नेपालका ६ ठूला बाणिज्य बैंकका सिईओ, कसको तलब कति ?

  • प्रकाशित मिति : January 12, 2021
  • sajhamail.com

काठमाडौं । मुलुकमा अहिले २७ वटा वाणिज्य बैंक सञ्चालनमा छन् । ‘क’ बर्गका यी वाणिज्य बैंकमा कार्यरत प्रमुख कार्यकारी अधिकृत (सिईओ) का विषयमा समय समयमा चर्चा हुने गरेको छ । खासगरि, ‘क’ बर्गका यी बैंकका प्रमुख कार्यकारी अधिकृतहरु बैंकवाट वुझ्ने सेवा सुविधा तथा तलव भत्ताका कारण चर्चामा आउने गरेका छन् ।

प्रमुख कार्यकारी अधिकृत (सिईओ) हरुले लिने मासिक सुविधा कति छ ? अर्थात कुन बैंकका सिईओले कति तलव, भत्ता वुझ्छन् ? जिज्ञासाको विषय समेत हुन सक्छ । नेपालका २७ वाणिज्य बैंकहरुमध्ये हामीले यसपटक विभिन्न ६ वटा बैंकका सिईओको तलव भत्ता कति छ भनेर नियालेका छौ ।

अनुपमा खुँञ्जेली
प्रमुख कार्यकारी अधिकृत (मेगा बैंक)
मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुँञ्जेली २७ वाणिज्य बैंक मध्येकी एक्लो महिला प्रमुख कार्यकारी अधिकृत (सिईओ) हुन् । खुँञ्जेलीलाई बैंकले दिने तलब सुविधा यसपटक ५६ लाख रुपैयाँले बढेको छ । अघिल्लो बर्ष बार्षिक एक करोड १४ लाख रुपैयाँ पारिश्रमिक तथा सुविधा लिने गरकी उनले गत आर्थिक बर्ष एक करोड ७० लाख ३२ हजार रुपैयाँ बुझेकी हुन् ।

कको बार्षिक प्रतिवेदन अनुसार खुँञ्जेलीले तलब एक करोड २ लाख रुपैयाँ, यसबाहेक दसैं भत्ता साढे ८ लाख, बोनस र कल्याणकारी कोष बापत ५६ लाख ७९ हजार, इन्धन सुविधा ३ लाख रुपैयाँ पाएकी छन् । उनले आफ्नो आम्दानीवाट ३६ प्रतिशत आय कर राज्यलाई बुझाएकी छन् ।

मेगा बैंकले गत आर्थिक बर्षको नाफाबाट ३.०५ प्रतिशत नगद लाभांस र १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बैंकको चुक्ता पुँजी हाल १३ अर्ब ३२ करोड रुपैयाँ छ । बोनस सेयरपछि चुक्ता पूँजी एक अर्ब ३३ करोडले बढ्ने छ ।

सुनिल केसी
प्रमुख कार्यकारी अधिकृत (एनएमबि बैंक)

एनएमबिका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले गत आर्थिक वर्षमा एक करोड ७५ लाख २८ हजार रुपैयाँ तलब भत्ताबापत बुझेका छन् । बैंकले अघिल्लो वर्ष केसीलाई एक करोड ६६ लाख रुपैयाँ भुक्तानी गरेको थियो । बैंकको वार्षिक प्रतिवेदन अनुसार केसीलाई तलबबापत ५९ लाख ४ हजार रुपैयाँ र सञ्चय कोषबापत पनि ५९ लाख ४ हजार रुपैयाँ भुक्तानी गरेको छ ।

सबाहेक भत्ता ५२ लाख ४८ हजार रुपैयाँका साथै बोनस तथा वेलफेयरबापत ५५ लाख ७६ हजार रुपैयाँ र अन्य सुविधाबापत २ लाख ९ हजार ९०५ रुपैयाँ भुक्तानी गरेको छ । उनले सरकारलाई ३६ प्रतिशत आयकर तिर्छन् ।

बैंकले गत वर्षको नाफाबाट १३ प्रतिशत बोनस सेयर र ३.२ प्रतिशत नगद लाभांशको प्रस्ताव साधारणसभामा लैजाँदै छ । बैंकले गत वर्ष एक अर्ब ७१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

अजयविक्रम शाह
प्रमुख कार्यकारी अधिकृत (लक्ष्मी बैंक)

लक्ष्मी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहले एक वर्षमा कुल पारिश्रमिक र भत्ताबापत एक करोड नौ लाख ८० हजार रुपैयाँ लिएका छन् । अघिल्लो वर्ष बैंकले प्रमुख कार्यकारीलाई एक करोड २१ लाख रुपैयाँ भुक्तानी गरेको थियो ।

