यात्राः कोदाको रोटीदेखि पाँचतारे होटलसम्मको….

  • प्रकाशित मिति : November 20, 2020
  • sajhamail.com

बुद्दिमान ढुंगाना-ओखलढुंगा/लिखु

अनौठो छ मानिसको जिन्दगी । कहिले दुःख कहिले सुख । बुढेसकालमा रेखदेख गर्लान् र पाल्लान् भनेर रहरले जन्माएका छोराहरूको यथार्थ । सहरमा छिरेको बेला अरूको घरमा काम गर्ने कान्छो, ज्यामी त कहिले अफिसको ढल सोहोर्ने कामदार त कहिले प्रतिष्ठित व्यापारीको सहायक हुँदै व्यापारी कोही स्कुल कलेजमा शिक्षक त कोही उच्च ओहदाको कर्मचारी साथै कहिले समाजसेवीको भूमिकाको पात्र, यस्तै यस्तै छ कतिको कथा, व्यथा । यस्तै वास्तविक यात्राको प्रसङ्गलाई यहाँ उजागर गरिएको छ, जसको मुख्य पात्र तपाईं आफैं वा कोही आफन्त हुन सक्छ । नेपालका विकट गाउँमा जन्मिएका केही पात्रहरूको कथा हो यो । यस्ता कथा धेरैका हुनसक्छन् ।

गाउँको विकटता र परिवेश अनि सामन्तहरूको घेराबन्दीमा रहेको त्यो सानो झुपडी । अन्याय र अत्याचारले सीमा नाघेको त्यो समय । सामान्य परिवार, उही त हो– जुत्ता चप्पलको त कुरै छोडौं, बस्ने खोस्टा वा परालको पिरा बोकेर एकसरो कमिज मात्रै लगाएर विद्यालय जानु नै सभ्यता थियो गाउँघरमा । बाटोमा कतै थोत्रे मोजा भेटियोभने त्यसभित्र थाङ्ना पोको पारेर भकुण्डो खेल्दै उकालो ओरालो गर्दाका दिनहरु अस्ति झैं लाग्छ । एउटै लामो कोठाभित्र सबै कक्षाका विद्यार्थीलाई राखेर पढाएको सम्झिँदा हाँसो आउँछ । स्कुल जाँदा बाटोमा भोगटे, आरुबखडा, काँक्रो चोरेर खाँदाको मज्जा अर्कै थियो । माटोको घैँटामा निकै परदेखि पानी ल्याएर गोबर र रातो माटोले कक्षाकोठा लिपेका कुरा अहिले त कथा भैसके ।

बिहानी मिर्मिरेमा कोदाको रोटीमा तिलको धुलो अचार चोपेर तातो दूध सुरुप्प पार्दै खाँदाको स्वाद (ब्रेकफास्ट) र कट्टुको गोजीमा तातो मकै र भट्मास हालेर सिउ–सिउ गर्दै घाँस दाउरा र धानकाट्न खेत जाँदाको मज्जा नै बेग्लै हुन्थ्यो । अझ खेतबाट पराल र धानको बोरा, कुँडारबाट हिलो मलको भारी बोकेर उकालोओरालो गर्दा तिर्खाले प्यासिएको बेलामा पँधेराको पानी अँजुलिले पिउँदाको आनन्द र माने कचौरामा अमिलो मोइ (महि)को स्वाद नै अर्कै थियो । दाउराघाँस जाँदा वनको बीचमा रूखमा चढेर झ्याउरे गीत गाउँदा र बाँसुरी बजाउँदा रन्किने पहराको आवाजले तनमन नै रमाउँथ्यो । हिउँदका जुनेली रातमा खेतका आलीमा बस्दा वारिपारिका गोठहरूमा देखिने आगोको झिलिमिलीे र चिसो सिरेटोमा पनि परालका कुन्युमा एकै पोको परेर तातोसँग सुतेको अस्ति भर्खर जस्तो लाग्दछ ।

