सत्यमोहन जोशीको दशैं अनुभव : ‘हिन्दूको मात्रै होइन दशैं, सनातन संस्कार हो, साझा पर्व हो’

  • प्रकाशित मिति : October 21, 2020
  • sajhamail.com

काठमाडौं । वडादशैं अथात् नेपालीहरूको सबैभन्दा ठूलो चाड । तर, कोभिड–१९ को वैश्विक महामारीका कारण अस्तव्यस्त नेपाली समाज । यद्यपि, दशैं मनाउने जमर्को भइरहँदा कोरोना संक्रमण अझै फैलिने त्रास उत्तिकै बढी छ ।

वाङ्मय शताब्दि पुरुष सत्यमोहन जोशी आइतबार ललितपुरस्थित घरै छेउको डबलीमा केही पाका व्यक्तिहरूसँग छलफलमा थिए । विषय थियो –दशैंलाई कसरी सुरक्षित बनाउने ? साधारण शैली र मुखमा मास्क, संस्कृतिविद् जोशीको अलि चिन्तित चाहिँ देखिन्थे ।

दशैंको प्रसंगमा कुरा गर्दै जाँदा संस्कृतिविद् जोशीले आफ्नो बालापनमा काठमाडौं उपत्यकाको नेवारी समुदायमा दशैं मनाउने प्रचलन नरहेको बताए । ‘नेवारी भाषामा मोहनी भन्नाले दशैंलाई बुझिन्छ, दशैं आयो भन्नका लागि ‘मोहनी बोलो’ भन्ने गरिन्थ्यो,’ उनले भने।
जोशीका अनुसार इन्द्रजात्राको समाप्तिसँगै परिवारका सदस्यहरू दशैं तयारीमा लाग्थे । ‘दशैंमा सिलाउने कपडाको नापो लिएसँगै बालबालिकाहरू भेला भएर आफ्नो लुगाको बखान र अर्काको आलोचना शुरु गर्थे,’ उनले भने ।

दशैंमा नयाँ दौरा सुरुवाल र कोट सिलाउने गरेको जोशी स्मरण गर्छन् । ‘बच्चाहरू चंगा उडाउनमै व्यस्त हुन्थे, गृहिणीहरू दशैंको परिकार तयार पार्नमा र युवाहरू जात्राको तयारीमा लाग्थे,’ उनले भने ।

जोशीका अनुसार त्यतिबेला रेडिमेड कपडाको प्रचलन नै थिएन । ‘वर्षभरिमा एक पटक दशैंमा मात्रै परिवारका सदस्यलाई कपडा सिलाउने भएकाले सूचीकारको घरमा भीड बढी हुने गर्दथ्यो,’ जोशीले सम्झिए, ‘मैले कपडा सिलाउने सूचीकार पाटन दरबार क्षेत्र पछाडि बस्थे, कपडा सिलाउन दिएको सात दिनपछि मात्रै पालो आउँथ्यो ।’

नेवारी समुदायमा हरेक पर्वमा अनिवार्य रहेको रक्सी आफ्नै घरमा बनाउने गरिएको जोशी बताउँछन् । ‘यो काम पनि प्रायः तन्नेरीहरुले नै गर्ने गर्दथे, कमेरो माटोले भित्ताको माथिल्लो भागमा र रातो माटोले तल्लो भागमा पोतेर घरलाई चिटिक्क पारिन्थ्यो, यो चलन उपत्यकाभन्दा बाहिर अझै कतैकतै देख्न सकिन्छ,’ उनले भने ।

जोशीका अनुसार घरहरू साना–साना थिए । आफ्नै आँगनबाट पनि चङ्गा उडाउन र भिडाउन सकिन्थ्यो । कहिलेकाहीँ साथीहरू एकैठाउँमा बसेर पनि चङ्गा उडाउने गर्थे । ‘६ वर्षको उमेरलाई स्मरण गर्दा धेरै रमाइलो त यही चङ्गा उडाउने र सूचीकारकोमा गएर कपडा सिलाएको हेर्दा नै हुन्थ्यो, अहिले सूचीकारकोमा लाइनमा बस्ने चलन त लगभग हराइसकेको छ, चङ्गा पनि विस्तारै हराउने क्रममा छ,’ उनले भने ।

बलि दिने चलन

जोशीका अनुसार उपत्यकामा चाडपर्वको विशेष महत्त्व थियो । दशैंमा मासु चिउरा खाने प्रचलन रहेको उनी बताउँछन् । ‘बौद्ध धर्मावलम्बीले पनि बलि दिने गर्दथे, अहिले सनातन पर्वलाई हिन्दूहरूको भनेर व्याख्या गर्न थालेपछि उनीहरूमा पनि दशैंको अपनत्व गुमेको अनुभव हुन्छ, हिन्दूको मात्रै होइन दशैं, सनातन संस्कार हो, साझा पर्व हो ।’

संस्कृतिविद् जोशीका अनुसार सरकारले नै बलिप्रथालाई प्रश्रय दिँदै आएको थियो । ‘नियमअनुसार निजामतिमा डिठ्ठादेखि माथि र पल्टनमा सुवेदारभन्दा माथिका कर्मचारीहरुले हरेक वर्ष आश्विन शुक्ल अष्टमीको दिन कोतमा लगेर बोकाको बलि दिनै पथ्र्याे,’ उनले भने ।

