नेपालमा पहिलो पटक अन्तर सहकारी कारोवार

  • प्रकाशित मिति : January 18, 2021
  • sajhamail.com

काठमाडौं । सहकारी अभियानले सहकारी क्षेत्रको दीगो विकास र गुणस्तरिय सेवा प्रवाहमा जोड दिनुपर्ने तर्क चलिरहँदा नेपालमा पहिलोपटक अन्तर सहकारी कारोबार सुरु भएको छ ।

हब कोअपरेटिभ सर्भिस लिमिटेडले देशभरका सहकारीहरुमा सहकार्य सहित अन्तर सहकारी सेवा सुरु गरेको हो । एउटा सहकारीको पे स्लिप (चेक) अर्को सहकारीबाट समेत साट्न मिल्ने व्यवस्था सहित अन्तरसहकारी कारोबार सुरु भएको कोअपरेटिभले जनाएको छ ।

सहकारी ऐन २०७४ र सहकारी नियमावली २०७५ मा भएको व्यवस्था अनुसार हब कोअपरेटिभ सर्भिसले अन्तर सहकारी कारोबार सुरु गरेको जानकारी दिएको छ । सहकारी विभागबाट विनियम स्वीकृत गरेर देशभर कार्यक्षेत्र रहेको हबको अपरेटिभले मुलुकमै पहिलोपटक विद्युतीय भुक्तानी सहितको नयाँ सेवा थालनी गरेको जानकारी दिईएको छ ।

हबमा सहकारी संस्थाहरुले सदस्यता लिएपछि आफ्ना सदस्यलाई यस्तो सेवा दिन सक्ने जनाइएको छ । बैंकहरूको चेक नेपाल क्लियरिङ हाउसले सेटलमेन्ट जस्तै एक सहकारीको चेक अर्को सहकारीबाट हबले सेटलमेन्ट गरेर सटही गर्ने व्यवस्था मिलाएको र अहिलेसम्म एउटा सहकारीको चेक अर्को सहकारीमा साट्ने व्यवस्था थिएन । हब कोअपरेटिभ सर्भिसका अध्यक्ष दक्ष पौडेलले सहकारीलाई बैंकसँग प्रतिस्पर्धी बनाउन नयाँ सेवा सुरु गरेको हबमा आबद्ध सहकारी संस्थालाई डिजिटल सेवा प्रदान गर्ने जानकारी दिए । सहकारीको अन्तर्राष्ट्रिय मुल्य, मान्यता र प्रयाोग अनुसार हबले मोबाइल बैंकिङ, अनलाइन भुक्तानी सेवा, युटिलिटी पेमेन्ट, क्युआर कोडमार्फत भुक्तानी, आन्तरिक तथा बाह्य रेमिटेन्स सहितका सेवा दिने उनको भनाई छ ।

सहकारी क्षेत्रलाई समय अनुसार व्यवस्थित गर्दै लैजानुपर्ने र सदस्यलाई वढी भन्दावढी सुविधा प्रदान गर्नुपर्ने मान्यता अनुसार हवले नेपालमै पहिलो पटक अन्तरसहकारी सेवा प्रारम्भ गरेको पनि पौडेलले बताए । सहकारीमा आवद्ध सदस्यलाई गुणस्तरिय हिसावमा वढी भन्दावढी सुविधा प्रदान गरेर अगाडि वढ्ने नीति अनुसार नै यो सेवा सुरु भएकाले भविश्यमा अझै थप सेवा सुविधा प्रारम्भ गर्ने लक्ष्य सहकारीको रहेको उनले बताए ।

‘सहकारी ऐन अनुसार सहकारी संस्थालाई जोडेर विद्युतीय माध्यमबाट कारोबार गरेर बढी भन्दाबढी सेवा दिने उद्देश्यले प्रविधि मैत्री सेवाका लागि हब कोअपरेटिभ सर्भिस लिमिटेड स्थापना गरिएको छ’, पौडेलले भने, ‘संस्थाले मुलुकभर रहेका सहकारी संस्थालाई विद्युतीय सेवा उपलब्ध गराउने र मोबाइल बैंकिङ, अनलाइन भुक्तानी सेवा, युटिलिटी पेमेन्ट, क्युआर कोडमार्फत भुक्तानी, एक सहकारी संस्थामा रहेको डिपोजिटलाई अर्को सहकारी संस्थामार्फत भुक्तानी, डिपोजिट गर्न मिल्ने छ ।’ जुन सहकारी संस्थामा आफ्नो खाता भए पनि आफूलाई पायक परेको सहकारी संस्थाबाट रकम झिक्न र राख्न सक्ने व्यवस्था हब कोपरेटिभ संस्थाले गरेको पौडेलले जानकारी दिए ।

हब कोपअरेटिभ सर्भिस सहकारीलाई प्रविधिमा जोड्ने प्रविधि सम्बन्धि सेवा दिने सहकारी भएकाले यसको कार्यक्षेत्र देशभर रहेको तथा सहकारीमा व्यक्ति, सहकारी, सामाजिक संघसंस्था पनि सदस्य बन्न पाउँने उनको भनाई छ । हबको सदस्यता जुन सुकै सहकारीले पनि लिएर प्रविधि सेवा लिने र लाभांश लिने अवसर पाउने तथा सदस्यता लिएपछि हब सोलुसन मार्फत सम्पूर्ण वित्तीय सेवाहरु त्यो सहकारी र सदस्यले प्रयोग गर्न पाउँने पौडेलले जानकारी दिए ।