बर्खामा घुम ओढेर हिलोसँग लाप्पा खेल्दै आली लगाउँदा, बाउसे गर्दा खाल्टो खनेर रोपाहारलाई हिलोमा लडाएर गह्राको डिलमा बसेर हाँसेको सम्झँदा फर्केर फेरि गाउँमा जाऊँ जस्तो लाग्छ । दिनभरि काम गरेर साँझ घरमा आएर आमाले पकाएको अमिलो गुन्दु्रकको झोलमा कोदाको ढिँढो चोपेर खाँदाको स्वाद सम्झँदा अझै पनि हुरुक्क होइन्छ । चामलको त के कुरा, हलोकोदालो गर्दा भोकले सताएको बेला चिसो रोटी र नुनखुर्सानी छिटै ल्याए हुन्थ्यो भनेर घरिघरि खाजा ल्याउने बाटो हेरेको कुरा सम्झँदा हाँस पनि उठ्छ । साग र सिस्नोको असली स्वाद वर्तमानमा जिउन गाह्रो अनि विगतले सताएको बेला हुँदो रहेछ । दसैंतिहारमा रम्ने रमाइला पिङडाँडाहरू सहर बजारमा नदेख्दा भने कस्तोकस्तो लाग्छ तर त्यसबेलाको झझल्को आउँछ । राजधानी काठमाडौंँ त गाउँका ठूलाबडा र जागिरेहरूको मात्र गन्तव्य । सर्ट पाइन्ट, ज्याकेट र जुत्तामोजा त सपना मात्र थियो, लाहुरेहरूले मात्र लागाउँछन् भनेर बुबाले भन्नुहुन्थ्यो ।

तर यहाँको यथार्थ त अर्कै पो देखियो । समयको छलाङ, कताबाट कता पुग्यो । त्यही झुपडीका छोरा–पात्रहरु आज देशको राजधानी–सहरमा ऐसको जिन्दगी बिताइरहेका छन् । सामान्य लेखेपढेका वा उच्च अध्ययन गरेकामध्ये कोही इमान्दारिताका साथ र कोही दुई नम्बरी काम गरेर पनि आप्mनो परिवार पाल्न सक्षम छन् । महँगो बजारभाउमा पनि सुखसाथ आधुनिक ढंगले जीवन बिताउन सफल छन् । महँगो भाडा तिरेर लिएको फ्ल्याट वा आफ्नै घरमा आधुनिक सम्पूर्ण समसाधन जडित छन् । बाहिर हिंड्नका लागि सामान्यतया पनि २ लाख जाने मोटरसाइकलदेखि लाखौं पर्ने नामी गाडीहरू छन् त्यो पनि नयाँ मोडलका । गोजीमा दसौंहजार पर्ने मोबाइल फोन, बिसौं हजार पर्ने क्यामेरा, कोठामा महंगा विश्वबजारमा नाम चलेका कम्प्युटर, इन्टरनेट सेवा, महँगो म्युजिक सेट । डाइनिङ्मा बसेर कवाब तान्दै ह्विस्कीको चुस्कीमा रमाउन सफल छन् । रोटी र ढिँडोको स्वादै थाहा छैन जस्तो ।

पसिना बगाउन बिहानै उठेर मर्निङ् वाक गर्छन् । दिनभरि अति व्यस्त । साँझ नाम चलेका रेस्टुरेन्ट र कहिलेकाहीँ पाँचतारे होटलका क्यासिनोमा गएर साथीहरूसँग विदेसी रक्सीको नसामा लठ्ंिदै राति ओछ्यानमा आइपुग्छन् । उनीहरू धनाढ्य भइसकेका छन् । आफ्नो विगत्लाई बिर्सिसके । बिसौं जोर कपडा दराजभरि छन्, सुट र टाइ त सामान्य भईसक्यो । हजारभन्दा कम मूल्यको जुत्ता लगाउन लाज मान्छन् । मानौं मासिक तलब त पकेट खर्च हो । छोराछोरी, श्रीमती र सहरका साथी भाइमात्रै आफन्त हुन् उनीहरूका लागि । लाग्छ त्यो गरिबिको ज्वारभाटाले पोलेको घाउलाई सम्पन्नताको मलमले शीतलता दिने प्रयास गर्दै छन् उनीहरू ।

