सहकारी संस्थाकाे सुदृढीकरण र सदस्य केन्द्रित व्यवसायमा जोड दिनुपर्छ -अर्थमन्त्री पाैडेल

  • प्रकाशित मिति : January 12, 2021
  • sajhamail.com

काठमाडौं । राष्ट्रिय सहकारी महासंघको २८ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । महासंघको वार्षिक साधारणसभा सोमबार सम्पन्न भएको हो ।

महासंघको साधारणसभामा मन्तव्य व्यक्त गर्दै विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरुले सहकारी क्षेत्रको दिगो विकास, सुदृढीकरण, सदस्य केन्द्रित व्यवसाय तथा सहकारीको मुल्य मान्यता र स्थायित्वमा जोड दिएका छन् । सहकारी संघ, संस्थाले निर्देशित ऐन, कानुन तथा नीति, निर्देशिका अनुसार सञ्चालन हुनु पर्नेमा जोड दिदै उनीहरुले कतिपय अवस्थामा सहकारीले उद्देश्य, मर्म र भावनाविपरित काम गर्दा जोखिम आउने गरेको भन्दै त्यस्ता विषयमा सजक हुनुपर्ने सरोकारवालाले सभाको अवसरमा सुझाव दिएका छन् ।

साधारणसभामा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री डा. शिवमाया तुम्वाहाम्फे, सहकारी विकास वोर्डका सहअध्यक्ष दक्ष पौडेल, महासंघका पूर्व अध्यक्ष दीपकप्रकाश वाँस्कोटा, सहकारी बैंकका अध्यक्ष केवी उप्रेती लगायतले सहकारीको दिगो विकास र सहकारी मार्फत नै आर्थिक समृद्धि सम्भव रहेको विचार व्यक्त गरेका थिए ।

अर्थमन्त्री मन्त्री पौडेलले सरकारले सहकारी क्षेत्रको विकासका लागि सघाउ पुर्याईरहेको भन्दै ऐन, कानुन र निर्देशिका अनुसार सहकारी सञ्चालन हुनुपर्ने बताए । यस्तै, मन्त्री तुम्वाहाम्फेले मनत्रालयले सहकारीमैत्री वातावरण निमार्णका लागि पहल गरिरहेको भन्दै सहकारी संघ, संस्थाहरुले आर्थिक समृद्धि र उत्पादनमुलक क्षेत्रमा लाग्नुपर्ने बताईन् ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै महासंघका अध्यक्ष मिनराज कँडेलले नेपालमा सहकारी अभियान ६४ औं वर्षको यात्रामा रहेको जनाउँदै सहकारीसंघ संस्था र सदस्यको समृद्धिका लागि महासंघ सधै क्रियाशिल रहेको बताएका छन् । सहकारी संघ संस्थालाई सदस्यहरुको समृद्धिका लागि निर्वाध रुपमा काम गर्न सहकारी क्षेत्रसँग अन्तरसम्वन्धित ऐनहरु सहकारी मैत्री वनाउनुपर्नेमा महासंघ निरन्तर लविङमा रहेको कँडेलले बताए । यस्तै, सहकारी ऐन र नियामलीका केही बुँदा तत्काल संशोधनका लागि समेत भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय तथा सम्वन्धित निकायमा छलफल गर्दै आएको उनको भनाई छ ।

‘सहकारी तथा गरिवी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) पूर्णत कार्यान्वयनमा नआउनाले यस क्षेत्रको सही र भरपर्दौ तथ्याङ्कको उपलव्धतामा चुनौती थपिएको छ’, अध्यक्ष कँडेलले भने, ‘सदस्य शिक्षाको अभावले स्वनियमनमा संस्थाहरु सञ्चालन हुन नसकेको र प्रभावकारी अनुगमन, नियमनको अपर्याप्तताले केही संस्थामा सुशासनको अभाव देखिएको छ, जसले समग्र सहकारी अभियानप्रति प्रश्न उठ्ने गरेको छ ।’

यस्तै, गत वर्ष १६ प्रतिशत कायम भएकोसहकारीको सन्दर्भ व्याजदरलाई घटाई १४.७५ प्रतिशतमा झारिएको पनि अध्यक्ष कँडेलले सो अवसरमा जानकारी दिए । वचत तथा ऋणको कारोवार गर्ने सहकारीको भावना विपरित जारी भएको सुपरिवेक्षण, निरिक्षण तथा अनुगमन निर्देशिकाका केही वुँदा संसोधन भएको भन्दै उनले सहकारीहरु सदस्य केन्द्रित भई व्यवसाय गर्नुपर्नेमा जोड दिएका छन् ।

