‘आइएमई’माफत् विश्वभरिका नेपालीलाई जोड्ने साझा उद्यमी

  • प्रकाशित मिति : December 1, 2020
  • sajhamail.com

काठमाडौं । आर्थिक समृद्धि र विकासको बहस उत्कर्षमा छ । यही बेला निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले नयाँ नेतृत्व पाएको छ ।

प्रज्ञा प्रतिष्ठान सम्पन्न निर्वाचनको शनिबार आएको मत परिणाम अनुसार महासंघले नयाँ नेतृत्व पाएको हो । महासंघका वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् ।

यससँगै लाखौं नेपालीलाई रोजगारीको सञ्जालमा जोड्ने व्यवसायीले महासंघको आगामी अध्यक्ष बन्ने सुनिश्चितता गरेका छन् । संघर्षका अनेक गौरवमय इतिहास लेखेका ढकालको विजयीसँगै उद्योग व्यवसायको क्षेत्रमा नवीन सन्देश प्रवाह भएको छ ।

ढकालको सफलताको उचाइमा अर्को एउटा खुड्किलो थपिएको छ । नेपाल उद्योग वाणिज्य महासंघको ‘वेटिङ प्रेसिडेण्ट’ अथवा २०औं अध्यक्ष बन्ने बाटो ढकालका लागि खुलेको छ ।

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने छन् । सोही व्यवस्थाअनुसार नै भवानी राणा महासंघको निवर्तमान अध्यक्ष हुँदै गर्दा शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् ।

ढकालको व्यावसायिक यात्रा

व्यवसाय सानो वा ठूलो हुँदैन । त्यसलाई कसरी सञ्चालन गर्ने भन्ने अवधारणाले फरक पार्छ । चन्द्रप्रसाद ढकालले पनि व्यवसायमा सफलता हासिल गर्न निकै ठूलो संघर्ष गरेका छन्।

थोरै लगानीबाट शुरु भएको ढकालको व्यवसाय अहिले नेपाल र विश्वभरिका नेपालीलाई जोड्न सशक्त माध्यम् बनेको छ । अन्तर्राष्ट्रिय जगतबाट रेमिट्यान्सको पैसा नेपाल भित्र्याउन खोलिएको इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) स्थापना गरेका ढकालले उक्त कम्पनीलाई नेपाल व्यावसायिक क्षेत्रमा कोशेढुंगाका रुपमा स्थापित गरे ।

बाग्लुङदेखि काठमाडौंसम्मको यात्रा

नेपाली उद्यमशीलताका क्षत्रेमा ढकाल नयाँ होइनन् । बाग्लुङको अमलाचौरबाट काठमाडौं आएका ढकालले यो हदसम्मको सफलता हात लाग्नसक्ने हुनका लागि उनले भोगेका र व्यहोरेको संघर्षका कथा त्यति सजिला छैनन् । निकै मर्मस्पर्शी छन् उनका जीवनका अनेक कथा । देशको उद्यमशीलताका क्षेत्रका हरेक व्यक्ति उनका संघर्षका कथाहरू पढेकै हुनुपर्छ ।

अहिले ढकाल आइएमई समूह, ग्लोबल आइएमई बैंक, चन्द्रागिरि हिल्स लिमिटेडलगायतका नेपालमा परिचित कयौं यस्तै अरु व्यवसायको अध्यक्ष छन् । अरु सामाजिक संघसंस्थाको संलग्नता छ । नेपालमा बैंक तथा वित्तीय, सेवालगायत जलविद्युतका क्षेत्रमा पनि ढकालको ओझपूर्ण उपस्थिति रहेको छ ।

नेपालको व्यवसायमा बहुआयामिक क्षेत्र समेट्दै अघि बढेका उनी सबैलाई परिश्रम नै गर्न सिकाउँछन् । ‘संसारको अरु भूगोलका तुलनामा हाम्रो माटो धेरै बढी मलिलो छ, यहाँ जे रोपे पनि सुन फल्छ, तर यसले मेहनेतको अपेक्षा भने गर्छ, मत भन्छु, हामी आफैँ माटो रोपेर सुन फलाउन सक्छौँ, अन्त कतै भौँतारिनु पर्दैन,’ उनले भने ।

