‘आर्थिक रुपान्तरण र उद्योगी व्यवसायीलाई केन्द्रमा राखेर योजना बनाएका छौं’

  • प्रकाशित मिति : November 25, 2020
  • sajhamail.com

नेपाली उद्योगी व्यवसायीहरूको हक र अधिकारका पक्षमा निरन्तर लडाइँ लड्दै आएका व्यवसायी हुन् प्रकाशसिंह कार्की । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा उमेशलाल श्रेष्ठ समूहबाट वस्तुगत कार्यसमिति सदस्यमा उम्मेदवारी दिएका कार्कीले वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाललाई समर्थन गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर ११ देखि १३ गतेसम्म काठमाडौंमा साधारणसभा तथा अधिवेशन हुँदैछ । महासंघको वस्तुगत कार्यसमिति सदस्यमा उम्मेदवार दिएका कार्कीका आगामी एजेण्डाका सन्दर्भमा साझामेलले गरेको संवादः

चुनाव प्रचारप्रसार कसरी गर्दै हुनुहुन्छ ?

–नेपाल उद्योग वाणिज्य महासंघ सबै उद्योगी व्यवसायीको साझा संस्था हो । निजी क्षेत्रको छाता संगठनको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएकै व्यक्ति अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले पनि यो अधिवेशनलाई महत्त्वका साथ लिइएको छ । म पनि एउटा जिम्मेवारीमा उठ्दै छु । चुनाव प्रचारप्रसार चलिरहेको छ । कोरोना प्रकोपका कारण पहिले र अहिलेको चुनावी अभियानमा धेरै फरक आएको मैले पाएको छु ।

कोरोना महामारीका कारण अहिले मान्छेलाई घरमै गएर भेट्ने अवस्था छैन । फोनमा कुरा भइरहेको छ । एसएमसमार्फत् साथीहरूलाई मेरो उम्मेदवारीका सन्दर्भमा जानकारी गराइरहेको छु । हाम्रो एजेण्डाहरूलाई मतदाता साथीहरूसम्म पु¥याउने प्रयत्नमा निरन्तर लागिरहेका छौं । अधिवेशन केही दिन मात्रै बाँकी रहेकाले पनि हामीले हाम्रो एजेण्डालाई व्यवसायी साथीहरूमाँझ पु¥याउने जमर्को तीव्रतर रुपमा गरिरहेका छौं ।

मतदाताको प्रतित्रिया के छ ?
–मतदाता साथीहरूले हाम्रा एजेण्डामा मन पराउनु भएको छ । कोरोना प्रकोपबाट थलिएको आर्थिक अवस्थालाई सुधार गर्न पनि हाम्रो टिमले जित्नुपर्छ भन्ने प्रक्रिया मतदाताबाट आएको छ ।

कोभिड–१९ को महामारीपछि व्यावसायिक उत्थानका सन्दर्भमा धेरै कामहरू गर्नुपर्ने भएकाले अब नेतृत्वमा आउनका लागि तपाईको प्यानलले के–कस्ता योजना अघि सारेको छ ?

–म वर्तमान उपाध्यक्ष तथा वरिष्ठ उपाध्यक्षका प्रत्यासी चन्द्रप्रसाद ढकालको प्यानलबाट उठ्दै छु । महासंघलाई अहिले सक्षम नेतृत्व चाहिएको छ । कोरोना प्रकोपले हाम्रो अर्थतन्त्र नै धराशायी अवस्थामा छ । यसलाई पनि माथि लैजाने तबरबाट जानसक्ने नेतृत्व नेपाल उद्योग वाणिज्य संघमा चाहिन्छ ।

सरकारलाई पनि साथमा लिएर जाने, समन्वय र सहकार्य गर्न सक्ने नेतृत्व महासंघलाई आवश्यक परेको छ । यदि त्यसो भएमा निजी क्षेत्रले सुविधा लिनसक्ने र सरकारलाई दिन सक्ने अवस्था बन्छ । त्यही पक्षलाई व्यवस्थापन गर्न सक्ने नेतृत्व महासंघलाई चाहिएको छ । यसरी हेर्दा, निजी क्षेत्रलाई बुझ्नु भएका र भिजन भएका व्यवसायी चन्द्रप्रसाद ढकाल अब महासंघको नेतृत्वमा आउनुपर्छ । उहाँको टिममा सबै सक्षम उम्मेदवार रहनेको कुरा पनि म प्रष्ट पार्न चाहन्छु ।

महासंघले सरकारसँग समन्वयको कुरा मात्रै गर्छ । उद्योगी व्यवसायीको एजेण्डा उठाउनै सक्दैन भन्ने आरोप लाग्छ । तपाईको टिमले यस विषयमा कस्तो कार्यदिशा तय गरेको छ ?

–नेपाल उद्योग वाणिज्य महासंघलाई चलायमान गराइराख्न र गति दिन पनि चन्द्रप्रसाद ढकालको टिमले जित्नुपर्छ । हो, सरकारसँग अपेक्षा बढी र काम कम भएकै हो । तर, अब त्यस्तो हुँदैन । उद्योगी व्यवसायीको हरेक सवालमा सरकारलाई जिम्मेवार बनाउन नै हामीले आवश्यक रणनीति बनाएका हौं ।

उद्योगी व्यवसायीको हित गर्ने सन्दर्भमा के छन् एजेण्डा ?

–व्यवसाय गर्न देशमा शान्ति सुरक्षा चाहिन्छ । लगानीको सुरक्षा हुनुपर्छ । यसका लागि सबैलाई समेटेर अघि बढाउन र सरकारसँग पनि समन्वय गर्न सक्ने गरी हाम्रा कार्यक्रम बनेका छन् । महासंघमा जितेपछि सबैलाई मिलाएर लानसक्ने किसिमको क्षमता भएको मान्छे पनि चन्द्रप्रसाद ढकाल नै हुनुहुन्छ । र, उहाँको टिम पनि सशक्त छ । हामी चुनाव पनि जित्छौं । तर, यो प्यानल १३ गतेसम्म मात्रै हुन्छ । त्यस पश्चात हामीले सबैलाई मिलाएर लैजानुपर्छ ।

हामीसँग त्यसैअनुसारको क्षमता पनि हुनुपर्छ । र, अघि बढ्नु पनि पर्छ । सरकारसँग समन्वय गर्दै निजी क्षेत्र एकताबद्ध बनाएर लैजानसक्ने टिम हाम्रो नै हो । आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रमा परेको कोरोना प्रकोपको असरलाई न्यूनिकरण गर्न र दीर्घकालीन रणनीति बनाएर अघि बढ्न हामी प्रतिवद्ध छौं ।