सड्दै पुराना रिल

  • प्रकाशित मिति : November 28, 2020
  • sajhamail.com

नेपाल ज्योति-बालाजु औद्योगिक क्षेत्रमा रहेको नेपाल फिल्म विकास कम्पनी (एनएफडिसी) मा राखिएको पुरानो फिल्मको रिलको संरक्षण हुन सकेको छैन। सुरक्षित रूपमा बक्समा राखिएका पुराना रिल २०७२ सालको भूकम्पछि फुटेर टुटेर बिग्रिएको अवस्थामा छन्।

चलचित्र विकास कम्पनीका संरक्षक रोम भट्टराई कलाकारहरूलाई रिल लैजान भने पनि कुनै सुनुवाई नहुँदा ती सामाग्री बिग्रदै गएको र राम्रा रिल पनि बिग्रन सक्ने अवस्थामा पुगेको बताउँछन्। ‘रिल राख्नका लागि चाहिने निश्चित तापक्रम भएको कोठाको व्यवस्था छैन्’, भट्टराईले भने, ‘त्यसको व्यवस्था नगर्दा पानी र चिसोका कारण धेरै रिल बिग्रिएकाले फेरि प्रिन्ट गर्ने अवस्थामा छैनन्।’

उनले निर्माता तथा निर्देशकहरूले आ–आफ्नो फिल्मको रिल जिम्मा लिएर त्यसको उचित व्यवस्थापन नगर्दा सबै रिल काम नलाग्नेमा पुगेको जनाए। ‘अहिले रिल कस्तो अवस्थामा छन् भनेर हेर्न मिल्दैन। तर भूकम्पले गर्दा केही बक्सहरू तहसनहस भएका छन्। जसकारण रिल बिग्रने अवस्थामा पुगेका हुन्’, उनले खुलाए।

 

निर्मातालाई बोलाएर आ–आफ्नो रिलको जिम्मा लगाउने र त्यहाँ बाँकी रिल सुरक्षित राख्ने काम कम्पनीको हो, बोर्डको होइन।

गोपीकृष्ण हलका तीर्थ पौडेलले बालाजु चलचित्र विकास कम्पनीमा राखिएका पुराना रिलहरू कुनै सुरक्षित नै रहेको र धेरै पुराना रिलहरू आफैं बिग्रने अवस्थामा रहेकाले पुराना रिलहरूको संरक्षण गर्नुपर्ने दायित्व कम्पनीको भएको बताए। ‘पुराना फिल्म देशकै सम्पत्ति हुन्। चलचित्र विकास कम्पनीलाई आफूले निर्मातासँग लिन बाँकी रहेको सबै हिसाबसमेत यकिन छ’, उनले भने, ‘निर्मातालाई बोलाएर आ–आफ्नो रिलको जिम्मा लगाउने र त्यहाँ बाँकी रिल सुरक्षित राख्ने काम कम्पनीको हो, बोर्डको होइन।’ उनले पुराना रिलको सुरक्षाको लागि पहल गरिरहेको ठोकुवा गरे।

चलचित्र विकास बोर्ड संग्रहालयका अधिकृत चिरञ्जीवी गुरागाईंले नेपाल चलचित्र विकास कम्पनीलाई रिल व्यवस्थापनको लागि पटकपटक पत्राचार गरेपनि कम्पनीले यो विषयमा चासो नदिएको बताए। उनका अनुसार नेपाल सरकारको स्वामित्वमा रहेका चलचित्र संस्थान, सूचना विभाग, प्रचारप्रसार विभागले निर्माण गरेका नेपाली कथानक फिल्मलाई निजीकरण गरिएको थियो। यसै समयमा बालाजु कम्पनीको स्थापना भयो। कम्पनी स्थापना पछि पुराना नेपाली फिल्म नेपाल टेलिभिजनलाई हस्तान्तरण गरिएको थियो।

उक्त समयमा नेपाल टेलिभिजनले नेपाली फिल्महरूको प्रसारण प्रत्येक साताको शनिबार गथ्र्यो। बोर्डका अधिकृत गुरागाईं फिल्म प्रसारण भएपछि ‘अब काम सक्कियो’ भन्ने सोचाईले ती फिल्मलाई अव्यवस्थित रूपमा राखिएको दाबी गर्छन्। उनले केही समयसम्म अव्यवस्थित रूपमा फ्याकिएका पुराना फिल्मको संरक्षण गर्नुपर्छ भन्ने विषय उठान भएपछि मात्रै उक्त रिल सफाईको लागि बालाजु चलचित्र विकास कम्पनीलाई जिम्मा दिइएको बताए।

‘बालाजुमा ल्याबको व्यवस्था हुँदा रिलको सरसफाई राम्रै भएको थियो। रिल सुरक्षित पनि थिए’, उनले भने, ‘तर २०७२ सालको भूकम्पले भवन भत्किएपछि रिल राखिएको सबै ¥याक भाचिए र सबै रिलको मिसावट भयो। त्यसको पुनः संरक्षण हुन सकेन।’

गुरागाईं नेपाल चलचित्र विकास बोर्डको पहलमा उक्त मिसावट भएका रिलमध्ये नेपाली फिल्म र डकुमेन्ट्री मात्र छुट्टयाएर राखिएको बताउँछन्। उनले बोर्डले पहिलो नेपाली फिल्म ‘आमा’देखि इतिहासका विभिन्न कालखण्डमा निर्माण भई नष्ट हुने अवस्थामा रहेका दशवटा नेपाली फिल्म तथा ऐतिहासिक महत्वका डकुमेन्ट्रीलाईसमेत डिजिटाइजेसन तथा रेस्टोरेसन गरेको खुलाए।

यिनै डिजिटाइजेसन तथा रेसटोरेसन गरिएका पुराना फिल्मलाई चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवमा आज मनाइएको चलचित्र विकास बोर्डले जानकारी दिए। बालाजु चलचित्र विकास कम्पनीमा ‘आमा’, ‘कुमारी’, ‘सिन्दुर’, ‘जीवनरेखा’लगायतका पुराना नेपाली फिल्मका रिल छन्।