महासंघको नेतृत्वमा ढकाल

सफलता र मेहनतले ढकाल अब एक उद्यमी मात्र होइन कि निजी क्षेत्रलाई उद्यममैत्री नीति निर्माणका लागि देशको समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्ने साझा र छाता संस्थाको नेतृत्वमा पुगेका छन् ।

‘एउटा सानो पसलदेखि ठूला कर्पोरेट हाउसम्मको नेतृत्व गरेकाले देशका सानादेखि मझौला हुँदै ठूला व्यवसायका समस्या र आवश्यकताको बारेमा म अरुभन्दा बढी नै जानकार छु, अब मैले यिनै समस्याहरुको पैरवी गर्ने हो, मुलुकको समृद्धिका लागि राज्य र निजी क्षेत्रको सहकार्यलाई बढावा दिने हो,’ उनले भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले आफ्नो जीत नेपालका सम्पूर्ण व्यवसायीको प्रतिनिधिका रुपमा भएको बताए । ‘प्यानल बनाएर निर्वाचनको मैदानमा उत्रिए पनि परिणाम घोषणासँगै अब प्यानल सकिएको छ, म सबै व्यवसायीको हकहितमा नै काम गर्ने हो,’ निर्वाचन समितिले वरिष्ठ उपाध्यक्षमा विजयी भएको घोषणा गरेपछि ढकालले भने, ‘मैले पहिला पनि भनेको थिएँ, हामीहरुको पक्षविपक्ष भनेको चुनावको दिनसम्म मात्र हो, अब महासंघको कार्यसमिति एउटै बनेको छ र त्यसले त्यो सम्पूर्ण निजी क्षेत्रको आवाजलाई मुखरितले बनाउने काम गर्ने हो ।’

महासंघको वरिष्ठ उपाध्यक्षलगायतका पदमा सर्वसम्मति हुन नसकेपछि ढकालले एउटा समूहको प्रतिनिधित्व गर्दै मैदानमा उत्रिएका थिए । देशभरका व्यवसायीले उनलाई विश्वास मात्रै गरेनन्, आगामी कार्यकालका लागि आफ्नो नेतृत्वका रुपमा चयन गरे ।

कोरोना प्रकोप र महासंघको दायित्व

कोरोना महामारीका कारण उद्योग व्यवसाय चौपट भएको छ । हजारौँको रोजीरोटी खोसिएको छ । चौतर्फी समस्याका कारण व्यवसायी पलायन हुनुपर्ने अवस्थामा छन् । यस्तो विषम् अवस्थामा निजी क्षेत्रलाई आशावादी बनाउने, उनीहरुलाई आर्थिक क्रियाकलापमा अगाडि बढाउन प्रेरित गर्ने क्षमता सीमित मानिसमा मात्रै हुन्छ ।

त्यही सीमित मानिसमध्येका एक हुन् ढकाल । धैर्यता नै सफलताको सूत्र हो भन्ने प्रेरणा उनीबाट सिक्न सकिन्छ । कोरोना प्रकोपका बेला राज्यका तीनवटा आर्थिक खम्बामध्येको एक निजी क्षेत्रले पाएको नेतृत्वसमेत आफैमा सबल छ ।
महासंघका अध्यक्ष शेखर गोल्छा र दोस्रो वरियताका ढकाल नेपालको उद्योग व्यवसाय क्षेत्रका चिनिएका नाम हुन् । त्यसैले स्वदेशी पूँजीको विस्तार र मुलुकमा उद्यमशीलताको विकासका लागि अहिलेको संकटले यही सबल नेतृत्व रोज्यो भन्न सकिन्छ ।