‘मेरो पल्टनको नाम सिंहनाथ पल्टन थियो, मेरो कोत पहिले भक्तपुरमा थियो र पछि हनुमानढोकामा स¥यो, मैले पनि २००१ तिर जागिर खाँदा नियमित कोटमा बलि चढाउने गरेको थिएँ, तर, अहिले घरमा पनि बलिप्रथा बन्द गरिसकेको छु,’ उनले भने ।

संस्कृतिविद् जोशीले काठमाडौं, ललितपुर र भक्तपुरका किसानले बाली उठाएपछि दशैंको उल्लासले भव्यत्ता थप्ने गरेको स्मरण गर्छन् । ‘पहिले–पहिले दशैं पर्व चैतमा मनाइन्थ्यो, किसानलाई सहज हुने गरी असोज–कात्तिकतिर सारिएको हो,’ जोशीले भने ।

दशैंलाई चैतबाट असोज–कात्तिकमा सारिए पनि धार्मिक संस्कार उस्तै रहेको जोशीले बताए । दशैं धार्मिकभन्दा पनि संस्कारसँग बढी जोडिएको उनले बताए । यो चाड सभ्यता र संस्कारसँग जोडिएकाले सबै नेपाली समुदायको साझा चाडका रुपमा स्थापित भएको उनले बताए ।

ललितपुर पाटन नजिकै नेवारी टोलमा रहेको जोशीको घरसम्म आउँथ्यो, वरिपरि मन्दिरमा बजेको मालश्री धुन । जोशीका अनुसार मालश्री धुन बजेपछि दशैंको उल्लास शुरु हुन्थ्यो ।

टोलमा हुने जात्रा र खोकनाबाट आउने देवीनाच, हरिसिद्धि नाचले जोशीको बालापन उल्लासमय हुन्थ्यो । पिङ र चङ्गा उडाएर गरेको रमाइलो अहिले पनि याद गर्छन् जोशी ।

काठमाडौं, भक्तपुर र ललितपुर शहरको रुपमा विकास भएपछि देवीदेवताका मन्दिर स्थापना भए । भद्रकाली, कंकेश्वरी, बालकुमारी, विष्णुदेवी, शोभा भगवती, दक्षिणकाली, मैतीदेवी, बगलामुखी लगायत देवी संरक्षिका भएर उपत्यकाको रक्षा गर्छिन् भन्ने मान्यता आज पनि स्थापित छ । देवीलाई खुशी राख्न दशैंमा चण्डी पाठ गरिन्छ । नवरात्रिमा नवदुर्गा पूजा गर्नुको कारण पनि यही रहेको जोशीले बताए ।

राणा शासनकालमा काठमाडौंमा नेवारी समुदायको बाहुल्य रहेको थियो । हिन्दू र बौद्ध धर्मावलम्बीहरूले उत्तिकै महत्त्वका साथ दशैं मनाउँथे । नेवारी समुदायमा दशैंमा कालो र सेतो टीका लगाउने चलन छ । गाजल जस्तो टीका लगाउने गरिन्छ । ‘गुरुङ र मगर समुदायमा चामलको टीका लगाउने चलन छ, ब्राह्मण क्षेत्रीले पहिले रातो टीका मात्रै लगाउँथे, अहिले अक्षता थपेर लगाउन थाले,’ उनले भने ।

काठमाडौं उपत्यकामा पहिले घटस्थापनाको दिन विधिपूर्वक बागमतीमा गएर बालुवा ल्याउने गरिन्थ्यो । ‘र, त्यसैमा जौं उमार्ने चलन थियो,’ उनले भने, ‘९० वर्षअघिको दशैं र अहिलेको दशैंमा धेरै भिन्नता आएको छ, पहिलेको परम्परालाई विस्तारै बिर्सिएको महसुस मैले गरेको छु ।’

समयसँगै परम्परामा बदलाव

एक शताब्दि लामो जीवनकालमा सत्यमोहन जोशीले धेरै सांस्कृतिक रुपान्तरण देखेका छन् । घटस्थापनादेखि ९ दिनसम्म पीठ पूजा गर्ने चलन थियो । ‘पीठ भनेको शक्ति पूजा हो, जसको मूर्ती हुँदैन,’ उनले भने, शक्तिको मूर्ति बालकुमारी मन्दिरमा बाहेक कतै पनि पाइँदैन, अरु मन्दिरहरुमा रहेका तोरणलाई नै शक्तिको मूर्ति मानेर पूजा गर्ने गरिन्छ ।’

दशैंमा मालाश्री गीत गाउने चलन भगवतीको स्तुतिसँग जोडिएको जोशीले बताए । ‘पहिले खड्ग जात्रा गर्ने चलन थियो, अहिले पनि कतैकतै चलिरहेको छ, जसमा नवरात्रको राति सबै युवाहरू हातमा खड्ग लिएर घर बाहिर आउने गर्दथे, यी चलनहरु पनि अहिलेसम्म चलिआएको भएपनि विस्तारै कम हुँदै गएको छ,’ उनले भने ।

पाश्चत्य संस्कृति प्रभावले नेपाली मौलिक संस्कृतिमा पु¥याएको क्षतिबारे जोशी चिन्तित छन् । ‘युवा पुस्ता संस्कृति संरक्षण र विकासमा लाग्ने बेला आएको छ, अहिले नै शोध र अनुसन्धानमा लाग्नुपर्छ,’ संस्कृतिविद् जोशीले भने, ‘संरक्षण नगरिए हाम्रो संस्कृति लोप हुन्छ ।