कास्कुनकाे साधारणसभा सम्पन्न, “सहकारीकाे नयाँ ब्याजदर कार्यान्वयन हुनुपर्छ”

  • प्रकाशित मिति : October 13, 2020
  • sajhamail.com

काठमाडौं । काठमाडौ जिल्ला भित्र रहेका बचत तथा ऋण सहकारी संस्थाहरुको सञ्जाल काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून)को १८औं स्थापना दिवस तथा १७औं वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सीमित भौतिक उपस्थिति र जुम एप्लिकेशनका माध्यमबाट अभौतिक सहभागिताका साथ कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले ‘सहकारीमा कात्तिक १५ गतेदेखि लागु हुने सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै पर्ने बताए ।’ सहकारीले बढी ब्याज लिएर ठग्छन भन्ने आरोपलाई निराधार सावित गर्न पनि सन्दर्भ ब्याजदर कार्यान्वयन गर्नै पर्नेमा उनको जोड थियो ।

‘कात्तिक १५ बाट लागु हुने सहकारीको १४ दशमलव ७५ प्रतिशत ब्याजदर कार्यान्वयन गर्नै पर्छ । त्यसले सहकारीले बढी ब्याज लिन्छन, ठग्छन भन्ने आरोपलाई निराधार बनाउनु पर्ने छ ।’ उनले एक स्थानीय तह एक सहकारीको सदस्य नीति अभियानको समेत सहमति रहेको विषय भएको भन्दै धेरैवटा संस्थाको सदस्यता लिने प्रवृतिले राम्रो नगर्ने बताए । सदस्यताको विषय अदालतमा पुगेको हुनाले अदालतको फैसला पर्खन उनले आग्रह गरे । महासंघले मन्त्रालयसंग कोभिडको समयलाई शुन्य समय मानेर एक वर्षसम्मलाई छुट दिनुपर्ने माग राखेको समेत जानकरी गराए ।

संघले वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरेको छ । संघले यस वर्ष सतुंगलको वेस्ट्रन ऋतम्भरा बचत तथा ऋण सहकारीलाई उत्कृष्ट ब्यवसाय साकोस सम्मान प्रदान गरेको छ । यसैगरी अधिक शेयर खरिद साकोस सम्मानबाट सत्कार बचत तथा ऋण सहकारी पुरस्कृत भएको छ । त्यसैगरी उत्कृष्ठ साकोस सम्मान चन्द्रागिरि बचत तथा ऋण सहकारीले पाएको छ भने अधिक बचत कारोबार साकोस सम्मान कोल्मतेश्वर बचत तथा ऋण सहकारीले पाएको छ ।

कास्कून वर्ष ब्यक्ती अभियान्ता सम्मानबाट पूर्व लेखा समिति सदस्य हरिशरण थापा सम्मानीत भएका छन । उत्कृष्ठ कर्मचारी पुरस्कार कास्कूनका ब्यवस्थापक अरुण तिवारी लाई प्रदान गरिएको छ । संस्थाका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष निरञ्जन सेढाइले संघको आर्थिक वर्ष २०७६÷०७७ को आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । संघमा हाल ७ सय सदस्य, २ करोड ४३ लाख ९४ हजार शेयर पूंजी, ७२ करोड ८७ लाख बचत, २ करोड २४ लाख कोष तथा ९४ करोड कूल कारोबार भएको जानकारी गराईएको छ ।

कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, लगायतले शुभकामना मन्तव्य दिएका थिए । भौतिक रुपमा उपस्थित नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवं कास्कूनका सल्लाहकार चन्द्र प्रसाद ढकालले कास्कूनको स्थापना दिवस एवं साधारणसभाको शुभकामना व्यक्त गरेका थिए भने कास्कूनका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।