काठमाडौं । लायन्स क्लव अफ काठमाडौं ब्लड सर्कलको प्राविधिक सहयोगमा केयर फाउण्डेशन नेपालको महिला विभागले महिलाहरुको सहभागितामा रक्तदान कार्यक्रम सञ्चालन सम्पन्न गरेको छ । शनिबार काठमाडौंको विशालनगरमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा दुई दर्जन बढी महिलाहरुले रक्तदान गरेका थिए ।
‘रक्तदान जीवन दान, जीवन बचाउने महाअभियानमा सहभागि बनौं ।’ भन्ने नारा सहित फाउण्डेसनले महिलाहरुको मात्र सहभागिता आयोजना गरिएको रक्तदान कार्यक्रम सम्भवत पहिलो भएको फाउण्डेशनकी संयोजक रेश्मा बानु शाहले बताईन ।
‘कोभिड १९’ को महामारीका कारण हाल रक्तदान जस्ता महत्वपूर्ण कार्यक्रमहरु सहज रुपमा सञ्चालन हुन नसकिरहेको र रगत संकलन केन्द्रहरुमा रगतको अभाव देखिएको अवस्थालाई न्यूनिकरण गर्न फाउण्डेशनले लायन्स क्लवसँगको साझेदारीमा उक्त कार्यक्रमको आयोजना गरिएको फाउण्डेशन अध्यक्ष डा. अब्दुल माेबिन खानले जनाएका छन ।
फाउण्डेशनले महामारीलाई ध्यानमा राखेर रक्तदान गर्न इच्छुकहरु भौतिक रुपमा कार्यक्रम स्थलमा उपस्थित हुन नसक्नेहरुका लागि घरडेरामै रगत संकलन गर्ने ब्यवस्था मिलाईएको थियो ।
केयर फाउण्डेशनले विगतमा कोरोना संक्रमणको महामारीले भएको बन्दाबन्दी र लकडाउनको समयमा समस्यामा परेका नागरिकहरुलाई राहत वितरण, निःशुल्क स्वास्थ्य शिविर लगायत काठमाडौं उपत्यकामा विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।