बागमती प्रदेश बचत संघको औपचारिक कारोबार शुरु

  • प्रकाशित मिति : February 13, 2021
  • sajhamail.com

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघले औपचारिक रुपमा कारोबार सुरु गरेको छ । संघले काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका –७ स्थित कार्यालयवाट औपचारिक रुपमा कारोबार शुरु गरेको हो ।

गत साउन १३ गते दर्ता भएको संघले कात्र्तिक २२ गते प्रारम्भिक साधारणसभा सम्पन्न गरि अहिले वित्तीय कारोवार सुरु गरेको हो । संघका अध्यक्ष उद्धव सापकोटाले बुधबार औपचारिक रुपमा कारोवार उद्घाटन गरेका हुन् । संघले कारेवार सुरु गरेकै दिन ७० करोड निक्षेप संकलन भएको जनाएको छ । विभिन्न सदस्य संस्थाबाट उक्त निक्षेप संकलन भएको र सोही दिन सदस्य संस्थालाई ३५ करोड रुपैयाँ लगानी गरेको अध्यक्ष उद्धव सापकोटाले साझामेललाई जानकारी दिए ।

संघमा हाल एक सय ७० संघ संस्थामा आवद्ध भएका छन् । कार्यक्रममा ८० वटा सदस्य सहकारीका करिब १ सय २० जनाको सहभागिता रहेको जनाइएको छ । संघको सेयर पूँजी १ करोड संकलन भएको छ । संघको कर्पाेरेट कार्यालय काठमाडौंमा र बागमती प्रदेशको राजधानी मकवानपुरमा सम्पर्क कार्यालय राख्ने गरि बनेपामा केन्द्रिय कार्यालय स्थापना भएको हो ।

कार्यालय र कारोवार सुरु गर्दै अध्यक्ष सापकोटाले सदस्यहरुको क्षमता विकास, समन्वयकारी भूमिका, बचत तथा ऋण परिचालन गरि समृद्ध सहकारी र सहकारीका समृद्ध सदस्य निर्माण गर्न महत्वपूर्ण भूमिका संघले निर्वाह गर्ने बताए । संघमा काभ्रेपलाञ्चोक जिल्लाबाट मात्रै ४० करोड रकम संकलन भएको र यो रकम अझै वढ्दै जाने अध्यक्ष सापकोटाको भनाई छ ।

संघको कार्यालय तथा कारोवार शुभारम्भ समारोहमा विभिन्न १३ वटा जिल्ला बचत संघका अध्यक्षको सहभागिता रहेको थियो । संघको कात्र्तिक २२ गते सम्पन्न प्रारम्भिक साधारण सभाबाट अध्यक्ष उद्धव सापकोटा, बरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठ, महिला उपाध्यक्ष राधा सिन्तान, महासचिव जिवसराज खड्का, सचिव गोविन्दप्रसाद काफ्ले, कोषाध्यक्ष टापबहादुर श्रेष्ठ निर्वाचित भएका थिए ।

त्यस्तै सदस्यहरुमा इन्द्र घिमिरे, तेजेन्द्र खड्का, जगन्नाथ दाहाल, ठाकुर बाँस्कोटा, कृष्णगोविन्द लाखाजु, प्रकाश बञ्जारा, प्रदिप थापा, ओमप्रसाद अधिकारी, कृष्णहरी कोईराला, राधा कडरिया र चक्रबहादुर बस्नेत छन् । संघको लेखा तथा सुपरिवेक्षण समितिमा संयोजक केशवप्रसाद दंगाल, सदस्यहरुमा रमिला शाक्य श्रेष्ठ र रमेश श्रेष्ठ छन् ।