‘सयौं जुनी भए पनि..’ नेपालमा सार्वजनिक

  • प्रकाशित मिति : December 21, 2020
  • sajhamail.com

काठमाडौं । युथग्रुप नेपाल प्रा.लि.अनामनगरको सहकार्यमा ‘सयौं जुनी भए पनि..’ बोलको गीतको म्यूजिक भिडियो काठमाडौंमा सार्वजनिक गरिएको छ । क्यानाडाका विभिन्न स्थानमा छायांकन गरिएको उक्त म्यूजिक भिडियोको नेपालमा सार्वजनिक गर्दै अग्रज पत्रकार एवं चलचित्र निर्माता कुमार ओझाले प्रबासी भूमिमा बसेर नेपाली गीतसंगित मार्फत साँस्कृतिक सम्बन्ध जोड्न गरिएको प्रयासको सराहाना गरे ।

नेपाली गीत संगितले संसारलाई जोडेको सन्दर्भ उल्लेख गर्दै उनले कलाकार तथा निर्माताहरुले आफ्नो देशको मौलिकतालाई विर्सनु नहुने विचार व्यक्त गरे । उनले भने –‘सर्जकले निरासाबादी भन्दा आसाबादी गीत लेखनलाई प्राथमिकता दिनु पर्दछ’ र, ‘कलाकारले समेत गीतको माध्यमबाट समाज र समुदायमा कस्तो प्रभाव पार्दछ भन्ने विषयमा संवेदनशील भएर गाउनु जरुरी हुन्छ ।’

पत्रकार ओझाले भने –‘निरासाका शब्दहरुले मानिसमा नकारात्मक असर पार्ने भएकोले आसाबादी सन्देशमुलक गीतले मात्र हाम्रो जनजिवनमा सकारात्मक प्रभाव पार्न सक्छ ।’ यसलाई लेखक र कलाकारले महत्वका साथ हेर्नु पर्दछ । उनको भनाई थियो ।

म्यूजिक भिडियो सार्वजनिक कार्यक्रममा रातोपाटीडटकमका रंग पत्रकार कुवेर गिरी गीतसंगितले श्रोतालाई सांगितिक मनोरञ्जन दिनु पर्ने विचार व्यक्त गरे । कार्यक्रममा पत्रकार किरण ढकाल, दीपक काफ्ले, सामाजिक अभियन्ता रञ्जन लिम्बू, कलाकार बेखालाल मालाकार लगायतले आफ्नो विचार व्यक्त गरेका थिए ।

सेवारो युट्युव च्यानल मार्फत सर्वसाधारणका लागि सार्वजनिक भएको गीतमा गायिका मेलिना राई र पुष्पराज बरालले स्वर दिएका छन् भने मोडेल भिपिन र सन्च शेर्मा लिम्बूले म्यूजिक भिडियोमा अभिनय गरेका छन् । शब्द संगीत बरालकै रहेको गीतको छायांकन तथा निर्देशन इश्वर थापाले गरेका हुन् ।

कार्यक्रममा युथग्रुप नेपाल प्रा.लि.का प्रबन्ध निर्देशक अशोक क्षेत्रीले निकट भविश्यमै नेपाली कथानक चलचित्र ‘एउटा फूल’ निर्माणको अन्तिम तयारी भैरहेको जानकारी गराएका थिए ।