काठमाडाैं । यतिवेला वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरिरहेका छन् । बैंकहरुले सार्वजनिक गरेको पछिल्लो वित्तीय विवरण हेर्दा कोराना महामारीमाविच पनि बैंकको नाफामा भने प्रगति देखिएको छ ।
दोस्रो त्रैमाससम्मको अवधिमा थुप्रै बैंकहरुले उत्साहजनक नाफा आर्जन गरेका छन् । लगानीलाई वढवा दिन ब्याजदर घटाएका बैंकले नाफा पनि राम्रै हासिल गरेको देखिएको छ । यो अवधिमा सबै भन्दावढी नाफा आर्जन गर्नेमा ग्लोबल आईएमई बैंक देखिएको छ । बैंक यस अवधिसम्म २ अर्ब ३१ करोड नाफा आर्जन गरेको जनाएको छ । समीक्षा अवधिसम्म बैंकले गरेको नाफा अघिल्लो वर्षको यही अवधिको तुलनामा ३७.३२ प्रतिशतले बढी हो । गत वर्ष यो अवधिमा बैंकले १ अर्ब ६८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
यस्तै, एनआईसी एसिया बैंकले पनि दोस्रो त्रैमाससम्म आईपुग्दा २ अर्ब ६ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको यही अवधिको तुलनामा २.१९ प्रतिशतले बढी हो । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब १ करोड रुपैयाँ नाफा आर्जन गरेको जनाएको छ ।
नेपालको अर्को वाणिज्य बैंक नबिल बैंकले पनि दोस्रोत्रैमाससम्म आइपुग्दा २ अर्ब १ करोड नाफा कमाएको छ । गत वर्षको तुलनामा यो १.२७ प्रतिशतले कम हो । गत वर्ष यही अवधिसम्म बैंकले २ अर्ब ४ करोड रुपैयाँ नाफा आर्जन गरेकोमा यो अवधिमा ३ करोड रुपैयाँ नाफा घटेको छ ।
प्राइम कमर्सियल बैंकले पनि यस अवघिका १ अर्ब ८१ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्षको यही अवधिको तुलनामा ३९.४० प्रतिशतले बढी नाफा आर्जन गरेको बैंकले जनाएको छ । गत वर्ष यही अवधिसम्म बैंकले १ अर्ब ३० करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।
एनएमबि बैंकले पनि चालु आवको दोस्रो त्रैमासअवधिमा १ अर्ब ६१ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो नाफा ४७.६९ प्रतिशतले बढी हो । गत वर्ष बैंकले १ अर्ब ९ करोड रुपैयाँ नाफा यो अवधिमा आर्जन गरेको थियो ।
यस्तै, प्रभू बैंकले पनि दोस्रो त्रैमासअवधिमा १ अर्ब ५१ करोड रुपैयाँ नाफा कमाएको छ । यो अवधिमा सरकारी स्वामित्वको नेपाल बैंकले १ अर्ब ३५ करोड, कृषि विकास बैंकले १ अर्ब ३२ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
यस अव धिमा आईपुग्दा धेरै नाफा आर्जन गर्ने दश बैंकको सूचीभित्र कुमारी बैंक र सानिमा बैंक पनि परेका छन् । कुमारी बैंकले १ अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ भने सानिमा बैंकले १ अर्ब १७ करोड रुपैयाँ मुनाफा गरेको छ ।