सहयोगी मन लिएर रेश्मा पुगिन् राउटे बस्ती

  • प्रकाशित मिति : January 18, 2021
  • sajhamail.com

काठमाडौं । तराईमा जाडो र शीतलहर बढेसँगै लागेको हुस्सुले मध्य तराई र पश्चिम नेपालका विभिन्न ठाउँमा प्रभाव पार्याे । कठ्याग्रिँदो जाडोले विशेष गरी बृद्धबृद्धा तथा बालबालिकाहरुमा प्रत्यक्ष प्रभाव पारेका खबर सञ्चार माध्यमहरुमा आउन थाले । यी खबरहरुसँग राज्य सरकार भने बेखवर जस्तै थियो । तर, काठमाडौं चण्डोलकी रेश्मा बानुलाई भने पश्चिम नेपालको चिसोले चसक्क छोयो । उनलाई झस्स याद आयो, पश्चिम नेपालको दाङ, दैलेख र सुर्खेत लगायत जिल्लाका जंगलमा घुमन्ते जीवन विताईरहेका लोपोन्मुख जाति राउटे समुदायको । बढ्दो जाडो र शीतलहरले उनीहरुलाई असर पारिरहेकै थियो ।

यता रेश्मालाई कतिखेर ती बस्तीहरुमा पुगौं र न्यानोन्यानो कपडाले ती बालबालिका र बृद्धबृद्धाहरुको जाडो छेकौं भन्ने हुटहुटी भयो । तत्कालै उनले सुर्खेत जाने चाँजोपाँजो मिलाउन थालिन । यो अभियानमा उनलाई श्रीमान् इमरान फारूकीले साथ दिए । न्यानो कपडा, कम्बल, लगायतका सामाग्रीहरु तयार पारेर सुर्खेत जाने तय भयो । उनी भन्छिन –‘जाडो बढेको खबरले याद दिलाएपछि मलाई एकैछिन पनि यहाँ बसौं जस्तो लागेन र जाडो छल्ने आवश्यक सामाग्रीहरु जोहो गर्न थालेँ’ ।

यसरी बालबालिका र बृद्धबृद्धाका लागि न्यानो कपडा र कम्बल लगायत सामाग्री लिएर बानुको पारिवारिक टोलि काठमाडौंदेखि सुर्खेततर्फ हानियो । यो समय राउटेहरु सुर्खेतको चिङ्गाड गाउँपालिका–६ स्थित ताड्केमा थिए । बानुको परिवारले त्यहाँ भएका ५० परिवार राउटे समुदायलाई कम्बल वितरण गरेको छ । र, उनीहरुले तयार गरेका काठका भाँडाकुँडा खरिद गरी सहयोग गरेको छ । राउटे बस्तीसम्म पुग्नको लागि उनीहरुलाई चिङ्गाड गाउँपालिका–६ का वडाध्यक्ष छविलाल रानाले समन्वय गरेका थिए ।

अन्तराष्ट्रिय मानवअधिकार संगठनमा समेत आवद्ध रहेकी सामाजिक अभियन्ता रेश्माले विगत बर्षहरुमा समेत राउटे समुदायका लागि कम्बल लगायतका सामाग्रीहरु आफ्नो संस्था मार्फत पठाएर सहयोग गर्दै आएको राउटे उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्काले बताईन । खड्काले भनिन ‘सामाजिक अभियानमा रेश्माले धेरै ठाउँमा असहाय, असक्त, महिला तथा बालबालिकाहरुलाई सहयोग गर्दै आएकी छन ।’

राउटेहरुलाई सामाग्री वितरण गरेसँगै रेश्माको परिवारले सुर्खेतस्थित विरेन्द्रनगर नगरपालिका वडा नं.–१ मा रहेको बालन शिक्षण मन्टेश्वरी तथा चाइल्ड केयर सेन्टरमा अध्ययनरत एक सय बालबालिकाहरुलाई न्यानो कपडा (ज्याकेट र ट्राउजर) वितरण गरेका छन् । चाइल्ड केयर सेन्टरमै पुगेर बालबालिकाहरुसँग घुलमिल हुँर्दै उनीहरुको जाडो छल्न पाउँदा आत्मिक रुपमै अत्यन्तै खुशि लागेको अभियन्ता बानुले बताईन ।

चाइल्ड केयर सेन्टरले सामाजिक, साँस्कृतिक तथा आर्थिक रुपमा विपन्न र पारिवारिक अवस्था कमजोर भएका, अभिभावक विहिन बालबालिकाहरुलाई छात्रबृत्तिको व्यवस्था गरी पठनपाठन गराउँदै आएको प्रिन्सिपल रचना सुनारले जानकारी दिइन । उनले भनिन– ‘हामीले सहयोगीहातहरुसँग सँधैं सहयोगको अपेक्षा गरेका छौं ।’

महिलाहरुसँग जोडिएर सामाजिक अभियानमा लागेकी रेश्मा बानु समेतको महिला समूहले विगतमा ०७२ सालको महाभूकम्पमा विभिन्न अस्पतालहरुसँग सहकार्य गरी खानपान र औषधी उपचारमा सहयोग पुर्याएको थियो । समूहले पछिल्लो समय विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९को महामारीमा काठमाडौंका विभिन्न स्थानमा सर्वसाधारणलाई राहत तथा खाना खुवाउने काम गर्दै आएको जनाएको छ । साथै महिलाहरुले केयर फाउण्डेशन नामक संस्था मार्फत विभिन्न समयमा काठमाडौंमा रक्तदान लगायतका कार्यक्रमहरु गर्दै आएको समूहमा आवद्ध भएकी सदस्य इसरत शाहले जानकारी दिइन ।