सबै सहकारीको साझा बैंक बनाउने उद्घोष

प्रस्तावित नेपाल सहकारी बैंकको प्रारम्भिक भेला सकियो 

  • प्रकाशित मिति : February 2, 2021
  • किरण ढकाल

काठमाडौं । प्रस्ताबित नेपाल सहकारी बैक लिमिटेडको प्रारम्भिक भेला शनिबार (१७ माघ) राजधानीमा सम्पन्न भएको छ । मुलुकमा सञ्चालित ३० हजार सहकारी संघ, संस्थाको वित्तीय आवश्यकतालाई अहिले रहेको सहकारी क्षेत्रको एउटा मात्र राष्ट्रिय सहकारी बैंकले सम्बोधन गर्न नसक्ने भन्दै सहकारी क्षेत्रकै अर्को बैंक स्थापनार्थ भेला सम्पन्न भएको हो ।

काठमाडौंको कार्की बैङ्केटमा भएको प्रस्ताबित नेपाल सहकारी बैक लिमिटेडको प्रारम्भिक भेलालाई संवोधन गर्दै राजनीतिक दलका नेता तथा सहकारी अभियान्ताले अहिलेको अवस्थामा ३० हजार सहकारी संघ, संस्थाको वित्तीय आवश्यकता एउटा मात्र सहकारी बैंकले पुरा गर्न नसक्ने हुँदा अर्को बैंक स्थापना जरुरी रहेको तर्क पेश गरेका छन् । सिंगो सहकारी अभियानलाई दीगो, विश्वासिलो र फराकिलो ढंगले अघि वढाउँदै लैजान तथा सहकारीहरुको वित्तीय क्षेत्र सुधारका लागि पनि अर्को बैंक स्थापना अनिवार्य रहेको अभियानका अगुवाहरुको भनाई छ ।

सो भेलालाई संवोधन गर्दै पूर्वउपप्रधानमन्त्री एवं नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधीले करिब एक हजार सदस्यता दर्ता भएको बैकलाई कुनैपनि हालतमा रोक्न नसक्ने भन्दै अहिले आवश्यकता अनुसार नै अर्को सहकारी बैंक स्थापना हुन लागेकोमा शुभकामना व्यक्त गरे । ‘यो बैक सबैको लागि आवश्यकता छ, तपाईहरु दर्ता प्रकृयामा जानुस कसैले रोक्न सक्दैन बैक स्थापना भएरै छाड्नेछ ’, निधीले भने, ‘विपी कोइरालाले नेपालमा खुला अर्थतन्त्र प्रवेश गराउनुभएको हो, यसैले मुलुकभर सहकारी फस्टाएको हो, अब मुलुकमा अर्को सहकारी बैंक स्थापना हुन स्वभाविक छ ।’

यस्तै, पूर्वमन्त्री तथा नेपाली काँग्रेस सहकारी विभाग प्रमुख आनन्द ढुंगानाले मुलुकमा रहेको एउटामात्र सहकारी बैकले सबै सहकारीकर्मीलाई समेट्न नसकेको कारण अर्को बैक स्थापना हुनु अश्वभाविक नरहेको बताए । उनले यो बैंक स्थापना भएपछि सहकारी क्षेत्रको मजवुतिमा सघाउ पुग्ने विश्वास समेत व्यक्त गरे ।

पूर्व अर्थ राज्यमन्त्री एवं नेपाली काँग्रेसका केन्द्रिय सदस्य उदयशम्शेर राणा, पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल, महेन्द्र नारायणनिधी मेमोरियल सहकारी संस्थाका सञ्चालक भानुभक्त ढकाल लगायतले पनि अहिलेको अवस्थामा अर्को सहकारी बैंक स्थापनाको आवश्यकता रहेकोमा जोड दिए । उनीहरुले सबै सहकारी संघ, संस्थाको साझा बैंकका रुपमा नेपाल सहकारी बैक स्थापना अपरिहार्य रहेको जिकीर गरे ।

भेलामा प्रस्ताबित नेपाल सहकारी बैंक स्थापनार्थ गठित कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले राष्ट्रिय सहकारी बैंकले राष्ट्र बैकबाट कारोबारका लागि अनुमति प्राप्त गर्न नसक्नु, नेपाल राष्ट्र बैंकको ऐनमा सहकारी बैंक सम्बन्धी व्यवस्था गर्न नसक्नु, सहकारी संस्थालाई वचत तथा ऋणको कारोबार बाहेक अन्य सेवा उपलब्ध गराउन नसक्नुका कारण नयाँ सहकारी बैंक स्थापनाको आवश्यकता रहेको दावी गरे ।

‘बिना धितो ठुलो रकम प्रवाह गर्नु, बैक सञ्चालनमा राजनीति हाबी हुनु, कर्जा लगानीमा विभेद गर्नु लगायतका कारणले नयाँ बैकको आवश्यकता महसुस भएको हो’, भण्डारीले भने, ‘सहकारी ऐन २०७४ र नियमावली २०७५ को आधारमा बैक दर्ता प्रकृया अघि बढाइएको छ, एक वर्ष अघिदेखि नै यो प्रकृया शुरु गरेका थियौ, अब दर्ता प्रकृया शुरु हुनेछ ।’

उनले सातै प्रदेशका ४५ जिल्लाका सदस्य संस्थाका एक हजार भन्दाबढी सदस्य उपस्थित भएर सफलता हासिल भएको बताउँदै अब बैंक दर्ता प्रकृयामा कसैले अवरोध गर्न नसक्ने दावी गरेका छन् । भण्डारीले सहकारी संघ, संस्थाको वित्तीय आवश्यकता पुरा गर्नका लागि पनि अव नेपाल सहकारी बैक जस्तै प्रकृतिका ५ वटा बैक खुल्न आवश्यक रहेको बताए ।