ढकालको उद्यमशीलताको यात्रा धेरै पुरानो छैन, करिब साढे दुई दशकको मात्र हो । छोटो समयमा देशको उद्यम, व्यवसायमा प्राप्त भएको यो सफलताको रहस्य के हो ? उनको विगत जान्नेहरूले नै र पछिल्ला केही वर्षहरुमा देशका सञ्चारमाध्यमहरुले सोध्ने प्रश्न हो यो । उनको सदैव स्वाभाविक उत्तर रहने गर्छ– लगाव, इमान्दारिता र परिश्रम । ‘मेरो सफलताको सबैभन्दा दरिलो टेको भनेको लगाव र परिश्रम नै हो,’ उनले भने ।

महासंघको इतिहास

नेपालमा राणाशासनको अन्त्यपछि स्थापना भएको प्रजातन्त्रको सुनौलो घाममा वाणिक मण्डलको नाममा आजको महासंघको भ्रुण पैदा भएको थियो । विसं २००८÷०९ तिर स्थापना भएको अखिल नेपाल व्यापार संघले पनि व्यापारीको हितका लागि काम गरेको थियो ।

यस्तै २००९ सालमा नेपाल चेम्बर अफ कमर्श स्थापना भयो । महासंघको तदर्थ समितिका रुपमा २०२२ सालमा लोकनाथ जोशीले नेतृत्व गरेर महासंघ स्थापना भएको थियो ।

जोशी संयोजक भएकाले महासंघको अध्यक्षको जिम्मेवारी जुद्धबहादुर श्रेष्ठबाट गणना हुने गरेको छ ।

हालसम्म निजी क्षेत्रको यस छाता संगठनमा १८ जनाले नेतृत्व गरिसकेका छन् । महासंघको अध्यक्षबाट बिदाई भएकी भवानी राणा यो संस्थाको नेतृत्व गर्ने पहिलो महिला हुन् । वरिष्ठ उपाध्यक्षको हैसियतले १९औं नेतृत्वका रुपमा शेखर गोल्छाले जिम्मेवारी लिएका हुन् । ढकालले महासंघको २०औं अध्यक्षका रुपमा आफ्नो जिम्मेवारी सम्हाल्ने छन् ।

‘एफएनसिसिआई भिजन २०२५’ एजेण्डा

निर्वाचन प्रचारका क्रममा ढकाल र उनको समूहले सार्वजनिक गरेको ‘एफएनसिसिआई भिजन, २०२५’ आफैमा नेपालको आर्थिक समृद्धि र विकासका लागिसमेत रणनीतिपत्र जस्तै रहेको छ । कोरोना महामारीका कारण समस्यामा परेको व्यवसायलाई कसरी अगाडि बढाउनेदेखि सरकारसँग मिलेर के कस्ता काम कसरी गर्ने भन्ने बारेमा समेत उक्त भिजनले स्पष्ट खाका कोरेको छ ।

नेपालमा उद्योगमैत्री वातावरणको निर्माण, व्यवसायीका हकहितका विषयवस्तु, नीति निर्माणमा गरिने पैरवी, हालको कोभिड महामारीका कारण नेपालको उद्योग व्यवसाय क्षेत्रले भाग्नुपरेका समस्या र त्यसको समाधान, नेपालमा उद्यमशीलताको विकास तथा विस्तारको वातावरण निर्माण, नेपालमा वैदेशिक लगानी भित्र्याउन गर्नुपर्ने कामलाई २५ बुँदामा समेटिएको छ ।

ढकालले एउटा बालकका रुपमा आफ्नो बुवाको माया र सुखद् भविष्यको सपना चाहिँ देख्न नसकेको घटनालाई जस्तै हतारमा पनि भुल्दैनन् । बुबाले छोडेर गएपछि १६ वर्षको एक किशोरको काँधमा आइलागेको परिवारको जिम्मेवारीले पनि उनलाई भविष्यप्रति बढी जिम्मेवार हुन सिकाएको होला ।

‘त्यो उमेरमा मेरा आँखा अगाडि एउटैमात्र सपना आएको हो, जस्तोसुकै मूल्यमा पनि अब आमा र भाई बहिनीलाई दुःखबाट टाढा राख्नुपर्छ, जीवनमा केही गर्नुपर्छ,’ उनले भने ।

कसरी शुरु भयो आइएमई ?

