नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया शुरू

  • प्रकाशित मिति : February 13, 2021
  • किरण ढकाल

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक दर्ताका लागि आईतबार सहकारी विभागमा फाईल पेश भएको छ । बैंक दर्ताका लागि सम्पूर्ण प्रकृया पुरा गरि विभागमा फाईल पेश भएको हो ।

प्रस्तावित नेपाल सहकारी बैंकका अध्यक्ष सुरेन्द्र भण्डारी सहितको टोली आईतबार दिउँसो फाईल पेश गर्न विभाग पुगेको थियो । सो टोलीमा नेपाली कांग्रेसका सहकारी विभाग प्रमुख एवं पूर्वमन्त्री आनन्द ढुंगाना, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल लगायतको सहभागिता रहेको थियो । प्रस्तावित बैकका अध्यक्ष सुरेन्द्र भण्डारीले सम्पुर्ण कागजातसहित प्रक्रिया पुरागरी बैंक दर्ता गर्न ५ सय ६९ सदस्य संख्या सहित फाइल विभागका रजिष्ट्रार डा. टोकराज पाण्डेलाई हस्तान्तरण गरेको जानकारी दिएका छन् ।

सुरेन्द्र भण्डारी, अध्यक्ष, प्रस्तावित नेपाल सहकारी बैंक
सम्पूर्ण कागजातसहित प्रक्रिया पुरागरी बैंक दर्ता गर्न ५ सय ६९ सदस्य संख्या सहित विभागमा फाइल दर्ता गरेका छौं । बैंक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यक पर्नेमा ८ अर्ब पुँजी तयार भएको छ ।

डा. टोकराज पाण्डे, रजिष्ट्रार, सहकारी विभाग
विधिबतरुपमा फाइल बुझेका छौं, अपुग भएमा फेरी कागजात मागेर प्रक्रिया थाल्नेछौं । विभागले फाइल अध्ययन गरी प्रकृया शुरु गर्नेछ, बैंक दर्ताका लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ, ऐन अनुसार बैंकको स्वीकृति नेपाल राष्ट्र बैंकले दिनेछ ।

बैंक स्थापना गर्न ३ अर्ब पुँजी आवश्यक पर्नेमा ८ अर्ब पुँजी तयार भएको प्रस्ताबित बैकका अध्यक्ष भण्डारीले जानकारी दिए । बैंकको माघ १७ गते राजधानीमा सम्पन्न भएको प्रारम्भिक भेलाले ललितपुरस्थित श्री लालिगुँरास सहकारीका सचिव समेत रहेका सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन गरि बैंक दर्ताका लागि नियामक निकाय विभागमा फाईल वुझाएको हो ।

नयाँ बैंक स्थापनाका लागि विभागमा दर्ता अनिवार्य हुन्छ । बैंकको दर्ता प्रक्रिया टुंगिएपछि भने आधिकारिता प्राप्त गर्ने भएकाले प्रारम्भिक भेलावाट यस अघिनै दर्ताका लागि प्रोसेस सुरु गर्ने निर्णय भएको थियो । सहकारी ऐनले एक भन्दाबढी सहकारी बैंक दर्ता गर्ने बाटो खुल्ला गरेपछि सहकारी संस्थाहरूको लगानीमा नयाँ बैंक खुल्न लागेको हो ।

सहकारी ऐनको—२०७४ को धारा १२ मा नेपाल राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिई सहकारी बैंक गठन गर्न सकिने कुरा उल्लेख छ । त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुने गरी कम्तिमा ५०१ संस्था वा संघहरू हुनुपर्ने व्यवस्था रहेको पनि छ । यस्तै, बैंक स्थापनाका लागि सेयर पुँजी कम्तिमा तीन अर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पुँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने, आवेदक संस्था वा संघ विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भएको हुनुपर्ने प्रावधान पनि राखिएको छ । सोही प्रावधान अनुसार नयाँ सहकारी बैंक स्थापना हुन लागेको प्रस्तावित बैंकका अध्यक्ष भण्डारीले जानकारी दिए ।

फाइल बुझ्दै रजिष्ट्रार डा. पाण्डेले सहकारी ऐन र नियमले तोकेबमोजिम प्रक्रिया अघि बढाउने जानकारी दिए । ‘विधिबतरुपमा फाइल बुझेका छौं, अपुग भएमा फेरी कागजात मागेर प्रक्रिया थाल्नेछौं,’ उनले भने, ‘विभागले फाइल अध्ययन गरी प्रकृया शुरु गर्नेछ, बैंक दर्ताका लागि सहकारी महासंघले सहमति दिनुपर्नेछ, ऐनअनुसार बैकको स्वीकृति नेपाल राष्ट्र बैंकले दिनेछ ।’

बैंक दर्ताका लागि ५ सय १ फाइल आवश्यक पर्नेमा ५ सय ६ फाइल तयार गरी विभागमा पेश गरिएको थियो । दर्ताका लागि ९ सय ७५ फाइल तयार भएका थिए । सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था छ । यसैगरी बैंकको सेयर पुँजी नेपाल राष्ट्र बैंकले तोकिदिए बमोजिम हुने प्रावधान राखिएको छ । तर, अहिलेसम्म राष्ट्र बैंकले सहकारी बैंकलाई अनुमति दिनेसम्बन्धी कुनै नीतिगत व्यवस्था गरेको छैन । बैंक तथा वित्तीय संस्था ऐन (बाफिया) मा पनि सहकारी बैंकलाई अनुमति दिने व्यवस्था छैन । हाल सञ्चालनमा रहेको सहकारी बैंकलाई पनि अन्य संस्थाका रूपमा सहकारी संस्थाहरूबीच सिमित वित्तीय कारोबार गर्ने अनुमति दिएको छ ।

तदर्थ संचालक समितिमा को–को छन् ?
प्रस्तावित नेपाल सहकारी बैंकको तदर्थ संचालक समिति गठन भईसकेको छ । सुरेन्द्र भण्डारीको अध्यक्षतामा २५ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा सुपरीवेक्षण समिति गठन भएको हो ।

सो समितिमा झापाबाट दुर्गा प्रसाद सापकोटा, सर्लाहीबाट नागेन्द्र कुमार, पर्साबाट राजेन्द्र प्रसाद जयसवाल र विनोद कुमार दत्त, भक्तपुरबाट विदुर मान सिं बस्नेत, चितवनबाट दिनेश चुके, गोरखाबाट हरिमान अधिकारी, कास्कीबाट ध्रुव राज पौडेल, स्याङ्जाबाट केशव प्रसाद लम्साल, बाँकेबाट ललित पहाडी, सुर्खेतबाट पदम दाहाल, कैलालीबाट तुलसा देवकोटा र काभ्रेबाट गिता सिग्देल दाहाल छन् ।

यस्तै, काठमाडौंबाट शम्भु प्रसाद घिमिरे, राममान सिंह महर्जन, पुष्प बहादुर पौडेल, सिताराम काफ्ले, राजाराम बुढाथोकी, डा. ज्ञानेन्द्र प्रसाद पौडेल र दिलिप पौडेल सदस्य छन् । यसैगरी ललितपुर जिल्लाबाट माधव दुलाल, सरद कुमार महर्जन, शशि खड्का र विनोद ढंगोल रहेका छन् । लेखा सुपरीवेक्षण समितिको संयोजकमा काठमाडौंका कृष्ण मगर छन् भने सदस्यमा गोरखाका निधिप्रसाद तिमल्सिना र ललितपुरका किशोर महर्जन छन् ।