आज नेकपा स्थायी कमिटी बैठक

  • प्रकाशित मिति : December 6, 2020
  • sajhamail.com

नेपाल ज्योति-दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय वैठक असफल भएसँगै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद झन पेचिलो बन्दै गएको छ ।

अल्पमतमा रहेका नेकपा अध्यक्ष एवम प्रधानमन्त्री केपी शर्मा ओलीको अनिच्छाकाबीच आज (आइतबार) नेकपाको स्थायी कमिटी बैठक बस्दैछ । आज दिउँसो १ बजे धुम्बराहीमा स्थायी कमिटी बैठक बस्ने छ ।

नेकपाको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि पार्टीभित्रको विवाद स्थायी कमिटीमा लैजाने निर्णय भएको छ । हिजो बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी कमिटीलाई दिएको हो ।

पूर्व निर्धारित कार्यतालिकाअनुसार आजका लागि तय भएको स्थायी कमिटी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने पार्टी केन्द्रीय सचिवालयले निर्णय गरेको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

स्थायी कमिटीमा दुई अध्यक्षको प्रस्ताव लैजाने कुरामा असहमति जनाइरहेका अध्यक्ष ओली आजको वैठकमा आउने–नआउने भने अनिश्चित रहेको छ । वहुमतको भरमा जब्बरजस्ती प्रस्ताव स्थायी कमिटीमा लगिएको भन्दै ओलीले हिजो शनिबारको सचिवालय वैठकमै असन्तुष्टि व्यक्त गरेका छन् । जसका कारण आजको स्थायी कमिटी वैठकमा ओली उपस्थित हुने नहुने अहिलेसम्म अन्योल नै रहेको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पार्टीको समस्याका विषयमा छलफल भए पनि निष्कर्ष ननिस्किएपछि केन्द्रीय सचिवालयमा दुई अध्यक्षद्वारा अलगअलग प्रस्तुत आरोप प्रत्यारोपका पत्रहरु स्थायी कमिटीमा बुझाइने र सोही बैठकले विवादको निरुपण हुने बताउँछन् ।

स्थायी कमिटी बैठकको बीचमा पनि सचिवालय बैठक बस्न सक्ने र नेताहरुबीच अनौपचारिक भेटघाट भइरहने प्रवक्ता श्रेष्ठको भनाइ छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली तथा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच लामो अन्तरपछि हिजो भएको आधा घण्टा लामो एक्ला–एक्लै छलफलपछि सचिवालय बैठक बसेको हो ।

गत कात्तिक २८ गतेको बैठकमा प्रचण्डले ओलीमाथि दर्जनौं प्रश्न गर्दै फरक प्रस्ताव ल्याएका थिए भने त्यसको काउन्टरमा ओलीले पनि मंसिर १३ गतेको बैठकमा छुट्टै प्रस्ताव ल्याएपछि नेकपाभित्रको विवाद थप चर्किएको हो ।

प्रधानमन्त्री ओली निकट एक स्थायी समिति सदस्यले प्रतिवेदनलाई बहुमतीय प्रक्रियामा लैजाने प्रयत्नले सहमतीय प्रणालीलाई भंग गरेको बताएका छन् ।

‘सचिवालय बैठकमा विवादमै रहेको विषयलाई तल्लो समितिमा लैजान बहुमतको साहारा लिइएको छ,’ ती नेताले भने, ‘अब स्थायी समितिमा पनि अल्पमत बहुमत भएर अझै तल्लो कमिटीमा जाने अवस्था आए त्यसले गम्भीर बाटोतिर लैजाने खतरा छ ।’

कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालनिकट नेताहरु भने स्थायी कमिटीले एउटा निकास दिने सम्भावना रहेको दाबी गर्छन् । ‘यसअघि दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि प्रधानमन्त्री ओली अहिलेको भन्दा बढी दबाबमा थिए,’ प्रचण्ड–नेपाल निकट ती स्थायी कमिटी सदस्यले भने, ‘त्यसबेला उनलाई हटाउन सक्ने थुप्रै आधार थिए तर, स्थायी कमिटीले नै उनको पार्टी अध्यक्ष र प्रधानमन्त्री दुबै पद सुरक्षित गरेर विवाद मिलाएको थियो ।