राउटेको परिचय झल्कने कृति लोकार्पण

  • प्रकाशित मिति : December 20, 2020
  • sajhamail.com

काठमाडौं । पश्चिम नेपालमा घुमन्ते फिरन्ते जीवन विताईरहेको लोपोन्मुख एउटैमात्र जाति राउटेहरुको परिचय झल्कने कृति ‘राउटे समुदायको संक्षिप्त परिचय’को काठमाडौंमा एक कार्यक्रमका विच लोकार्पण भएको छ ।

पूर्व पशुपंक्षी विकास मन्त्री एवं नेकपाकी नेतृ शान्ता मानवीले कृतिको लोकार्पण गर्दै पश्चिम नेपालमा घुमन्ते जीवन विताईरहेका राउटे जातिको परिचय झल्कने कृतिले आफुलाई लोपोन्मुख जातजातिको अध्ययन अनुसन्धानका लागि झक्झक्याएको बताईन । उनले पुस्तककी लेखिका राउटे लोपोन्मुख सीमान्तकृतवर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी खड्काको लामो समयको अध्ययन पछि प्रकाशित पुस्तकले यस जातिको अध्ययन अनुसन्धानका लागि प्रारम्भिक खुड्किलो हुने विचार व्यक्त गरिन ।

‘कृतिले राउटे जातीको सामान्य परिचय खोल्ने प्रयास भएको भए पनि यसले आगामी दिनमा लोपोन्मुख जातीको विषयमा खोज अनुसन्धान गर्न चाहने अनुसन्धानकर्ताहरुका लागि श्रोत सामाग्रीको रुपमा सहयोग पुर्याउने छ’ उनले भनिन ।

राउटे समुदायको उत्पत्ती विकास र हालको अवस्था झल्कने गरी तयार पारिएको पुस्तकमा फिरन्ते समुदायको परिचय, उनीहरुको बसोबास गर्ने भौगोलिक स्थानको परिचय, स्वास्थ्य अवस्था र प्राकृतिक उपचार, राउटेहरुले प्रयोग गर्ने सामाग्रीहरुको अध्ययन, उनीहरुको आर्थिक सामाजिक र शैक्षिक अवस्था चित्रण पुस्तकमा गरिएको छ ।

करिव चौध बर्षको लामो सामाजिक उत्थान र विकास अभियानमा लागेकी लेखिका खड्काले आफ्नो कृतिमा राउटे समुदायको परिचयसँगै लोपोन्मुख जातीको संस्कार र सँस्कृतिको अवस्थालाई समेत उल्लेख गरेकी छन् । राउटे जातीको फिरन्ते जीवनको अन्त्य गर्ने अभियानमा लागेकी लेखिकाले समाजमा यस जातीलाई कसरी रुपान्तरण गर्ने भन्नेमा आफू निरन्तर लागिरहेको बताईन ।

कृति लोकार्पण कार्यक्रममा शुभकामना व्यक्त गर्दै अग्रज पत्रकार एवं साझामेलका सम्पादक कुमार ओझाले ‘लोपोन्मुख तथा सीमान्तकृत जातजाती तथा वर्ग समुदायको उत्थान र विकासका लागि राज्यले भूमिका खेल्नु पर्ने’ वताए । उनले भने –‘पुस्तकले शुरुवात गरेको छ यसलाई पूर्णता दिँदै जानका लागि निरन्तरको प्रयासले सम्भव छ ।’ संस्थागत रुपमा लामो समयको अनुभवबाट आएको कृतिले ‘आगामी दिनमा सबै किसिमका समुदायलाई सम्बोधन गर्न सकेमा उनीहरुको आर्थिक, सामाजिक, साँस्कृतिक र शैक्षिक रुपान्तरणको विकास हुनेछ ।’

कार्यक्रममा पुस्तकको चर्चा गर्दै मदन भण्डारी एसियन स्कूलका सञ्चालक प्रमेश पोखरेलले पुस्तकलाई पूर्णता दिने क्रममा आफुले पाएका अनुभवहरुको बिषयमा समिक्षा गर्दै लोपोन्मुख जातीका विषय समेटिएको कितावले फरक अनुभूति भएको विचार व्यक्त गरे ।