नेपाल उद्योग वाणिज्य महासंघकाे प्रदेश स्तरिय निर्वाचनमा नयाँ-नयाँ नेतृत्व

  • प्रकाशित मिति : December 29, 2020
  • sajhamail.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तरगतको विभिन्न प्रदेशको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको छ । महासंघ वागमती प्रदेशको निर्वाचनमा सर्वसम्मत नेतृत्व चयन भएको छ । निर्वाचनमा अध्यक्ष पदमा दिलसुन्दर श्रेष्ठ सर्वसम्मतरुपले निर्विरोध चयन भएका छन् ।

निर्वाचन समितिका अनुसार प्रदेशको चौथो प्रदेशसभाबाट कार्यकारिणी समितिका पदाधिकारी एवं सदस्यहरुको लागि भएको निर्वाचनमा उद्योग बाणिज्य क्षेत्रको उपाध्यक्षमा सविन श्रेष्ठ, बस्तुगत–एशोसिएट क्षेत्रको उपाध्यक्षमा दुर्गाराज श्रेष्ठ निर्विरोध निर्वाचित भए ।

यस्तै कोषाध्यक्ष पदमा गुणराज श्रेष्ठ सर्वसम्मत चयन भए । यसैगरी कार्यकारिणी समिति सदस्यहरुमा श्याम थापा, कैलास पलाञ्चोके, शिव प्रसाद मानन्धर, जीवनकाजी माकजु श्रेष्ठ, हेमराज रिमाल र निर्वाचित भएका छन् । बस्तुगत क्षेत्रका कार्यकारिणी समिति सदस्यमा विरेन्द्रनाथ भट्टराई, एशोसिएट क्षेत्रका कार्यकारिणी समिति सदस्यमा प्रदीपमान प्रधान चयन भएका छन् । मनोनित सदस्यामा प्रतिमा भट्ट निर्वाचित भइन ।

यसअघि प्रदेश अध्यक्षमा सुदर्शन कार्की र दिलसुन्दर श्रेष्ठबीच प्रतिस्पर्धा हुने भनिएपनि कार्कीले श्रेष्ठलाई समर्थन गरेपछि अध्यक्ष पदमा श्रेष्ठ निर्विरोध चयन भए । श्रेष्ठ धुलिखेल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा महासंघका पूर्व केन्द्रिय सदस्य हुन् ।

यसैगरी वागमती प्रदेशको वस्तुतग तथा एशोसिएट्स उपाध्यक्षमा प्रकाश तिवारी र दुर्गाराज श्रेष्ठले उम्मेदवारी घोषणा गरेपनि तिवारीले श्रेष्ठलाई उपाध्यक्षका लागि बाटो खुला गरिदिए र सहमतिमा निर्विरोध चयन गर्न सघाएका हुन् ।

महासंघको साधारणसभावाट सूदुरपश्चिम प्रदेशबाट शंकर बोगटीको प्यानलनै निर्विरोध निर्वाचित भएका छन् । यसअघि पनि सूदुरपश्चिम प्रदेशको अध्यक्ष रहेका बोगटी पुनः निर्विरोध निर्वाचित भएका हुन् । सूदुरपश्चिमका सफल युवा उद्यमी शंकर बोगटीको विपक्षमा उम्मेदवारी नभएपछि निर्विरोध निर्वाचित भएका हुन् ।

यसैगरी गण्डकी प्रदेशमा सम्पन्न निर्वाचनमा संजिव कोइराला निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिद्वन्द्वी हरिओम शर्मा लामिछानेलाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका हुन् ।

गण्डकी प्रदेशका १६ जिल्लामध्ये १५ ओटा जिल्लाले मतदान गरेका थिए । जसमध्ये कोइरालाको पक्षमा ९ मत खसेको थियो । यसैगरी बस्तुगत सदस्यमा ३ मा ३ नै मत पाएका थिए भने एशोसिएट्सतर्फको ३५ मतमध्ये २८ मत प्राप्त गरेका थिए ।

कुल मतभारमध्ये कोइरालाले ५४ र प्रतिशत शर्माले २६ प्रतिशत मत प्राप्त गरेका थिए । गण्डकी प्रदेशमा उपाध्यक्ष लगायतका प्यानलनै कोइराला पक्षमा उम्मेदवार निर्विरोध निर्वाचित भएपनि अध्यक्ष पदमा भने निर्वाचन भएको थियो ।