‘अर्थतन्त्रलाई उकास्न एजेण्डासहित एफएनसिसिआई भिजन–२०२५’

  • प्रकाशित मिति : November 25, 2020
  • sajhamail.com

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ । निजी क्षेत्रको छाता संगठनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकै व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले यसलाई महाभिडन्तका रुपमा लिने गरिएको हो ।

महासंघको विधानको व्यवस्था अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालका लागि अध्यक्ष हुने गर्छन् । वरिष्ठ उपाध्यक्ष पदमा महासंघका उपाध्यक्षद्वय चन्द्रप्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दर्ता गराएका छन् ।

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले कोरोना प्रकोपका कारण थपिएको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउने गरिका एजेण्डा प्रस्तुत गरेका छन् । ‘अर्थतन्त्र जर्जर भएको छ, उद्योगी, व्यवसायीहरू गम्भीर संकटमा परेका छन्, ती सबैलाई समेटेर कार्यक्रम बनाएको छु,’ उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघ देशका सबै उद्यमी व्यवसायी तथा नेपालमा लगानी गर्ने वैदेशिक लगानीकर्ताको छाता संस्था भएकाले यसको नेतृत्वका सन्दर्भमा बहस हुनु स्वाभाविक भएको ढकालको तर्क छ ।

‘महासंघसँग सिंगो निजी क्षेत्रको प्रतिष्ठा र भविष्य जोडिएको छ, विगतका उपलब्धिको रक्षा गरेर अहिले बदलिएका चुनौती र अवसरको सदुपयोग गर्न सक्नुपर्छ,’ ढकालले भने, ‘कोभिड–१९ का कारण हामी प्रतिकूल परिस्थितिमा करिब ८ महिना ढिलो गरी साधारणसभा र निर्वाचन गर्दैछौं, यसैले कोभिड–१९ पछिको अर्थतन्त्रको पुनरुत्थान एवं महासंघलाई अझ बढी सशक्त र प्रभावकारी बनाउनका लागि म र मेरो टिमले मिसन र भिजनसहित नेतृत्वमा दावी गरेको हो ।’

‘एफएनसिसिआई भिजन–२०२५’ सार्वजनिक गरेका ढकालले यसमा भिजन, एजेन्डा र कार्ययोजना समावेश गरिएको जानकारी दिए । महासंघको संस्थागत सुधारदेखि नीतिगत पैरवी र आम व्यवसायीको संरक्षणको परिधिभित्र रहेर आर्थिक विकासमा थिंकट्यांकको भूमिका पनि निर्वाह गर्ने उनले बताए ।

‘समृद्धिको आधार, राज्य–निजी क्षेत्र साझेदार’ भन्ने मूल नारालाई सार्थक परिणाममुखी बनाउने दावी गर्दै ढकालले महासंघको नेतृत्व गर्दै समग्र व्यापार, व्यवसाय प्रवद्र्धनका लाग्ने बताए ।

‘उद्यम, व्यापार, व्यवसायसँगै हासिल गरेको शीप र अनुभवका माध्यमले नयाँ उद्यमी जन्मन सकुन्, राज्यले पनि सोही अनुभवको उपयोग गर्दै व्यवसायमैत्री नीति निर्माण गरोस् भन्ने पवित्र उद्देश्यले नै महासंघमा आबद्ध भएको हौं,’ उनले भने ।

महासंघले गर्नुपर्ने दुई कार्य

वरिष्ठ उपाध्यक्षका प्रत्यासी ढकालले व्यवसायीको हकहित तथा सुरक्षा र नीतिगत पैरवीलाई मुख्य एजेन्डा बनाएका छन् । सरकारका आर्थिक नीतिले मुलुकमा लगानीमैत्री वातावरण बनाउन सकियोस् भन्ने उद्देश्यले महासंघले नीतिगत पैरवी गर्ने उनको भनाई छ ।

‘मसँग महासंघलाई अगाडि बढाउन सक्ने भिजन छ, वस्तुगत योजना छन्, सबैलाई समेटेर लैजान सक्ने खुबी छ, नीति निर्माण तहसम्म व्यवसायीका समस्या पु¥याउन सक्ने क्षमता छ, त्यसैले नेतृत्वका लागि अघि सरेको हुँ,’ उनले भने ।

महासंघ र सरकार संघको समन्वय

उपाध्यक्ष ढकालले आगामी नेतृत्वले सरकारसँगको समन्वयलाई मुख्य प्राथमिकतामा राख्नु पर्ने बताएका छन् । सरकारको नीति, कार्यशैलीमा राम्रो भएका खण्डमा देशैभरिका उद्योगी व्यवसायीहरूले राज्यलाई फाइदा पु¥याउन सक्ने उनले बताए ।
‘राज्यले उद्योगी व्यवसायीहरूलाई अघि बढ्न प्रोत्साहन गर्नुपर्छ, राज्यप्रति निभाउनु पर्ने दायित्वमा हामी सधैं जिम्मेवार भएर पूरा गर्छौं,’ ढकालले भने ।

हरेक वर्ष सरकारले ल्याउने बजेट र मौद्रिक नीतिलाई समयसापेक्ष बनाउनका लागि महासंघले सुझाव दिँदै आएको स्मरण गर्दै ढकालले निजी क्षेत्रले आर्थिक उदारीकरण, सम्पत्तिको हकलगायत विषयमा गरेको लबिङको सुनुवाइ भएको प्रष्ट पारे ।

एफएनसिसिआई भिजन–२०२५ मा महासंघले देशका प्रबुद्ध वर्गको प्रतिनिधित्व गराएर ‘थिंकट्यांक’ बनाउने अवधारणा ढकालको छ । ‘निजी क्षेत्रमा बृहत छलफल र सहभागिता गराएर प्रभावकारी महासंघलाई रुपमा अघि बढाउने हाम्रो योजना हो,’ ढकालले भने ।

उत्पादनमूलक वा सेवामूलक क्षेत्र सक्षम बनाएर राज्यसँग सधैं माग्ने स्थितिबाट मुक्त गराउने ढकालको योजना छ । राज्यसँग इच्छाशक्ति र निजी क्षेत्रसँगको सहकार्यबाटै राष्ट्र अघि बढ्ने बताउँदै उपाध्यक्ष ढकालले यसरी अघि बढेमा कोरोना प्रकोपबाट सिर्जना भएको संकटबाट मुलुकले सहजै मुक्ति पाउने दावी गरे ।

आर्थिक प्याकेज आउनुपर्छः ढकाल

उपाध्यक्ष ढकालले अर्थतन्त्रको पुनःउत्थानका लागि सरकारले आर्थिक प्याकेज ल्याउनु पर्ने बताएका छन् । यसो गर्दा उद्योगी, व्यवसायीलाई मनोवैज्ञानिक रुपमा सरकारको साथ रहेको सन्देश प्रवाह हुने उल्लेख गरे ।

महासंघले कोरोना प्रकोपले बन्द भएका हजारौं साना, मझौला उद्यमीको व्यवसाय सुचारु गर्ने र रोजगारी गुमाएकाहरूलाई राहत र रोजगारी दिनेसहितको योजना ढकालले बताएका छन् । ‘अर्थतन्त्रलाई गति दिन वित्तीय सहयोगदेखि बजारीकरणको प्याकेजका कार्यक्रम सरकारलाई प्रस्ताव गर्ने छौं,’ उनले भने ।