‘महासंघलाई शक्तिशाली बनाउन सहमतिबाटै नेतृत्व’

  • प्रकाशित मिति : November 25, 2020
  • sajhamail.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको महाधिवेशनको तयारी तीव्र रुपमा चलिरहेको छ । मंसिर ११ देखि १३ गतेसम्म काठमाडौं आयोजना हुने महासंघको साधारणसभा तथा अधिवेशनबाट निजी क्षेत्रले नयाँ नेता पाउने छ ।

महासंघको परिवर्तित विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने भएकाले अहिलेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासंघको अध्यक्षको जिम्मेवारी पाउँदैछन् । र, अर्को कार्यकालका लागि अध्यक्षको छिनोफानो यही साधारणसभा तथा अधिवेशनले गर्ने छ ।

वरिष्ठ उपाध्यक्ष पदमा हुने निर्वाचनमा महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् । महासंघको साधारणसभा तथा अधिवेशनमा निर्वाचन गराउनु पर्ने अवस्था नआओस् भनेर सहमतिका प्रयासहरू पनि भइरहेका छन् ।

तर, उपाध्यक्ष ढकाल र प्रधानले प्यानलै बनाएर चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन् । महासंघकी अध्यक्ष भवानी राणा पनि यस दौरान सहमतिमै निजी क्षेत्रको नयाँ नेता छनोट होस् भनेर संवादको प्रयासमा छिन् ।

आगामी नेतृत्वले अध्यक्षको जिम्मेवारीमा आउँदा महासंघको संस्थागत विकास र सरकारसँगको समन्वयलाई प्राथमिकता दिनुपर्ने राणाको निष्कर्ष छ । ‘महासंघको अध्यक्ष भइसकेपछि राजनीतिमा टाढा रहनुपर्छ, संयोजनकारी भूमिकामा रहनुपर्छ,’ उनले भनिन्।

महासंघको अधिवेशनमा जिल्ला, वस्तुगत र एशोसिएट्सका सदस्यहरूको मतले वरिष्ठ उपाध्यक्षको चयन हुने बताउँदै राणाले कोरोना प्रकोपका कारण अस्तव्यस्त भएको अर्थतन्त्रलाई उकास्ने गरी कार्यक्रम बनाउने पर्ने धारणा राखिन् ।

अधिवेशनले नयाँ नेतृत्व चयन गर्दैगर्दा प्रजातन्त्रिक प्रक्रिया अन्तर्गत निर्वाचन हुनु स्वाभाविक रहेको अध्यक्ष राणाको धारणा छ । ‘प्रतिस्पर्धा हुन्छ, प्रतिस्पर्धाबाटै योग्य र नयाँ नेतृत्व चयन हुन्छ,’ राणाले भनिन्, ‘परिस्थितिको विश्लेषण गरेर कतिपय अवस्थामा सहमतिमा पनि अघि बढ्नुपर्ने हुन्छ ।’

सहमतिमा अघि बढ्दा महासंघको आन्तरिक एकता बलियो हुने राणाको तर्क छ । ‘नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा धेरै पटक सहमतिमा नेतृत्व चयन गरिएको छ, समय परिस्थिति अनुसार हामीले सहमतिमा ध्यान पु¥याउनु पर्छ,’ उनले भनिन् ।

कोरोना प्रकोपले विश्व नै थलिएको अवस्थामा निर्वाचनको हारजीतभन्दा पनि एकताको सन्देश दिनुपर्नेमा राणाको जोड छ । ‘अहिले निर्वाचन गरेर हारजीत गर्नुभन्दा पनि सहमतिका साथ अघि बढ्दा राम्रो सन्देश जान्छ,’ उनले भनिन् ।

उपाध्यक्षद्वय ढकाल र प्रधान नै महासंघका लागि आवश्यक रहेको तर्क गर्दै राणाले सहमतिमा अघि बढ्न सुझाव दिएको छिन् ।
‘वरिष्ठ उपाध्यक्षमा किशोर प्रधान र चन्द्रप्रसाद ढकालले प्रतिस्पर्धा गर्ने तयारी गर्नु भएको छ,’ राणाले भनिन्, ‘दुवै जना महासंघलाई चाहिने व्यक्तिहरू हुनुहुन्छ, सकेसम्म सहमति अनुसारै अघि बढ्दा राम्रो हुने मेरो धारणा छ ।’

अध्यक्ष राणाले महासंघको नेतृत्वका लागि प्रधान र ढकाल नै सशक्त र प्रभावशाली उम्मेदवार रहेको उल्लेख गर्दै संस्थामा दुवैको स्थान सुरक्षित हुनुपर्ने धारणा राखेकी छिन् । ‘महासंघमा सहमतिको संस्कार बसाउनुपर्छ,’ उनले भनिन् ।

कोरोना प्रकोपका कारण महासंघमा आफ्नो कार्यकाल केही समय लम्बिएको तर्क गर्दै अध्यक्ष राणाले कार्यकालभरि सकेसम्म नवीनत् कार्यक्रमको प्रयास गरेको उल्लेख गरिन् । ‘महासंघलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा बलियो बनाउने गरी कार्यक्रम निर्माण गरी त्यसको कार्यान्वयन पनि गरेका छौं,’ उनले भनिन् ।

वैदेशिक लगानी भित्र्याउने तथा राष्ट्रपति, प्रधानमन्त्री तथा देश संघीयतामा गएपछि प्रदेशका मुख्यमन्त्रीहरूसँग समन्वय गरी महासंघका कार्यक्रमहरू अघि बढाइएको जानकारी राणाले दिएकी छिन् ।