लालिगुराँसको एटिएम र दुग्ध प्रशोधन उद्योग सञ्चालनमा

  • प्रकाशित मिति : October 8, 2020
  • sajhamail.com

काठमाडौं । संस्थाको २२औं स्थापना दिवसको अवसर पारेर लालीगुराँस सहकारी संस्था ललितपुरले आफ्ना ग्राहकहरुका लागि एटिएम सेवा शुरु गरेको छ । पहिलो चरणमा संस्थाले पुल्चोक स्थित आफ्नो प्रमुख कार्यालयबाट एटिएम सेवा शुरु गरेको हो ।

कार्यालय परिषरमा स्थापना गरिएको एटिएम सेवाको उद्घाटन गर्दै संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले सहकारीले आफ्ना ग्राहक सदस्यहरुलाई सरल रुपमा छिटो र छरितो सेवा प्रबाह गर्ने उद्देश्य अनुरुप उक्त कार्यको थालनी गरेको बताए । आजभन्दा २२ बर्ष अघि ललितपुरको पुल्चोकमा स्थापना भएको सो सहकारी संस्थामा हाल करिव २१ हजार शेयर सदस्य रहेका छन् । सहकारीका सबै शेयर सदस्यहरुले यो सेवा प्रयोग गरी बढीभन्दा बढी लाभ लिन सक्नेछन । संस्थाका कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले संस्थाले आगामी दिनमा गर्न लागेका कार्यक्रम गतिविधिहरुको जानकारी गराएका थिए । उनले भने ‘हामी निकट भविश्यमै अन्य सुविधा काउण्टरहरुमा समेत एटिएम बुथ स्थापना गरी ग्राहकलाई सेवा प्रबाह गर्ने छौं ।’

सहकारी संस्थाले बचत ऋणको मात्र नभएर उद्योग ब्यवसायमा समेत लगानी गरी उदाहरणिय कार्य गर्दै आएको छ । यसै क्रममा चितवनको खैरेनीमा नेपालकै ठूलो गाई फार्म स्थापना गरेर नविन संस्थाको पहिचान बनाउन सफल भएको यस सहकारीले श्री लालिगुराँस दुग्ध प्रशोधन उद्योगको स्थापना गरी सञ्चालनमा ल्याएको हो । उक्त उद्योगको समेत उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले ‘संस्थाले आफ्नै लगानीमा ब्यवसायिक रुपमा दुग्धजन्य पदार्थको बिक्रि वितरण शुरु गरेको’ बताए ।

कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले मुलुकको आर्थिक क्षेत्रको विकासमा संस्थाले गरेको योगदानको चर्चा समेत गरेका थिए । उनले भने ‘हामी आगामी वर्षमा थप नयाँ कार्यक्रम र योजनाहरु अगाडी बढाउदै सदस्य ग्राहकहरुलाई स्तरिय र सरल सेवा प्रदान गर्दै लैजाने छौं ।’ लालिगुराँस सहकारी संस्थाले काठमाडौ उपत्यकाका विभिन्न स्थान ललितपुरको चापागाँउ, काठमाडौको न्यूरोड र चाबहिल, भक्तपुरको कौशलटार तथा चितवनको पर्सामा समेत सदस्य सुविधा काउण्टर सञ्चालन गरेर आफ्ना शेयर सदस्यहरुलाई सेव सुविधा उपलब्ध गराउँदै आएको छ ।

हाल संस्थामा २१ हजार शेयर सदस्यहरु रहेका छन भने ३ सय भन्दा बढीलाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराएको छ । ०५६ साल भदौमा स्थापना भएको उक्त सहकारीले असोज महिनादेखि कारोवार शुरु गरेको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य क्षेत्रमा समेत कार्य गर्दै आईरहेको छ । ललितपुरको ताल्छिलेखमा लालीगुराँस अस्पताल प्रा.लि. सञ्चालन गरेको छ । शिक्षाक्षेत्र तर्फ सहकारी संस्थाले काठमाण्डौंको नयाँबानेश्वरमा लालीगुराँस राष्ट्रिय मा.वि.÷कलेज सञ्चालन गरिरहेको छ । यसै गरी डेरी परियोजना अन्तर्गत चितवनको खैरेनीमा श्री लालीगुराँस डेरी फार्म एण्ड रिसर्च सेन्टर सञ्चालनमा छ । संस्थाले विद्युत उत्पादनतर्फ समेत आफ्नो लगानी विस्तार गरेको छ । जस अन्तर्गत सिन्धुपाल्चोकको लार्चामा भैरवकुण्ड हाईड्रोपावर लि. सञ्चालन गरी स्थापित सहकारी संस्थाको रुपमा आफुलाई उभ्याउन सफल भएको हो । साथै संस्थाले विभिन्न संस्था तथा वित्तीय क्षेत्रमा समेत आफ्नो लगानी विस्तार गरेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत भण्डारीले सरकारले पछिल्लो समय सहकारी क्षेत्रलाई संकुचित पार्दै गएको बताएका छन् । उनले भने ‘खुल्ला अर्थतन्त्रको अभ्यास गर्ने भन्ने तर, एक व्यक्तिले एउटा मात्र सहकारीमा सदस्य हुन पाउने जस्ता नीति व्यवहारिक हुन सक्दैनन् ।’ नेपाल बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष समेत रहेका अधिकृत भण्डारीले सरकारले सहकारी क्षेत्रलाई हेर्ने दृष्टीकोण फरक हुनुपर्ने बताउँदै नकरात्मक दृष्टिकोणलाई परिवर्तन गर्न जरुरी रहेको धारणा व्यक्त गरे । संस्थाले बार्षिकोत्सवको अवसरमा लालीगुराँस राष्ट्रिय मा.वि.÷कलेजको प्रांङ्गणमा बृहद् रक्तदान कार्यक्रम आयोजना गरिएको थियो ।