत सुशोभित यस सुन्दर पुण्यभूमिको पर्यावरणीय संवेदनशिलतालाई कायमै राखी स्थानीय साझेदारीको माध्यमबाट यहाँका नागरिकको जीवनस्तर उकास्ने र पर्यटनको विकासमार्फत् देशको समृद्धि हासिल गर्ने प्रतिबद्धता व्यक्त गरे । राज्य निजी क्षेत्र साझेदारीको उत्कृष्ट नमूना मलेसियालाई लिन सक्छौं भन्दै ढकालले राज्यले निजी क्षेत्रलाई सहजीकरण गरेर लगानीको वातावरण बनाउन सक्यो भने राज्यले त्यहाँबाट हुने रोजगारी सृजना, कर तथा राजश्व संकलन तथा अन्य भौतिक पूर्वाधारको निर्माणबाट पर्याप्त फाइदा लिन सक्ने बताए ।

उनले नेपालमा पनि लगानीका लागि तीनवटै तह सरकारको तर्फबाट निजी क्षेत्रलाई सहजीकरण गरिदिने र राज्य–निजी क्षेत्र साझेदारिताको नेपाल सरकारको नीतिलाई ठोसरुपमा व्यवहारमा उतार्ने हो भने यहाँ पनि लगानीको वातावरण बन्न गई छोटो समयमा विकासको राष्ट्रिय लक्ष्य प्राप्त हुने बताए ।

आयोजनाका संस्थापक सदस्य रमेश शर्माले लामो समयको प्रतिक्षापछि आयोजनाले गति लिएकोमा खुशी व्यक्त गर्दै आयोजना समयमै पुरागर्ने बताए । यस आयोजनाप्रति बुटबल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी र तिनाउ गाउँपालिकाका प्रमुखलगायतको उपस्थिति थियो ।