बैंकले प्रस्तुत गर्न लागेको वार्षिक प्रतिवेदन अनुसार अन्य उच्च पदाधिकारीहरुलाई ५ करोड ७५ लाख ४० हजार रुपैयाँ भुक्तानी गरेको छ । वार्षिक प्रतिवेदन अनुसार यो तलब सुविधा बाहेक बैंकका कर्मचारीहरुलाई कर्मचारी सेवा विनियमावली र कर्मचारी सेवा र सर्त अनुसार अन्य सुविधाहरु पनि उपलब्ध हुन्छ ।

बैंकले गत वर्षको नाफाबाट साढे २ प्रतिशतका दरले नगद लाभांश र ९ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । बैंकले गत वर्ष एक अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकको सेयर पुँजी ९ अर्ब ८१ करोड छ भने नेटवर्थ १३ अर्ब ९७ लाख रुपैयाँ छ ।

अशोक शेरचन
प्रमुख कार्यकारी अधिकृत (प्रभु बैंक)

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको तलब सुविधा एक वर्षमा एक करोड १३ लाख रुपैयाँले बढेको छ । उनले गत आर्थिक वर्ष तलब भत्ताबापत २ करोड ५७ लाख ९२ हजार रुपैयाँ बुझेका छन् । यस्तै, बोनस बापत ४८ लाख ७० हजार रुपैयाँ, दसैं तथा बिदाबापतको भत्ता ३५ लाख ६८ हजार रुपैयाँ बुझेका छन् । उनले कुल बुझेको रकममा ३६ प्रतिशत आयकर पनि बुझाएका छन् । उनले अघिल्लो बर्ष २ करोड २९ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए । बैंकले प्रमुख कार्यकारी अधिकृतलाई तलब भत्ताबाहेक इन्धन र मर्मत संभारसहित सवारी साधन उपलब्ध गराएको छ ।

बैंकले बोनससहित कर्मचारीमा कुल २ अर्ब १५ करोड ६७ लाख रुपैयाँ खर्च गरेको छ । बैंकको सञ्चालन खर्च एक अर्ब ४३ करोड रुपैयाँ छ । बैंकले गत आर्थिक वर्ष एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकसँग कुल सम्पत्ति एक खर्ब ६७ अर्ब रुपैयाँ छ ।

Nepal and Srilanka flag

अनिर्भन घोष दस्तिदार
प्रमुख कार्यकारी अधिकृत (स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक)

स्ट्यान्डर्टर्ड चार्टर्ड बैंक नेपालले प्रमुख कार्यकारी अधिकृत अनिर्भन घोष दस्तिदारलाई वार्षिक २ करोड ८७ लाख ५५ हजार रुपैयाँ पारिश्रमिक तथा भत्ता भुक्तानी गरेको छ ।

वार्षिक प्रतिवेदन अनुसार, अन्य सुविधाबापत थप एक करोड १० लाख ७० हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकमा प्रियंका अग्रवाल, अभिनास अग्रवाल, कोमल अग्रवाल, शशी अग्रवाल र शंकरलाल अग्रवालको जनही ०.७ प्रतिशत सेयर छ । बैंकको कुल सम्पत्ति एक खर्ब १६ अर्ब ४३ करोड रुपैयाँभन्दा बढी छ । बैंकको अध्यक्षमा जितेन्द्र अरोरा छन् भने बैंकले गत आवमा एक अर्ब ९९ करोड रुपैयाँ खुद नाफा गरेको थियो ।

 

ज्ञानेन्द्रप्रसाद ढुंगाना
प्रमुख कार्यकारी अधिकृत (नेपाल बंगलादेश बैंक)

नेपाल बंगलादेश (एनबी) बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले एक वर्षमा एक करोड ४१ लाख रुपैयाँ तलब बुझेका छन् । नाफाबाट पाउने बोनस, उपदान, सञ्चय कोष तथा औषधि उपचारका साथै वार्षिक तथा बीमा बिदा पाउने आर्थिक सुविधा सहितको रमक यसमा जोडिएको छैन । बैंकको वार्षिक साधारणसभामा प्रस्तुत वार्षिक प्रतिवेदन अनुसार बैंकले चालु वर्ष शाखा बिस्तारलाई प्राथमिकतामा राखेको छ भने संस्थागत निक्षेपको मात्रालाई घटाउने भएको छ । बैंकले गत वर्ष ४४ करोड ९१ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो ।