स्थानीय तहमा सुविधासहितका भवन धमाधम बन्दै

  • प्रकाशित मिति : December 29, 2020
  • sajhamail.com

काठमाडौं । देशका ७५३ मध्ये धेरै स्थानीय तहको आफ्नै भवन छैन । नयाँ संरचना अनुसार बनेका स्थानीय तहले आफ्नो भवनको अभावमा भाडामा कार्यालय पनि सञ्चालन समेत गरिरहेका छन् । यसवाट सेवाग्राहीलाई समेत थुप्रैखाले समस्या पर्ने गरेको गुनासो आइरहेपनि यतिवेला भने आफ्नो भवन नभएका स्थानीय तहहरु धमाधम सुविधासहितको भवन निमार्णमा जुटेका छन् ।

सरकारले दुई वर्षअघि आफ्नो नीति, कार्यक्रम र बजेटमै तीन वर्षभित्र सबै स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार अहिले स्थानीय तहमा प्रशासनिक भवन निर्माण कार्यलाई तीव्रता दिएको हो ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले प्रशासनिक भवन निर्माण कार्यलाई उच्च प्राथमिकता दिएर निर्माण गरिरहेका छन् । पुराना ५८ नगरपालिकामध्ये ४२ वटाको मात्र आफ्नै प्रशासनिक भवन थिए भने बाँकी ७११ वटा गाउँपालिका र नगरपालिकाको प्रशासनिक भवन नभएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये ७११ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्नुपर्ने छ । छ हजार ७४२ वटा वडा कार्यालयमध्ये छ हजार वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्नुपर्ने जनाइएको छ । जिल्ला समन्वय समितिको नाममा रहेको कोषको रकमबाट गाउँपालिका, नगरपालिका र वडा कार्यालयका भवन निर्माण भइरहेका हुन् ।