बुडोल सामुदायिक साकोसको २१ औं साधारणसभा सम्पन्न, अध्यक्षमा कैलाश केसी चयन

  • प्रकाशित मिति : January 2, 2021
  • sajhamail.com

 

बनेपा । काभ्रेको बनेपास्थित बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्थाको २१ औं साधारणसभा सम्पन्न भएको छ । जिल्लाको बनेपा, पनौती र धुलिखेल कार्यक्षेत्र रहेको अग्रणी सहकारीको रुपमा स्थापित बुडोलले शनिबार आफ्नो २१ औं साधारणसभा सम्पन्न गरेको हो । सभाले आगामी कार्यकालका लागि नयाँ सञ्चालक समिति समेत चयन गरेको छ ।

संस्थाको आव ०७६/०७७ को असार मसान्तसम्मको अवधिमा बचत ९५ करोड १० लाख ७ हजार ५ सय २२ रुपैयाँ पुगेको छ भने कूल सम्पत्ति सो अवधिमा एक अर्ब २५ करोड १३ लाख ९८ हजार ५ सय ८६ रुपैयाँ पुगेको छ । यस्तै, संस्थाले असारसम्ममा ९६ करोड ४६ लाख ८८ हजार ६ सय २५ रुपैयाँ ऋण लगानी गरेको संस्थाका सचिव प्रेमनाथ शर्मा कोईरालाले जानकारी दिए ।

यस्तै, संस्थाको सेयर असार मसान्तसम्मको अवधिमा १२ करोड २६ लाख ५ हजार एक सय, संस्थागत पूँजी ८ करोड ५३ लाख २२ हजार ९ सय ६३ र सो आवमा कूल सञ्चालन आम्दानी ७ करोड ८ लाख ९५ हजार २ सय ८१ र कूल सञ्चालन मुनाफा ३ करोड ६९ लाख ४४ हजार २ सय ४९ रुपैयाँ रहेको छ । संस्थाको मुनाफा कोरोना महामारीका कारण गत आर्थिक बर्षको तुलनामा ५३ लाख ६८ हजार ९ सय ६३ रुपैयाँले कम भएको र यो निर्धारित लक्ष्यभन्दा २ करोड ६३ लाख ६ हजार ९ सय ३ रुपैयाँले कम भएको कोईरालाले जानकारी दिए ।

संस्थाका अध्यक्ष रामहरि केसीले सवल, सक्षम र प्रविधियुक्त संस्थाका रुपमा सदस्यलाई वित्तीय तथा अन्य सामाजिक, शैक्षिक लगायतका सेवा सुविधा प्रदान गरिरहेको बताए । उनका अनुसार गत असार मसान्तसम्मको अवधिमा १९ हजार ५ सय ७७ सदस्य रहेकोमा अहिले २० हजार नजिक पुगेको छ ।

कोरोना महामारीको समयमा पनि संस्थाले सदस्यहरुका लागि विभिन्न खाले वित्तीय तथा सामाजिक सेवा प्रदान गरेको र सदस्यलाई ऋणमा ७ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको केसीले जानकारी दिए । संस्था २० औं बर्ष पहिले ६ सय रुपैयाँवाट सुरु भएकोमा अहिले एक अर्बको वित्तीय यात्रामा रहेको भन्दै केसीले अन्य सहकारी संस्था र सदस्यका लागि बुडोल पाठशाला भएको बताए ।

संस्थाले साधारण सभावाट आफ्नो बार्षिक नीति तथा कार्यक्रम, सचिव प्रेमनाथ शर्मा कोईरालाले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, कोषाध्यक्ष ध्रुबबहादुर भुजेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन, लेखा समितिका संयोजक जयराम थापाले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।

नयाँ सञ्चालक समिति चयन

साधारणसभावाट कैलाश के.सी.को नेतृत्वमा नयाँ सञ्चालक समिति चयन गरेको छ । सञ्चालक समितिको उपाध्यक्षमा प्रेमनाथ शर्मा कोईराला, सचिवमा जयराम थापा, कोषाध्यक्षमा राधेश्याम के.सी. चयन भएका छन् ।

यस्तै, सञ्चालक समितिको सदस्यमा राधाकृष्ण श्रेष्ठ, प्रकाश भुर्तेल, हरिराम कुईकेल, गीता कुँवर क्षेत्री, गायत्री खड्का, अनिला श्रेष्ठ, श्यामचन्द्र श्रेष्ठ चयन भएका छन् । यस्तै, लेखा समितिको संयोजकमा पूर्णबहादुर कार्की र सदस्यमा सन्तोष आचार्य र शर्मिला नेपाल चयन भएका छन् ।