‘नागरिकका आवश्यकतालाई सर्वोपरि मानेर काम गरिरहेका छौं’

  • प्रकाशित मिति : October 21, 2020
  • sajhamail.com

अमृका बलामी
अध्यक्ष, वडा नम्बर–९, दक्षिणकाली नगरपालिका ।

दक्षिणकाली साविक ६ वटा गाविस मिलेर बनेको नगरपालिका हो । साविक टल्कुडुडेचौर गाविस हाल ९ नम्बर वडामा पर्दछ । टल्कुडुडेचौर, छैमले, सुन्दरीजल, नाङ्लेभारे काठमाडौंका कर्णाली हुन् । २०५४ सालको स्थानीय निर्वाचनमा नागरिकबाट अमूल्य मत दिएर उपाध्यक्षको रुपमा निर्वाचित भएको थिएँ । मेरो कार्यकाल सकिएपछि पनि म निरन्तर जनताको काममा लागि नै रहेँ । देशमा विभिन्न राजनीतिक परिवर्तन भए, हामी सामाजिक परिवर्तनका लागि निरन्तर लागि रह्यौं ।

२०७४ को निर्वाचनमा ९ नम्बर वडामा वडाध्यक्ष निर्वाचित भएर आउँदै गर्दा ७२ सालको भूकम्पले यहाँको जनजीवनलाई ठूलो असर पु¥याइसकेको थियो । विद्यालय भवनहरुमा समेत क्षति पुगेको थियो । वडामा मेरो कार्यकालको शुरुवाती ‘एक घर, एक शौचालय’ अभियानबाट शुरु भयो । ७ सय ३५ घरधुरीमा अहिले तीन वटा खानेपानी समिति छन् । ६ सय ५० को हाराहारीमा ‘एक घर एक धारा’ वितरण गरिसकेका छौं ।

प्रदेश सरकार र नगरपालिकाको सहयोगमा सिममुल क्षेत्रबाट ३ सय १८ मिटर भर्टिकल हाइटमा पानी तानेर २९ घरमा खानेपानीको (एक लाख लिटरको पानीट्यांकी तल र ४० हजार लिटरको ट्यांकीमाथि निर्माण गरिएको) पाइपलाइन विस्तार भइरहेको छ । विद्युतको आपूर्ति पश्चात खार्पा क्षेत्रमा ‘एक घर एक धारा’ जडानको काम सम्पन्न हुनेछ । यसै क्षेत्रको डाँडीखेल तामाङ समुदायको बाहुल्य भएको २१ घरमा, ३ सय १८ मिटर हाइटमा खानेपानी ट्यांकी निर्माण गरी ‘एक घर एक हजार लिटर पानी’ वितरण गरी सम्पूर्ण वडाबासीलाई खानेपानी उपलब्ध गराउने काम गरेका छौं । लामागाउँ र हुमानी क्षेत्रमा केही–केही स्थानमा खानेपानी पु¥याउन सकिएको छैन । त्यो पनि निकट भविष्यमै सम्पन्न हुनेछ । यस क्षेत्रको ३६ र १७ घरमा खानेपानीको लाइन विस्तारको कार्य बाँकी छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगमा ६ वटा विद्यालयमा सुविधासम्पन्न भवनहरु निर्माण गरिएको छ । सामुदायिक विद्यालयहरुमा पठनपाठन कम हुँदै जानु र गुणस्तरीय पढाई हुँदैन भन्ने कुरालाई ध्यान दिएर ‘फ्री मन्टेश्वरी’ सञ्चालनमा ल्याएको छ । अठार महिनाका बच्चाहरुको हेरचाह पाँच वर्षसम्म वडाले गर्नेछ । उनीहरुलाई प्लेग्रुपमा राखेर खेल्ने वातावरण समेत बनाउन निःशुल्क रुपमा सेवा दिने गरिएको छ । एउटा बच्चा कमसेकम ३ वर्ष पछिमात्र विद्यालय भर्ना हुने वातावरण बनोस् । खानपान र स्वास्थ्यको समस्यालाई समाधान गर्दै वडाले बालबालिकाको जिम्मेवारी लिएको छ । अंग्रेजी पठनपाठन, नैतिक शिक्षा, संस्कार र संस्कृतिको विकास गर्दै जाने ।

सामुदायिक विद्यालयमा समेत प्रविधियुक्त सिकाईलाई प्राथमिकता दिएर पठनपाठन गराउने कामको शुरुवात गरिएको छ । समाज विकास नाराबाट मात्र होइन, आर्थिक समृद्धि बिनाको परिवर्तन कल्पनाभन्दा बाहिरको हो । वडामा ४२ महिला समूह, पाँच सहकारी छन् । एउटा सहकारीले एउटा नमूनाको काम गर्नुपर्छ । तब मात्र समृद्धि सम्भव छ । नगरपालिका क्षेत्रमा ८५ वटा सहकारीमध्ये ६७ क्रियाशील छन् । यी सहकारीले एउटा–एउटा मात्र व्यवसाय सञ्चालन गरेमा केही पनि असम्भव हुँदैन । तरकारी उत्पादनका लागि यो क्षेत्र अहिले उर्भर भूमि भएको छ । यसले स्थानीय नागरिकको आर्थिक समृद्धिमा ठूलो टेवा पु¥याएको छ । गोलभेडा, टनेल, फूलखेती र तोरी बाली यहाँको उत्पादन हो । यहाँका किसानले एक लाख देखि २० लाखसम्मको आम्दानी गर्दै आएका छन् ।

प्रदेशको राजधानी हेटौंडासम्म पुग्ने राजमार्ग यही क्षेत्रमा पर्दछ । सहकारीको क्षेत्रले आर्थिकको काम, समुदायको क्षेत्रले परिवर्तनको काम र जनप्रतिनिधिले अभिभावकको भूमिका निर्वाह ग¥यौं भने समाजको समृद्धि सम्भव छ । हामी जनप्रतिनिधि नहुँदा समेत समाजको विकासमा निरन्तर जनतासँग हातेमालो गरेर लागि रह्यौं र नै यस क्षेत्रको विकास सम्भव भएको हो ।

यहाँ पर्यटन र कृषिको ठूलो सम्भावना छ । चम्पादेवी, चन्द्रज्योती पावरहाउस, शेषनारायण, गोरखनाथ, दक्षिणकाली, वाँणासुर्का, चौकोटदेवी धार्मिक महत्त्वका क्षेत्र हुन । कृषिमा पहिलो प्राथमिकता र पर्यटन दोश्रो प्राथमिकतामा छ । हामीलाई स्थानीय नागरिकको सहयोग, महिला समूहको साथ, एक घर एक शौचालय, एक घर एउटा करेसाबारी, एक घर एउटा खानेपानी, मोटरबाटोले जोडिएको घर, २० घरमा एक स्वयम्सेविका, पचास घरमा एक सुडेनी, सय घरमा एउटा विद्यालय, कृषि सडक, पर्यटक सडक, प्रत्येक घरमा एक मोटरसाइकल, प्रत्येक टोल पाँच घरमा एक मोटर गाडी एक वडामा एक बसपार्क हुनुपर्दछ भन्ने हाम्रो अभियान हो । सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने दायित्व स्थानीय सरकारको हो । आमनागरिकले निःशुल्क शिक्षा र स्वास्थ्यको सेवा पाउनुपर्छ । नागरिकको श्रमको मूल्य राज्यले तिर्नुपर्छ । हाम्रो अहिलेको प्राथमिकता नागरिकको सुविधा हो । नागरिकको प्राथमिकतालाई सर्वोपरि मानेर काम गरिरहेका छौं ।

(साझा मेलका लागि सम्पादक कुमार ओझा संगको कुराकानीमा आधारित)