६ बर्षिया बालिका बलात्कार पछि हत्या,स्थानिय आक्रोशित स्थिती नियन्त्रण बाहिर (भिडियो सहित)

  • प्रकाशित मिति : November 24, 2020
  • sajhamail.com

नेपाल ज्योति- महोत्तरीको बर्दिबास नगरपालिकामा ६ वर्षीया बालिकालाई बलात्कार गरेर हत्या गरेको आरोपमा पक्राउ परेका अरुणकुमार साह यसअघि पनि हत्या आरोपमा पक्राउ परेर छुटेको रहस्य खुलेको छ ।

महोत्तरीको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक प्रकाश रेग्मीका अनुसार उनी यसअघि पनि हत्या आरोपमा पक्राउ परेका तर अदालतको आदेशबाट धरौटीमा रिहा भएका थिए ।

त्यतिबेला पनि हत्या आरोपमा साहलाई पक्राउ गरेर कर्तव्य ज्यान मुद्दा नै चलाइएको उनले बताए । ‘तर थुनछेक आदेशको क्रममा महोत्तरी जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएका कारण उनी रिहा भएका थिए,’ रेग्मीले भने, ‘अदालतको आदेशविरुद्ध उच्च अदालत जनकपुरमा पुनरावेदन समेत गरिएको छ तर आदेश भने आइसकेको छैन ।’


अरुणको मूलघर महोत्तरीको गौशाला नगरपालिका–५ मा छ भने अर्को घर बर्दिबास नगरपालिका–१४ मा छ । बर्दिबासको घरमा उनले पसल थापेर व्यापार गर्दै आएका थिए । बर्दिबासका स्थानीय सहिद आलमकी ६ वर्षीया छोरी गुलाब साह खातून मंसिर ७ गते साँझदेखि हराएकी थिइन् । पसलमा ‘चक्लेट’ किन्न गएकी बालिकालाई अरुणले अपहरण गरेर राखेका थिए । साँझ परेपछि बलात्कार गरेर हत्या गरी पोकामा राखेर फालेर आफ्नो गाउँ गौशाला गएका थिए ।

इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी नायव उपरीक्षक राजन चापागाईंका अनुसार पक्राउ परेका अरुणले आरोप स्वीकार गरिसकेका छन् । बालिका हत्याको विरोध गर्दै स्थानीयले बर्दिबासस्थित राजमार्गमा टायर जलाएर विरोध प्रदर्शन गर्नुका साथै आरोपी अरुणको बर्दिबासस्थित घरमा आगो समेत लगाएका छन् ।