वाणिज्य बैंकका सीईओ, कसको तलब कति ?

  • प्रकाशित मिति : January 25, 2021
  • sajhamail.com

काठमाडौं । नेपालका ‘क’ वर्गका वाणिज्य बैंकहरु मध्ये धेरैजसोले वार्षिक साधारणसभा सम्पन्न गरिसकेका छन् । बैंकले साधारणसभामा वार्षिक खर्च, आम्दानी, वोनश लगायतको जानकारी र नीतिगत अवधारणा पनि पारित गरिरहेका छन् । बैंकले कर्मचारीका लागि वर्षमा कति खर्च गर्छन् भन्ने चासोको विषय समेत हुने गरेको छ । यसै सन्दर्भमा बैंकले प्रमुख कार्यकारी अधिकृतलाई वार्षिक कति तलव, भत्ता उपलब्ध गराउँछ भनेर यसपटक विभिन्न ५ बैंकका सीईओले वुझेको तलव, भत्ता र सुविधा चर्चा गरेका छौ ।

कृष्णबहादुर अधिकारी
प्रमुख कार्यकारी अधिकृत
नेपाल बैंक
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर अधिकारीले ४६ लाख ९६ हजार ३०६ रुपैयाँ तलब भत्ताबापत भुक्तानी लिएका छन् । बैंकले गत आर्थिक वर्षको साधारणसभा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार प्रमुख कार्यकारी अधिकृत अधिकारीले ३० लाख १३ हजार ६४८ रुपैयाँ तलब र १६ लाख ८२ हजार ६५७ रुपैयाँ भत्ता बुझेका हुन् ।
बैंकले कम्पनी सचिब र अन्य ब्यवस्थापन अधिकारीहरुलाई (मुख्य प्रबन्धक तहसम्म) लाई तलब भत्ता बापत ५ करोड १० लाख ९५ हजार रुपैयाँ भुक्तानी गरेको जनाएको छ । बैंकको गत वर्ष कुल कर्मचारी खर्च २ अर्ब २२ करोड ४८ लाख रुपैयाँ पुगेको र यसबाहेक सञ्चालन खर्च ६६ करोड ८६ लाख रुपैयाँ छ ।

अनिलकुमार उपाध्याय
प्रमुख कार्यकारी अधिकृत
कृषि विकास बैंक
काठमाडौं । कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई बैंकले मासिक २ लाख ५० हजारका रुपैयाँका दरले तलब भत्ता भुक्तानी गरेको दिएको छ । बैंकले सीईओ अनिलकुमार उपाध्यायलाई यो तलव भत्ता भुक्तानी गरेको हो । उनलाई बैंकले दसैं खर्चबापत थप २ लाख ५० हजार रुपैयाँ दिएको छ । औषधि उपचारबापत ५० दिनको तलब, मासिक टेलफोन, मोबाइल शुल्कबापत २५ हजार उपलब्ध गराउने गरेको छ । बैंकले साधारणसभामा प्रस्तुत गरेको वार्षिक प्रतिवेदन अनुसार सीईओ उपाध्यायलाई सञ्चय कोषबापत एक महिनाको तलब सुविधा दिने व्यवस्था छ । उनले बैंकवाट तलब, दसैंभत्ता, औषधि उपचार खर्च र सञ्चय कोषबापत एक वर्षमा ३९ लाख १६ हजार रुपैयाँ बुझेका छन् ।
बैंकको गत वर्षको कुल कर्मचारी खर्च ३ अर्ब २ करोड ५४ लाख रुपैयाँ छ । अघिल्लो वर्ष खर्च २ अर्ब ९२ करोड थियो । अन्य सञ्चालन खर्च पनि ८७ करोड ६३ लाखबाट ९४ करोड २१ लाख पुगेको जनाइएको छ ।

नारायणदास मानन्धर
प्रमुख कार्यकारी अधिकृत
प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धरको तलब एक वर्षमा ७६ लाख रुपैयाँले बढेको बैंकले जनाएको छ । वार्षिक प्रतिवेदन अनुसार बैंकले उनको तलब सुविधा एक करोड ८५ लाख रुपैयाँ पुगेको उल्लेख गरेको छ । अघिल्लो वर्ष उनले एक करोड ९ लाख रुपैयाँ बुझेका थिए ।
तलब सुविधामा नाफाबाट पाउने बोनस नजोडिएको भएपनि सो समेत गर्दा उनले वार्षिक दुई करोड भन्दावढी लिने गरेका छन् । मानन्धरले तलब मात्र ९६ लाख ९० हजार रुपैयाँ बुझेका छन् भने भत्ता ६४ लाख ६० हजार रुपैयाँ बुझेका छन् । उनले दसैं भत्ता १४ लाख रुपैयाँका साथै सञ्चय कोष सुविधा ९ लाख ६९ हजार लिएका छन् । यसबाहेक गाडी, मोबाइल र इन्धनको सुविधा प्राप्त हुने गरेको छ । बैंकले गत वर्ष कुल कर्मचारी खर्च एक अर्ब ९ करोड रुपैयाँ गरेको छ । सञ्चालन खर्च ५३ करोड २५ लाख रुपैया छ ।


तुलसीप्रसाद गौतम
प्रमुख कार्यकारी अधिकृत
सेञ्चुरी कमर्सियल बैंक
सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत तुलसीप्रसाद गौतमले एक बर्षमा एक करोड ५४ लाख ५६ हजार रुपैयाँ तलब सुविधा लिएका छन् ।
उनले एक करोड २६ लाख रुपैयाँ तलब मात्र बुझेका छन् । उनलाई दसैं खर्च बापत १० लाख ५० हजार, संचय कोष योगदान बापयत ७ लाख ५६ हजार र अन्य सुविधा बापत १० लाख ५० हजार रुपैयाँ छ ।
बैंकले माथिल्लो ब्यवस्थापनका कर्मचारीहरुलाई एक बर्षमा १५ करोड ३६ लाख ९१ हजार रुपैयाँ तलब भत्ता बापत भुक्तानी गरेको जानकारी दिएको छ । बैंकले गत बर्ष सम्पूर्ण कर्मचारीका लागि ७६ करोड ३८ लाख रुपैयाँ भुक्तानी गरेको जनाएको छ ।


ज्योतिप्रकाश पाण्डे
प्रमुख कार्यकारी अधिकृत
नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेले एक वर्षमा ३ करोड ६ लाख रुपैयाँ तलब भत्ता लिएका छन् । पाण्डेले तलब बापत एक करोड ६० लाख ७६ हजार, भत्ता एक करोड ७ लाख १७ हजार, दसैं भत्ता २२ लाख ३३ हजार, सञ्चय कोष १६ लाख ८ हजार रुपैयाँ बुझेको बैंकले जनाएको छ । आम्दानीको ३६ प्रतिशत पाण्डेले आय कर तिरेको जनाईएको छ ।
अघिल्लो बर्ष पाण्डेले कुल ३ करोड ६ लाख रुपैयाँ बुझेको जनाइएको छ । बैंकका अन्य कार्यकारी पदाधिकारी र ब्यवस्थापकलाई २१ करोड ७० लाख १३ हजार रुपैयाँ तलव सुविधा बैंकले प्रदान गरेको छ ।