९ महिनापछि खुल्यो पशुपतिनाथ

  • प्रकाशित मिति : December 16, 2020
  • sajhamail.com

काठमाडौं-नौ महिनासम्म बन्द रहेको पशुपतिनाथ मन्दिर  (बुधबार) देखि खुलेको छ । मन्दिरको ढोका खुलेसँगै बिहानैदेखि पशुपति क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ ।

मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमासहित विशेष पूजा गरेकी थिइन् । त्यस अवसरमा पशुपतिनाथ मूल मन्दिरमा कोषका तर्फबाट विशेष पूजासहित सवा लाख दीप प्रज्वलन समेत गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा.मिलनकुमार थापाले जानकारी दिए ।

आजदेखि मन्दिरको पश्चिम ढोकाबाट भक्तजनलाई प्रवेश गराई दर्शनपछि पश्चिम ढोकाबाट नै बाहिर निस्कने व्यवस्था गरिएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्यरुपमा मास्क लगाउनुपर्ने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरी भक्तजनलाई दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्थापन पक्षले छ । मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु हुने छैन ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिने थापाले बताए । विभिन्न संस्थाले लामो समयदेखि पशुपतिनाथ मन्दिर खोल्नुपर्ने माग गर्दै आएका थिए ।

चैतदेखि पशुपतिनाथ मन्दिर बन्द हुँदा कोषलाई करीब ७० करोड घाटा लागेको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी दिए ।