उता वृद्ध बाबुआमा पहाडमा छोराछोरीको यादमा बाँचिरहेका छन् । जन्मेको मूलघर स्याहार नपुगेर आधा ढलिसक्यो । घडेरीमा सिस्नो उम्रिसक्यो । पछि बनाएको सानो मतानमा बसेर सकिनसकी बुढाबुढी पैतृक सम्पत्तीको हेरचाह गर्दै छन् । बिरामी पर्दा तातो पानी दिने कोही छैनन् । ढलेको लोहोटा उठाइदिने कोही छैनन् । बाँचुन्जेल आपूmले गर्दै आएको काम गर्नै प¥यो, फेरि आफ्नो पसिना बगेको खेतबारी बाँझो राख्नु पनि त भएन । छोराहरूको इज्जतका लागि र एक कचौरा मोही खान पनि घरमा लैनो भैंसी पाल्नै प¥यो । बूढो मुख लाएर चाउरी परेको अनुहार लिएर भिरबाट वा खेतबाट घाँस बोक्दाबोक्दै आँगन परदेश भयो भन्ने बेलामा पनि सुख छैन । तैपनि आउने जानेलाई छोराहरूको सन्चो बिसन्चोको खबर ल्याओ भन्न बिर्सिदैनन् । धेरैथोरै खेतिपाती गर्न र गाईभैंसी पाल्न रातदिन–झरिबादल नभनी बुढेसकालमा सेतै फुलेको कपाल लिएर सन्तानको लागि पुख्र्यौली घरको रक्षा गरी बसेका वृद्धहरूलाई सायद लाग्छ– छोराहरू दुईचार पैसा लिएर घर आउलान् । तर बिडम्बना धेरैवटा चाडबाडहरु रित्तो हात भएका छन् । अँध्यारो मुख लगाएर छोराहरू आउने बाटो हेर्दाहेर्दैं घाम अस्ताएर झ्याउँकिरी कराएका छन् । चिसा हातगोडा अँगेनामा सेकाउँदै मधुरो टुकिबत्तीको उज्यालोमा चाउरी परेका दुई अनुहार थकाइ मार्दै ‘केटाहरू यसपालिको दसैंमा त आउलान् भन्दै दुईगाँस भात टिप्न थाल्छन् । सन्नाटा छाउँछ वारिपारि गाउँमा ।

दिनभरिको थकाइले गुन्द्रीमा लुटुक्क खास्टो ओढेर मिठो निद्रामा डुब्छन् । छोरा–बुहारी, नाति–नातीना लिएर गाउँ फर्किन्छन् । छोरा–बुहारीले आपूmलाई ढोगेर राम्रा लुगाफाटा दिएको अनि छोरी–ज्वाँइहरू सजिएर कोसेलीपात लिएर माइत आउँछन । बुढा बा–आमा रमाउँदै फुरुक्क परेर गाउँ डुल्न निस्किन्छन् तर ‘कुखुरी काँ’ को आवाजले झस्किएर निद्रा खुल्छ ।

तर सहरका पाँचतारे होटलका क्यासिनोमा ठूलो रकमको जितहार हुँदै छ, अनौठो कोलाहलका साथ रात्रि डिस्कोहरूमा छोराछोरीहरू लठ्ठ परेर चर्को संगीतमा हल्लिरहेका छन्, भाषा बुझिन्न, मधुरो उज्यालोमा सबै बेसुरमा छन् ।

तैपनि बिहानी भालेको डाँकसँगै ख्वाङ्ख्वाङ खोक्दै वृद्ध बुबा र आमाले गोठमा पिलपिल आगो सल्काइसक्नुभएको छ, आमाले भैँसीलाई खोले पकाउन डालोमा मकै लिएर जाँतो घुमाउन थाल्नु भो । बूढा बा सुर्ति सल्काएर सर्को तान्दै गुनगुनाउँदै हुनुहुन्छ– ‘मोरामोरीहरूलाई सपनामा सुकिलो लुगा लाएर आएको देखेँ, बिरामी परे की क्या हो !’

यात्राका सबै पात्र जीवित छन्, हेरौं कथाले कुन मोड लिने हो ? यात्रा जारी छ