ओलीलाई भेटेर वामदेवले भने- ‘तपाईं सच्चिए मात्रै पार्टीको समस्या समाधान हुन्छ’

  • प्रकाशित मिति : November 15, 2020
  • sajhamail.com

नेपाल ज्योति पार्टी विवाद उत्कर्षमा पुगेका बेला सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ।

बालुवाटारमा आइतबार बिहान करिब १ घण्टा भएको भेटवार्तामा पार्टी विवाद समाधानका विषयमा छलफल भएको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले जानकारी दिए।

छलफलमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई सच्चिन आग्रह गरेका छन्। ‘तपाईं सच्चिए मात्रै पार्टीमा अहिले देखिएको सबै समस्या समाधान भएर जान्छ,’ गौतमको भनाइ उधृत गर्दै सुवेदीले भने, ‘अहिले आएको राजनीतिक प्रस्ताव पनि पाँचै नेताहरुको सहमतिमा आएको हो।’

गौतमले दुई अध्यक्ष वा अन्य नेताहरुबीच सहमति भएर अहिलेको समस्या समाधान नहुने भन्दै पार्टी कमिटीका बैठकमै छलफल गरेर त्यहीबाट निकास निकाल्नुपर्ने धारणा राखेका छन्।

‘राजनीतिक प्रस्तावलाई फिर्ता लिने भन्दा पनि त्यसलाई सचिवालय बैठकमा प्रवेश गरेर गहन समीक्षा गरौं, त्यसपछि के गर्ने भन्ने निर्णय होला,’ गौतमले ओलीलाई भने।

पार्टीभित्र देखिएको विवाद समाधानका बारेमा छलफल भए पनि आज पनि ओलीले उपाध्यक्ष गौतमलाई सरकारमा सहभागी हुन आग्रह गरेका थिए।