कँडेलले अहिले देशभर ३४ हजार ८ सय ३७ प्रारम्भिक सहकारी संस्थाहरु, २५६ विषयगत जिल्ला संघ, ६९ वटा जिल्ला संघ, १९ वटा विषयगत केन्द्रिय संघ, एक सहकारी बैंक र महासंघ क्रियाशिल रहेको जानकारी दिए । कँडेलले यस अभियानमा ६५ लाख १५ हजार ४६० व्यक्तिको संलग्नता रहेको तथा ५१ प्रतिशत महिला रहेको भन्दै सहकारी क्षेत्रले एक लाख व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएको, सहकारी संघ संस्थामा ७७ अर्ब २४ करोड शेयर पूँजी, ३५० अर्ब ५८ करोड वचत र ३४१ अर्ब ७१ करोड ऋण परिचालन भएको सरकारी तथ्याङ्क प्रस्तुत गरेका छन् ।

यद्यपी, सहकारी विभागले पछिल्लो तथ्याङ्क अनुसार हाल मुलुकमा २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्थाहरू, २० वटा विषयगत केन्द्रीय संघहरू, १ वटा राष्ट्रिय सहकारी बैंक, १ वटा राष्ट्रिय सहकारी महासंघ, ७० वटा जिल्ला सहकारी संघ र २४१ वटा विषयगत जिल्ला सहकारी संघहरू क्रियाशील रहेको जनाएको छ ।

मुलुकभर रहेका २९ हजार ८ सय ८६ प्रारम्भिक सहकारी संस्था मध्ये संघीय सरकार अन्तर्गत १ सय २५, प्रदेश सरकार अन्तर्गत ६ हजार २ र स्थानीय सरकार अन्तर्गत २३ हजार ७ सय ५९ वटा सहकारी संस्था रहेको विभागको तथ्याङ्क छ ।

त्यस्तै सहकारी संघसंस्थामा आवद्ध कूल सदस्य संख्या ७३ लाख ७ हजार ४ सय ६२ रहेका छन् । कूल सदस्य मध्ये महिला सदस्य ५६ प्रतिशत र पुरुष सदस्य ४४ प्रतिशत रहेका छन् । पुरुष सदस्यको तुलनामा महिला सदस्य १२ प्रतिशत बढी रहेको, सहकारीमा कूल शेयर पूँजी ९४ अर्ब १० करोड ५० लाख १५ हजार ८ सय, बचत संकलन ४ खर्ब ७७ अर्ब ९६ करोड ११ लाख ४६ हजार ४ सय ७३ र कूल ऋण लगानी ४ खर्ब २६ अर्ब २६ करोड २३ लाख ११ हजार ३ सय ८१ रहेको छ । सहकारी संघरसंस्थाले मुलुकभर ८८ हजार ३ सय ९ जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको विभागको तथ्याङ्क छ ।

कोभिडको जोखिम न्युनीकरण गर्न महासंघले विभिन्न कार्यक्रम गरेको, कोपसप प्रवद्र्धन अन्र्तगत झापाको गौरादहको शुभलक्ष्मी बहुउद्देश्यीय सहकारीलाई १० लाख अनुदान उपलब्ध गराएको, कोरोना उपचार कोषमा २७ लाख १ हजार ७६४ रकम उपलब्ध गराएको, विभिन्न संघहरुको सुदृढीकरण, प्रवद्र्धनात्मक काम गरेको जनाइएको छ ।

महासंघले आव २०७६÷०७७ मा २५ लाख ७० हजार रुपैयाँ खुद नाफा गरेको, शेयर पूँजी ३९ लाख २५ हजार, कोष मौज्दात ११ करोड ८३ लाख ५९ हजार रहेको तथा विगत ५ वर्षमा महासंघको कूल सम्पति तथा दायित्व १३ करोड ४३ लाख ६६ हजार रहेको जनाइएको छ । साधारणसभामा कर्जा सूचना केन्द्र स्थापनाका लागि मनत्रालयमा मस्यौदा पेश गरेको पनि जानकारी दिईएको छ ।

कोभिड –१९ को जोखिम अझैपनि कम नभएकाले महासंघले देशभरवाट सिमित राष्ट्रिय प्रतिनिधि छनोट गरि प्रत्यक्ष रुपमा र भर्चुअल माध्यमवाट साधारणसभा सम्पन्न गरेको हो ।