सरकारले सन् २००१ मा रोजगारीका लागि मलेसिया खुला ग¥यो । धेरै नेपाली गए । त्यसबेला नेपालमा पैसा भित्रिने कुनै कानुनी प्रावधान थिएन । नेपाल राष्ट्र बैंक पनि अनौपचारिक माध्यमबाट रकम आउने क्रम बढेसँगै चिन्तामा थियो ।

‘यही समस्याको हलका लागि हामीले हाम्रो अनुभवलाई टेकेर इन्टरनेशनल मनी एक्सप्रेस (आइएमई) खोल्ने प्रस्ताव राष्ट्र बैंकसँग गर्यौं, जुन सफल पनि भयो, त्यही आइएमई अहिले नेपालको मनी ट्रान्सफरको पर्यायबाची हो भन्दा फरक पर्दैन, अहिले मानिस पैसा पठाउन कुनै बैंकमा या अन्य मनी ट्रान्सफर कम्पनीमा पुगेका भए पनि आइएमई गरिदिनुस् भन्ने गरेको सुनिन्छ, सफलता भनेका यस्तै यस्तै काम त होलान्, जे होस यो पनि मुलुकका लागि केही गर्यौं भन्ने मेरो आफ्नो अनुभव छ,’ ढकालले भने ।

आइएमई स्थापना गर्दा यो अवस्थामा पुग्छौँ भन्ने चाहिँ लागेको थिएन छ ढकाललाई । ‘शुरुआती दिनहरुमा हामीले आइएमई खोलेका छौँ, तपाइहरुको रकम सुरक्षित रुपमा घरपरिवारसम्म पु¥याइदिन्छौँ भन्दा मानिसहरु पत्याउन पनि तयार भएनन्, तर हाम्रो इमान्दारिताले विस्तारै हामीलाई यहाँसम्म ल्यायो,’ उनले भने ।

अहिले आइएमई नेपालको विप्रेषण क्षेत्रको पर्याय मात्र होइन नेपालको व्यावसायिक क्षेत्रको एक उदीयमान समूह पनि हो । आर्थिक वर्ष २०७६÷७७ मा नेपाल भित्रिएको झण्डै ९ खर्ब रुपैयाँ विप्रेषण मध्येको ठूलो हिस्सा आइएमईमार्फत् नै आएको उनले बताए ।

रेमिट्यान्स, बैंक तथा वित्तीय संस्था, इन्स्युरेन्स, अटोमोबाइल, ऊर्जा, पर्यटन, विद्युतीय भुक्तानी, ट्राभल, सूचना–प्रविधि, केबलकार र हस्पिट्यालिटीलगायत विभिन्न व्यावसायिक क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ । यी सबैको जगको ढुङ्गा आइएमई नै भएको ढकालले बताएका छन् ।

ढकाल दाजुभाइको सिर्जनामा स्थापित चन्द्रागिरि केबलकार छोटो समयमै राष्ट्रिय सम्पत्ति बनेको छ । वि.सं. २०७३ बाट सञ्चालनमा आएको चन्द्रागिरि केबलकार नेपाल भ्रमणमा आएका राष्ट्रप्रमुख तथा सरकार प्रमुखलाई रिट्रिट गराउनेदेखि लिएर महत्त्वपूर्ण कार्यक्रम नै सञ्चालन गर्ने एउटा उत्तम विकल्प बनेको छ । मंसिर १७ गतेदेखि सोही कम्पनीले नेपाली नागरिकलाई समेत शेयरधनी बनाउन लागेको छ ।

वास्तविक क्षेत्रलाई समेत शेयर बजारमा ल्याउने लक्ष्यका साथ सरकारले अगाडि बढाएको नीतिअनुसार नै चन्द्रागिरि हिल्स लिमिटेडले साधारण शेयर बिक्री गर्न लागेको हो । कम्पनीले सर्वसाधारण र स्थानीयवासीलाई गरी कूल १८ लाख ४० हजार ९१० कित्ता सेयर बिक्री गर्नेछ । नेपाल धितोपत्र बोर्डबाट कम्पनीले रु १८ करोड ४० लाख बराबरको साधारण शेयर बिक्रीका लागि अनुमति पाएको छ ।