‘उद्योगको विकास र विस्तारका लागि औद्योगिक प्राधिकरण स्थापना गर्नुपर्छ’

  • प्रकाशित मिति : November 25, 2020
  • sajhamail.com

२०५३ सालदेखि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा कार्यरत प्रकाश खड्का अहिले पाटन औद्यौगिक क्षेत्र व्यवस्थापन कार्यालयका कायममुकायम क्षेत्र व्यवस्थापकको जिम्मेवारीमा रहेका छन् । औद्योगिक क्षेत्रको करिव पच्चिस वर्षको लामो अनुभव संगालेका खड्का उद्योगका विकास र विस्तारका लागि औद्योगिक प्राधिकरणको स्थापना गर्नुपर्नेमा जोड दिन्छन् । प्रस्तुत छ खड्कासँग समसामयिक विषयमा साझामेलका लागि कुमार अेाझाले गरेकाे कुराकानी :

पाटन औद्योगिक क्षेत्रभित्रका उद्योगहरुको अवस्था कस्तो छ ?

–यस क्षेत्रभित्र एक सय १६ वटा उद्योगहरु छन् । चारवटा उद्योगहरु बन्द अवस्थामा रहेका छन् । कोभिड १९ का कारण असर परेका ह्याण्डिक्राफ्टसँग सम्बन्धित उद्योगहरु जसको बजार अन्तर्राष्ट्रिय बजारसँग रहने गरेको छ । पर्यटकहरु यसका प्रमुख ग्राहक उपभोक्ता नै हुन् । महाकारीका कारण असर परेका उद्योगहरु अहिले पनि सञ्चालनमा आउन सकिरहेका छैनन् ।

कोभिडले कम असर परेका उद्योगहरु पनि यहाँ छन् । जस्तो कि अक्सिजन ग्यास, पानी, डेरी उद्योगहरु लगायतलाई खासै असर पुगेन । बीचका केही उद्योगहरु प्लास्टिकजन्य, काठजन्य उद्योगहरु शुरुका अवस्थामा बन्द भए पनि विस्तारै सहजीकरण हुँदै सञ्चालनमा आएका छन् । जसरी बाहिर अन्य क्षेत्रमा परेको प्रभाव यस औद्योगिक क्षेत्रमा समेत परेको छ । अहिले त्यो अवस्थामा सुधार आउने क्रममा छ ।

यस क्षेत्रमा विविध किसिमका उत्पादनहरु हुने क्षेत्र हो । विशेषत ह्याण्डीक्राफ्ट, प्लाष्टिकजन्य, इन्जिनियरिङतर्फ स्टिल र आइरनको फेब्रिकेशन तथा टेक्सटायल उत्पादन लगायतका उद्योगहरु रहेका छन् । हामीसँग खाद्यान्नसँग सम्बन्धित उद्योगहरु सीमित मात्र छन् ।

श्रमिकवर्गको अहिलेको अवस्था कस्तो रहेको छ ?

–शुरुको लकडाउनको अवस्थामा उद्योगहरु अचानक बन्द भए, उद्योगी र श्रमिकबीचको सम्पर्क र समन्वय हुन सकेन । तर, केही समयपछि त्यस्तो अवस्थाको अन्त्य भयो । नेपाल सरकारको तत्कालको निर्णयले श्रमिकलाई ज्याला दिनुपर्छ भन्ने निर्णयलाई हामीले पनि कार्यान्वयन ग¥यौं । यस क्षेत्रभित्रका सबै किसिमका उद्योगहरुसँग समन्वय गरी श्रमिकको दैनिक जीविकोपार्जनका लागि सहजीकरण ग¥यौं । कमसेकम श्रमिकले महामारीको समयमा बाँच्न पाउनु पर्छ भन्ने हाम्रो धारणा रह्यो ।

पछिल्लो चरणमा उद्योगी र श्रमिक आफैंले पनि सुरक्षा मापदण्ड अपनाएर आलोपालो गरी कामलाई निरन्तरता दिने काम गरेका छन् । रोजगारी कटौतीको अवस्था यसक्षेत्रमा भएको छैन । यस औद्योगिक क्षेत्रभित्र श्रम ऐन नियमावलीले तोकेको सेवा शर्त सुविधा लागु गरेका छौं । कुनै पनि श्रमिकहरुले रोजगारी गुमाउनु परेको अवस्था छैन । दैनिक ज्यालादारीमा रहेका केही केही श्रमिकको अवस्थालाई ध्यान दिएर वडा कार्यालयसँगको समन्वयमा राहतका कार्यक्रमहरु समेत हामीले सञ्चालन गरी सहजता अपनाउने काम ग¥यौं ।

उत्पादनका सामग्रीहरुको बजारसम्मको पहुँच विस्तार कसरी गर्नुभएको छ ?

