सामाजिक सेवामा श्रेष्ठको सक्रियता

  • प्रकाशित मिति : December 25, 2020
  • sajhamail.com
nepali bhasa

आमा भन्नु हुन्थ्यो –‘समाजमा रहेपछि ठूलालाई आदरसम्मान र सानालाई माया गर्नु पर्दछ ।’ ‘अशक्त र असहायलाई सधैं सहयोग गर्नुपर्छ, हाम्रो सानो सहयोगले कसैको जीवनमा ठूलो परिवर्तन ल्याउन सक्ने भएकोले सवैलाई सहयोग गर्नु है नानी ।’ केटाकेटी अवस्थामै आमाले दिएको प्रेरणाले अहिले सार्थकता पाईरहेको छ । पछिल्लो समय सामाजिक सेवामा सक्रियरुपमा लागिरहेकी निरु श्रेष्ठले भेटघाटको क्रममा विगत सम्झँदै भनिन् ।

काठमाडौंको ढल्कुमा बुबा बुद्धरत्न र आमा मिराको कोखबाट आजभन्दा ३८ बर्ष अघि जेठो सन्तानका रुपमा जन्मिएकी निरुको हालः सामाजिक सेवा प्रतिको सक्रियता दिनप्रतिदिन बढ्दै गईरहेको छ । पछिल्लो समय उनी लायन्स क्लवमा आवद्ध भएर सामाजिक कार्यमा निरन्तर लागिरहेकी छन् । भन्छिन –‘मेरो सानो सहयोगले कसैको जीवन बाँच्न सक्छ भने त्यो नै मेरा लागि ठूलो आत्म सन्तुष्टि हो ।’

बाल्यकालदेखि नै अरुलाई सहयोग गर्न रुचाउने स्वाभाव भएकी उनको विद्यालय जीवन भने सामान्य नै वित्यो । प्लस–टु सम्मको अध्ययन गरेकी निरुले विद्यालय शिक्षालाई निरन्तरता दिन भने सकिनन् । अध्ययनलाई विचमै छोडेर आफ्नै ब्यवसाय शुरु गरिन, नेवारी खाजा बनाउने । खाजा पसल राम्रै चलेको थियो । यसैविच साथीहरुसँग मिलेर महाराजगंजको खुम्जुङ होटलमा कुकको तालिम लिइन । त्यसबेला बैदेशिक रोजगारीमा जाने लहड नै चलेको थियो । उनलाई पनि त्यो लहडले छोडेन र ओमानसम्म पुर्यायो । बिदेशको अनुभव सुनाउँदै उनले भनिन –‘मैले त्यहाँ ओमानी, अरबी लगायतका खाना बनाउने कुकको काम गरेँ । नेपालीहरु स्पाईसी खानामा रुची राख्छन भने ओमानीहरु कम स्पाईसी खाना (कम मसलेदार खाना) मन पराउँछन् ।’

करिब चार बर्षको बसाई पछि आफ्नै देशमा केही गरौं भन्ने लागेर नेपाल फर्किएकी निरुले महिलालाई सदाबहार चाहिने सृङ्गार सुन्दरतालाई ब्यवसायिक बनाउने सोच बनाईन र शिक्षिका लक्ष्मी महतसँग ब्यूटिसियनको तालिम लिईन । काठमाडौंकै कुस्तेचौरमा आफ्नै टिना ब्यूटीपार्लर एण्ड टे«निङ सेन्टर शुरु गरिन ।

महिलालाई नभई नहुने सुन्दरतालाई सेवामुलक बनाउन सकेमा रोजगारी सिर्जना गर्न सकिन्छ तथा आर्थिक उपार्जन गर्न पनि सजिलो हुन्छ । हालः उनी सीटीईभीटीसँगको सहकार्यमा महिलाहरुलाई तालिम समेत दिने गर्छिन । हालसम्म आफ्नै तालिम सेन्टरबाट दुई सयजना भन्दा बढी महिला दिदीबहिनीहरुलाई व्यूटिसियनको तालिम दिई स्वरोजगार बनाएको बताउँछिन ।

पार्लर पेशालाई निरन्तरता दिँदै सामाजिक सेवामा सक्रिय हुने धारणा राख्ने निरु आफूले आर्जन गरेको केही रकमबाट समाजसेवामा निरन्तर लाग्ने बताउँछिन । विगतको स्मरण गर्दै उनले भनिन –‘०७२ सालको महाभूकम्पमा परेर बुबाको मृत्यू भयो, यसले हामी सबैलाई ठूलो चोट पुग्यो । त्यस पछि मलाई झनै सामाजिक सेवामा लाग्न उत्प्रेरणा जाग्यो ।’ भूकम्पको समयमा समेत हामीले थुप्रै सेवाका कामहरु गर्यौं ।

विगतमा एक बर्षसम्म सानुमैया कपाली मेमोरियल फाउण्डेशनमा आवद्ध भएर सुन्धारामा रक्तदान कार्यक्रमहरु सञ्चालन गरेको अनुभवले निरुलाई ‘रक्तदान महादान’ हो भन्ने छाप पर्यो । यस विचमा उनको समूहले बृद्धाश्रमका आमाहरुलाई खाना खुवाउने, दिलशोभा आमाघरका आमाहरुको कपाल काटिदिने लगायतका सहयोग गर्दै आएको छ । कुराकानीका क्रममा उनले भनिन –‘बाल्यकालदेखि नै सेवा गर्ने अवसर पाए हुनेथियो भन्ने लाग्थ्यो, अरुलाई सहयोग गर्न पाए प्रतियोगिता नै जितेझैं मन उल्लासमय हुने गर्दछ ।’

हालः लायन्स क्लव अफ सुप्रान ३२५ (वी वान) मा आवद्ध भएर युवाहरुको एउटा टिम नै सामाजिक सेवामा सक्रिय छ । ‘कोभिड–१९’ को महामारीमा समेत यसले काठमाडौंका विभिन्न स्थानमा राहत वितरण लगायत गुडविल हेल्थ केयर क्षेत्रपाटीमा मास्क र सेनिटाइजर बनाउने तथा वितरण गर्ने कार्यक्रमहरु सञ्चालन गरेको थियो । ‘करोडौं रकमभन्दा मानवीय सेवा लाखौं गुणा ठूलो हो ।’ नेपाल रेडक्रसको आजिवन सदस्य समेत रहेकी निरुले भनिन् ।

पछिल्लो समय रक्तदान कार्यक्रमलाई प्राथमिकता दिएर कार्य गरिरहेको यो समूहले काठमाडौंका विभिन्न स्थानमा आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आएको उनले जानकारी दिईन । क्लवले आगामी हप्ता समेत रक्तदान कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ ।