‘समृद्धिको अभियानमा छौं, महालक्ष्मी ४ लाई नमूना वडा बनाउँछौं’

  • प्रकाशित मिति : October 13, 2020
  • sajhamail.com

ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका वडा नम्बर–४ मा जन्मिएका लक्ष्मण रोक्का सत्तारुढ दल नेकपाका कुशल कार्यकर्ता हुन् । सामाजिक सेवामा सक्रिय रोक्का स्थानीय तहको निर्वाचनमा महालक्ष्मी नगरपालिका –४ को वडाध्यक्ष निर्वाचित भएका हुन् । वडाको विकास निर्माणमा धेरै परिवर्तन आएको रोक्काको धारणा छ । प्रस्तुत छ वडालाई समृद्ध बनाउने अभियानमा लागेका वडाध्यक्ष रोक्कासँग साझामेलका लागि गुरुप्रसाद खतिवडा र कुमार ओझाले लिएको अन्तरवार्ता :

वडा कार्यालयले विकास निर्माणका के–कस्ता गतिविधिहरू सञ्चालन गरिरहेको छ ?

– हामीले थुप्रै काम गरिरहेका छौँ । दैनिक प्रशासनिक काम चुस्तदुरुस्त र जनमुखी बनाउने कोसिस गरिरहेका छौं । जनप्रतिनिधि नभएको अवस्था र आज आफ्नै दाजुभाई दिदीबहिनी निर्वाचित भएर जनताको प्रतिनिधिको रुपमा आएर सेवासुविधामा आमूल परिवर्तन आएको छ । आजको आजै, अहिलेको अहिल्यै सेवा पाउनु भएको छ । हामी निर्वाचनमा जाँदा पनि विकास निर्माणकै एजेण्डा लिएर गयौं । र, हामीलाई नागरिकले नै यो म्याण्डेट दिनुभयो । सोहीअनुसार नै हामीले गोरेटो बाटो रहित, धुँवाधुलो मुक्त, खानेपानी र ढलयुक्त वडा बनाउने मुख्य उद्देश्यसहित काम गरिरहेका छौँ ।

वडाले पाँचवर्षे कार्ययोजना बनाएर बजेट विनियोजन गर्दै आएको छ । विशेषगरी भौतिक पूर्वाधारतर्फ, सडक निर्माण, ढल, खानेपानी र धुलेबाटाहरूलाई पिच र ढलानमा परिणत गरेका छौँ । एक घर, एक धाराको नीति अनुसार हरेक घरमा धारा जडान गर्ने गरी खानेपानी टंकीको व्यवस्थापन भएको छ । वडामा तीनवटा डिपबोरिङ गरेका छौं । १३ किलोमिटर ढल निर्माण भएको छ । यो ४ नम्बर वडाको ८० प्रतिशत भूभाग ढलयुक्त भएको छ । अब २० प्रतिशत भूभाग ढलयुक्त बनाउँछौं ।

गोरेटो बाटो १६ वटा खोल्यौं, तीन वर्षे कार्यकालमा साढे १३ किलोमिटर बाटो खोल्न सफल भयौं । साना बाटोहरू फराकिलो बनाउने र गोरेटो बाटोलाई मोटरेबल बनाउने कार्य भएका छन् । तीन किलोमिटर पीच गर्न सफल भयौं । जनताको स्वास्थ्यलाई ध्यानमा राखेर धुलोमुक्त, हिलोमुक्त, ढलयुक्त र पानीयुक्त वडा बनाउने नीति लिएर भौतिक पूर्वाधारका काम गरेका छौं । कर्मचारी र जनप्रतिनिधिलाई एकअर्कामा समन्वयकारी भूमिका निर्वाह गरेर अघि बढाइरहेको हुनाले कर्मचारीहरूको पनि उल्लेख्य भूमिका रहेको छ । हामी निर्वाचित जनप्रतिनिधि टीममा सबैको एकता रहेको छ । सम्पूर्ण जनप्रतिनिधि राजनीति, सामाजिक कार्यमा सहयोगी भएर लागिरहनु भएको छ ।

निर्वाचन पूर्वको अवस्था र तपाई निर्वाचित भएर आएपछि वडाका जनताले के फरक अनुभूति पाएका छन् ?

– जननिर्वाचित हुनु र नहुनुमा धेरै फरक छ । कर्मचारीहरू विभिन्न तह र क्षेत्रबाट आउने भएकाले उनीहरूलाई स्थानीयतहको वास्तविक स्थिति र व्यवहारिकता थाहा हुँदैन । जनप्रतिनिधि आफ्नै दाजुभाई दिदीबहिनी हुने भएकाले स्थानीय सानाभन्दा साना समस्या टोलटोल र वडाभरिका समस्याको जानकारी हुने भएको हुँदा समयमै व्यवस्थित किसिमले काम गर्ने र जनताले अपेक्षा गरेभन्दा राम्रो विकासका काम गर्दै आएका छौं । हामीले सामाजिक कामहरू जेष्ठ नागरिक, बालबालिका, महिलाहरूका सबै कार्यक्रमलाई नजिकैबाट नियालेर सर्वसुलभ तरिकाबाट काम गर्न सफल भएका हौँ ।

संघीय सरकारले तय गरेको ‘समृद्धिको यात्रा गाउँगाउँमा सिंहदरबार’को अभियानलाई नागरिकले अनुभूति गर्न पाएका छन् ?

– इच्छा चाहनाअनुसार सबै काम नभएको हुन सक्छ । तर, पाँच वर्षभित्र गर्ने सक्ने काम महालक्ष्मी नगरपालिकाको हकमा, ४ नम्बर वडामा २० वर्षमा हुने काम पाँच वर्षमा गर्न सकिन्छ । र, यो सम्भव छ । हामीले मास्टर प्लान बनाएर चक्रपथ निर्माण, पानीको व्यवस्थापन कसरी गर्ने जस्ता विषयलाई समेटेर कार्य गरिरहेका छौं । शुरुका वर्षमा नै मास्टर प्लान तयार गरी कार्य गर्दै आएको हुनाले हामीले महालक्ष्मी नगरपालिकाको नमुना वडाको रुपमा विकास गर्ने छौं ।

जनप्रतिनिधि नहुँदा सम्भवै नहुने कामहरु गरेका छौं । वडाबासीलाई विकास निर्माणमा सहभागी गराउँदै आएका छौं । खानेपानीलाई घरघरमा पु¥याउने काम सफल बनाएर धारा जडान ग¥यौं । कृष्ण मन्दिरबाट टिकाथली जाने बाटो करिब डेढ किलोमिटर दश मिटरको फराकिलो बनाएर पीच गर्ने कामको तयारी भइरहको छ । वडालाई सरसफाइयुक्त बनाउन १२ किमी ढलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जसले यस वडाको फोहोरमैलाको व्यवस्थापन र वातावरण संरक्षणमा योगदान पु¥याउने छ ।

संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वय कस्तो छ ?

– महालक्ष्मी नगरपालिकाको हकमा समन्वयात्मक भूमिका रहेको छ । हरेक काममा संघीय, प्रदेश सांसद र वडाध्यक्ष, मेयर उपमेयरहरु बसेर कार्यक्रमका विषयमा छलफल गर्ने, कार्यक्रमको डुब्लिकेशन हुन नदिने गरी नीति निर्माण गर्ने कार्यक्रम अगाडि बढाउने गरेका छौं । सांसदहरुको महत्त्वपूर्ण भूमिका र सहयोग यस नगरपालिकामा रहेको छ ।

भौतिक पूर्वाधार र विकास निर्माणका कार्यमा राजनीतिक दलहरूसँगको समन्वय कस्तो छ ?

– निर्वाचन पूर्व कुनै पार्टीको भए पनि निर्वाचित भइसकेपछि हामी साझा हौँ । स्थानीय वडामा प्रतिस्पर्धामा रहेका अन्य दलका साथीहरु पनि अत्यन्तै जिम्मेवार हुनुहुन्छ । वडाले गरेका हरेक गतिविधिमा उहाँहरुको भूमिका महत्त्वपूर्ण भएको पाएको छु । सबैको सहयोगले नै यस वडालाई समृद्ध बनाउन सकिन्छ । सबैले हामीलाई सूसुचित, सचेत र सहयोग गर्नु भएको छ । विकासको काममा वडामा अवरोध छैन । हामी अभिभावकको रुपमा उभिएकाले वडाबासीहरू विकास निर्माण र सरसफाई लगायत काममा सँगसँगै हिँडिरहेका छौं ।

समृद्धि यात्रामा सहकारीको भूमिका महत्त्वपूर्ण हुन्छ । तपाईको वडामा सहकारीले गर्ने गतिविधिहरू कस्ता छन् ?

– सबै किसिमका सहकारीहरू सहकारीको मूल्य र मान्यता बमोजिम चलेका छैनन् । त्यस्ता सहकारीलाई नीति नियमभित्र ल्याउन कार्यविधि पास गरेर लागू गरिसकेका छौं । ४ नम्वर वडा ३२ वटा सहकारी सञ्चालनमा छन् । हामीले सबै सहकारीहरुको अनुगमन गरेका छौं । श्रीकृष्ण महिला जागृति सहकारी महिलाहरू मात्र भएर सञ्चालनमा रहेको छ । विशुद्ध समाजसेवामा लागेको छ । र सीतापाखा बचत तथा ऋण सहकारी संस्थामा स्थानीयहरू भएकाले समाजका नागरिकको समस्या समाधानका लागि दुई सहकारीको उल्लेख्य भूमिका रहेको छ । यी दुई सहकारीले एकता र भातृत्वका लागि सफलता प्राप्त गरी विकास गरेका छन् । अन्य सहकारी व्यवसायमुखी छन् । कतिपय सहकारीहरू झोले खालका पनि छन् । त्यस्ता सहकारीलाई ऐनको व्यवस्था बमोजिम नियमन गर्ने काम गर्नुपर्छ । अहिले सरकारले निर्धारण गरेको ब्याजदर जनमूखी र वैज्ञानिक छ, यसलाई कार्यान्वयन गर्न स्थानीय निकायले महत्त्वका साथ अनुगमन गर्छ ।

तपाईको वडा आर्थिक रुपमा कति समृद्ध वडा हो ?

– वडामा खासै कलकारखाना र उद्योगधन्दा छैनन् । हामीसँग आयश्रोतको माध्यम कम छन् । यो वडा आर्थिक रुपमा सम्पन्न छैन । वार्षिक रुपमा लगभग एक करोडको हाराहारीमा कर उठ्ने गर्छ । वार्षिक बजेट पनि एक करोडकै हुन्छ । नगरपालिकासँगको समन्वयमा केन्द्रीय सरकार, प्रदेश सरकार, सडक विभाग लगायत विभिन्न निकायसँगको अनुदान सहयोगमा यस वर्ष करिव १२ करोड रुपैयाँ बराबरको विकास निर्माणका काम गरेका छौं । यो ठूलो उपलब्धी हो । ठूलो वडा भएकाले यहाँ २५ वटा टोलसुधार समिति छन् । सबैसँगको समन्वयमा वडा कार्यालयले कार्य गरिरहेको छ ।

कोभिड–१९ को महामारीको सामना कसरी गरिरहेको छ ?

– कोभिड १९ को महामारीले यो वडा पनि प्रभावित छ । हालसम्म ९२ जना संक्रमित छन् । ८० जना निको भएका छन् । १२ जना अस्पताल  र घरमा आइसोलेसनमा छन् । कोरोनाले हामीलाई प्रभावित पारेको छ । वडाले विभिन्न किसिमका कार्यक्रम ल्याएको छ । कोभिड १९ को प्रभावमा परेका उद्योग व्यवसायको कर छुट दिने, मजदुरी गर्नेहरूका लागि राहतको कार्यक्रम ल्याएका छौं । कोही पनि भोकले नमरोस्, संक्रमितलाई मनोवैज्ञानिक असर नपरोस् भनेर डाक्टर, स्वास्थ्यकर्मीहरूको निगरानीमा सम्मानपूर्वक व्यवहार गरेर हाइजिन किट उपलब्ध गराएका छौं । कोरोना भाइरसको संक्रमण फैलन नदिन प्रचारप्रसारलाई व्यापक बनाएर जनतालाई सचेत गराएका छौं । सकारात्मक प्रचारमार्फत् स्थानीयलाई सूचित गराएका छौं । सरसफाईमा विशेष ध्यान दिइएको छ । टोलहरू सरसफाई गरिएको छ ।

भावी योजना के–के छन् ?

– निर्माण भइरहेका सडकहरुको पीच, खानेपानीका धारा घरघरमा पु¥याई पानी वितरण गर्ने । ढलहरू सबै घरमा पुर्याउने र सरसफाईयुक्त टोल बनाउने । रात्रिकालीन समयका लागि उज्यालोका लागि सडकबत्तीको व्यवस्थापन गर्ने । सीसी क्यामेरा, रात्री सुरक्षाको व्यवस्थापन गर्ने र नमुना वडा बनाउने आदि योजना छन् ।

बालबालिकाका विशेष शिक्षाका कार्यक्रम । पार्क, बगैँचा निर्माण गरी बालबालिकालाई इन्गेज गराउने र जेष्ठ नागरिकको स्वास्थ्य अवस्था बुझ्ने र हरेक हप्ता स्वास्थ्य शिविर सञ्चालन गर्ने । महिलाहरूलाई रोजगारमूलक बनाउन सहकारी खडा गर्ने । टोलसुधार समितिहरू निर्माण गरी वातावरण संरक्षणका कार्यक्रमहरू सञ्चालन गर्ने । ढलयुक्त, धुलोमुक्त, खानेपानी सरसफाईयुक्त नमूना वडा बनाउने हाम्रो लक्ष्य छ ।

अन्तमा
आइसिसी साझा साप्ताहिक र साझामेल लाई हार्दिक धन्यवाद दिन चाहन्छु । हामी निर्वाचित भएपछि भए गरेका विकास निर्माणका कामहरुको फेहरिस्त व्यक्त गर्न पाउँदा खुशी लागेको छ । सम्पुर्ण वडाबासीहरुको सहयोग र सल्लाह अनुसार वडाको विकासका लागि निरन्तर लाग्ने प्रतिवद्धता व्यक्त गर्दछु । साथै सम्पूर्ण वडाबासीहरुलाई नेपालीहरूकाे महान चाड बढादँशै, तिहार, नेपाल सम्बत तथा छठपर्वको अबसरमा सुख, शान्ति र समृद्धिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।