–यस औद्योगिक क्षेत्रबाट उत्पादित ह्याण्डिक्राफ्टका सामग्रीहरुको अन्तराष्ट्रिय बजारको हब नै हो काठमाडौं । यहाँबाट उत्पादित सामग्रीहरुको बजारको समस्या थिएन । तर, लकडाउनको समयमा पर्यटक आवागमनमा भएको समस्या लगायतले पूर्णरुपमा बन्द भएको अवस्था छ । अहिले जतिजति पर्यटनलाई असर गरेको छ त्यति नै उद्योगलाई पनि असर गरेको छ । उद्योगहरुले उत्पादन गरेका सामग्रीहरु बिक्री हुन नसकेर स्टकमा रहेको अवस्था छ । यस विषयमा समस्या समाधानका लागि नेपाल सरकार र पर्यटन मन्त्रालयसँग समन्वय भइरहेको छ ।

कच्चा पदार्थको अभाव र दक्ष श्रमिकको उपलब्धताले गर्दा ह्याण्डिक्राफ्टको उत्पादन १५÷२० प्रतिशतमा झरेको छ । अहिले माग समेत घटेको हुनाले उत्पादन समेत कम भएको हो । हरेक उद्योगले माग बढ्दै जाँदा उत्पादनलाई बृद्धि गर्दै लैजान्छन् । उद्योगहरु अहिले पर्ख र हेरको अवस्थामा रहेका छन् ।

कच्चा पदार्थको सरल उपलब्धता र कालिगढको क्षमता अभिबृद्धि गर्न के–के गर्नु जरुरी छ ?

–उद्योगको प्रकृति हेरेर गर्नुपर्ने भएकाले यसमा जटिलताहरु रहेका छन् । काष्ठकलासँग जोडिएका उद्योगका लागि कच्चा पदार्थ पाउन वन र स्थानीय सरकारसँग जोडियो । उद्योग र टेक्नोलोजी भन्ने बित्तिकै अन्य मन्त्रालयसँग जोडिएका हुन्छन् । हाम्रोमा कमजोर पक्ष भनेकै सम्बन्धित अन्तरनिकायबीचको सम्बन्ध र समन्वय एकदमै कम हुनु हो । उद्योग मन्त्रालयले उद्योगलाई फेसिलेटेड गर्ने कार्यक्रम ल्यायो भने त्यसलाई वनको नियम कानुनले अड्काइरहेको हुन्छ । अर्कोतिर अर्थमन्त्रालयको आयकर कानुनले बाधा पु¥याइरहेको हुन्छ ।

यसरी एकअर्काका ऐन नियम बाझिएकै कारण अवरोध भइरहेका हुन्छन् । जसले गर्दा हामीले चाहे जसरी अघि बढ्न सकिरहेका छैनौं । विभिन्न पक्षहरुसँगको सहजीकरण बैठक, छलफल र गोष्ठीहरु सञ्चालन गरेर सुझाव संकलन गर्ने कामहरु समेत भएका छन् । प्राप्त सुझावलाई सरकार समक्ष पेश नभएका होइनन् । सरकारी पक्षले सकारात्मक रुपमा लिएको पाइन्छ । तर, जब कार्यान्वयनको तहमा पुग्छ फेरि त्यहीँ समस्या हुन्छ ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई नेपाल सरकारको निर्देशन, नीति र हाम्रो कम्पनीको प्रारुपले भौतिक पूर्वाधार वितरण गर्ने । त्यसलाई सप्लाई गर्ने कुरामा मात्र सीमित गराइदियो । कम्पनी ऐन अन्तर्गत यो संस्थालाई राखेपछि यसको भूमिकालाई सीमित गराइएको कारण नै हाम्रो पहुँच धेरै टाँढासम्म पुग्न नसकेको हो ।

औद्योगिक क्षेत्रमा भएका उद्योगहरुको स्तर बृद्धि गर्ने कुरामा नेपाल सरकारले के–के गर्नु जरुरी छ ?

