कृषिमा लगानी गर्दै जनसेवा साकोस

  • प्रकाशित मिति : January 7, 2021
  • sajhamail.com

बनेपा । काभ्रेको पनौती – ५, स्थित जनसेवा वचत तथा ऋण सहकारी संस्थाले कृषि क्षेत्रमा लगानी वढाएको छ । संस्थाले आफ्नो कूल लगानी मध्ये ८० प्रतिशत लगानी कृषि क्षेत्रमै गरिरहेको छ ।

संस्थाकी अध्यक्ष पार्वती थापाले २०६४ सालमा स्थापना भएको जनचेतना साकोसले महिलाहरुलाई प्राथमिकताका साथ कृषि क्षेत्रमा लगानी गर्दै आइरहेको बताईन् । उनले कृषिका लागि मल, वीउ लगायत आवश्यक सामाग्रीको व्यवस्था गर्दै लगानीको क्षेत्र समेत बढाउँदै लगेको जानकारी दिइन् । ‘हामीले स्थापनाकालवाटै कृषि क्षेत्रमा लगानी गरिरहेका छौ,’ थापाले भनिन्, ‘कूल लगानी मध्ये ८० प्रतिशत लगानी कृषि क्षेत्रमै छ ।’

अन्य सहकारी संस्थाहरुले उद्देश्य अनुरुप लगानीको क्षेत्र पहिचान नगरेको गुनासो आइरहँदा जनसेवा भने जिल्लामै नमुनाका रुपमा स्थापित हुँदै छ । एक हजार ५ सय सदस्य रहेको संस्थामा बाल बचत समेत गर्ने गरेको थापाले जानकारी दिइन् । महिलाहरुको स्वास्थ्यका लागि स्वास्थ्य शिविर संचालन गर्ने, अन्य सामाजिक, आर्थिक कार्यक्रम पनि सञ्चालन गर्ने जनसेवाले सबै सदस्यलाई सहज र सहुतियपूर्ण रुपमा सेवा प्रवाह गरिरहेको जनाएको छ ।