साइकलसिटी बन्दै ललितपुर महानगर

  • प्रकाशित मिति : February 15, 2021
  • sajhamail.com

ललितपुर । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएसँगै विकासका कामले समेत तिव्रता पाउन थालेको छ । यसैको उटा उदाहरण हो, ललितपुर महानगरका भित्री सहरमा निमार्ण भएको साइकल लेन ।

महानगरले नगरबासीको आवश्यकतालाई मध्य नजर राखेर निमार्ण गरेको साइकल लेन अहिले नगरको पहिचानसँग जोडिएको विकासका रुपमा लिन थालिएको छ । महानगरले नगरका भित्रि सडकमा २२ किलोमिटर सडकमा साइकल लेन निमार्ण गरिसकेको छ ।

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार महानगरले २२ किलोमिटर साइकल लेन महानगरको दोस्रो चरणअन्तर्गत निर्माण गरेको हो । पहिलो चरणअन्तर्गत महानगरले १४ मंसिर २०७६ मा १० किलोमिटर साइकल लेन निमार्ण गरिसकेको थियो । चालु आवको पुससम्म यो प्रगति भएको महर्जन वताउँछन् । महानगरले नेपाल साइकल एसोसिएसनसँग सहकार्य गरेर साइकल लेन सञ्चालनमा ल्याएको उनले जानकारी दिए ।

पहिलो र दोस्रो चरणमा महानगरले भित्री सहरमा साइकल लेनको व्यवस्था गरेको भएपनि अव चक्रपथ सडकमा पनि विस्तार गर्ने भएको छ । महानरभित्रका एकान्तकुना हुँदै पुल्चोक आउने, पुल्चोकदेखि लगनखेल, टंगाल हुँदै मंगलबजार जाने, पुल्चोकबाट गाःबहाल हुँदै मंगलबजारसम्म पुग्ने, कुपन्डोलबाट पुल्चोक हुँदै सीधा दरबार स्क्वायरसम्म गरी २२ किलोमिटर साइकल लेन सञ्चालनमा आईसकेकाले विस्तारै वाहिरी चक्रपथ सडकमा पनि विस्तार गरिने महानगरले जनाएको छ ।

महानगरपालिकालाई स्मार्ट सिटी र साइकल सिटी बनाउने घोषणापत्रमा समावेश भएकाले पनि ललितपुरको विकासका लागि सोही अवधारणा अर्नगत काम भईरहेको मेयर चिरीबाबु महर्जन बताउँछन् ।

अहिले महानगरले २२ किलोमिटरभित्र महानगरको प्रांगण, जाउलाखेल, पाटनढोका, मंगलबजार, लगनखेललगायत १० ठाउँमा साइकल स्ट्यान्ड बनाएको छ । ललितपुरको विकासमा यो काम कोशेढूंगा सावित हुने महर्जनको भनाई छ । आफ्नो चुवानी प्रतिवद्धता पुरा गर्न पनि आफु क्रियाशिल रहेको उनी बताउँछन् ।