–तीन–चार वर्ष अघिदेखि यो कम्पनीलाई प्राधिकरणमा लैजाने भन्ने विषयमा छलफल चलिरहेको छ । प्राधिकरण हुने बित्तिकै यसको कार्यक्षेत्र बढ्छ । नेपाल सरकारको निकायसँग नजिक पनि हुन्छ । र, हामीले धेरै कुराहरु गर्न सक्छौं । त्यो नै एउटा प्रस्थानविन्दु हुन्छ । यो हाम्रो लामो समयको अनुभवलाई सही किसिमले सदुपयोग गर्न सक्छौं ।

उद्योगको नजिक बसेर उद्योगका समस्याहरु पहिचान गरेका छौं । जसको समाधानका लागि गरिएका प्रयासहरुलाई कार्यान्वयन तहमा पु¥याउन सकेमा मात्र पनि औद्योगिक क्षेत्रको दीगो विकास गर्न सक्छौं ।

अहिलेकै मौजुदा संस्थालाई पनि यो चाहिँ संस्था नेपाल सरकारको औद्योगिकरण गर्ने अभिन्न निकाय हो भन्ने नेपाल सरकारले बुझिदिएर हामीलाई फेसिलेटेड गर्ने अधिकार प्रत्यायोजन गर्ने, जिम्मेवारी थप गर्ने र हामीले दिएका सुझावहरुलाई उचित मूल्यांकन गरी कार्यदिशा तय गर्ने हो भने उद्योगको द्रूतरुपमा विकास हुँदै जान्छ ।

आगामी कार्यक्रमहरु के–के छन् ?

–हाम्रै कार्यक्रम भन्ने चाहिँ हुँदैन । हामीले भएका उद्योगहरुलाई सफल सञ्चालन र व्यवस्थापनलाई बढी जोड दिन्छौं । बन्द उद्योगहरु भएका खण्डमा नयाँ उद्योगहरुलाई स्थापना गर्ने विषयमा कामहरु हुन्छन् । नेपाल सरकारले बनाएका योजनाहरु, औद्योगिक क्षेत्र व्यवस्थापनले बनाएका कार्यक्रमहरुलाई लागू गर्ने काम हुन्छन् । उद्योगी व्यवसायीहरुका सुझावहरुका आधारमा कार्यक्रमहरु तय हुन्छन् । नेपाल सरकारको पूर्ण स्वामित्व भएको हुनाले औद्योगिक क्षेत्रमा खास समस्या छैनन् । सानातिना समस्या आइपरेमा आपसी छलफल र संवादबाट विवादको समाधान गर्ने गरेका छौं ।

नेपाल सरकार र उद्योगीलाई मेरो अनुरोध छ भने पछिल्लो समय कोभिड–१९ को कारणले अर्थतन्त्र ओरालो लागेको अवस्था, बेरोजगारी बढेको अवस्था छ । ठूलो संख्यामा रहेका नेपाली युवाहरुको जमातले बैदेशिक रोजगारीबाट फर्किदा केही सीप, दक्षता र पूँजी समेत भित्र्याएको हुन्छ । त्यसलाई उचित व्यवस्थापन गरी लगानीको वातावरण निर्माण गर्न सकेमा उद्योगहरुलाई नेपाली युवाको समृद्धिसँग जोड्न सकिन्छ ।

नेपाल सरकारले औद्योगिकग्रामहरुको स्थापना गर्दै नेपाली लगानीकर्ताहरुलाई प्रोत्साहन गर्नु आजको आवश्यकता हो । उद्योगीहरुले समेत लगानी गर्नु पूर्व बजारको सम्भाव्यता अध्ययन गर्ने । उत्पादन, प्रवद्र्धन र वितरणलाई व्यवस्थापन गर्ने विषयको अध्ययन गर्नु जरुरी छ । उद्योग सञ्चालनका लागि धैर्यताको जरुरी पर्दछ, यसको लागि इनोभेटिभ आइडिया महत्त्वपूर्ण हुन्छ । हामीले अब कृषिलाई पनि उद्योगसँग जोडेर उत्पादनलाई प्राथमिकता दिनु पर्दछ ।

यसरी एउटा ‘कम्प्रिहेन्सिब एप्रोज’को रुपमा अगाडि बढ्यौं भने मात्रै उद्योगको दीगो विकास सम्भावना छ । नेपालमा भएको ठूलो सम्भावलाई नगदमा रुपान्तरण गर्नका लागि नेपाल सरकार, उद्यमी, संघसंस्थाले ‘कलेक्टिभ एप्रोजले कलेक्टिभ इफोर्ट’ गर्नु प¥यो । अबको उद्योगको संरचनामा युवाको ज्ञान, सीप, जोसजाँगर समेट्न सक्यो भने नेपालमा औद्यौगिक विकासको सम्भावना प्रवल छ ।