छिमेकी मुलुकसँग कुनै विषयमा फरक मत देखिए तथ्यका आधारमा वार्तामार्फत समाधान खोज्नु पर्छ

  • प्रकाशित मिति : September 5, 2020
  • sajhamail.com

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का विदेश विभाग प्रमुख माधवकुमार नेपालले छिमेकी मुलुकसँग रहेका मतभिन्नतालाई शान्तिपूर्ण तवरले अन्त्य गर्नुपर्ने बताएका छन् । नेपाल इस्टिच्युट्स अफ इन्टरनेशनल रिलेशन्स (एनआइआइआर) र चाइना सेन्टर फर साउथ एशियन स्टडिज, सिचुहान युनिभर्सिटीको संयुक्त आयोजनामा भएको सेमिनारमा उनले भारत संग मात्र होईन छिमेकी मुलुक चीनसँग समेत कुनै विषयमा फरक मत देखिए पनि तथ्यका आधारमा वार्तामार्फत समाधान खोज्न सकिने बिचार व्यक्त गरे।

पूर्वप्रधानमन्त्री नेपालले पञ्चशीलका सिद्धान्तमा सबैसँग सुसम्बन्ध राख्ने र असंलग्न अभियानको शुरुआत गर्ने मुलुक भएकाले सोहीअनुसार अगाडि बढ्ने र कुनै पनि देशबीचको द्वन्द्वमा सहभागी नहुने बताए। नेपाल शान्तिका लागि निरन्तर पहल गर्ने र कहीँ कतै द्वन्द्व भए वा देखिएमा त्यसलाई वार्ताका माध्यमबाट शान्तिपूर्ण तवरले समाधान गर्न चाहने उल्लेख गर्दै उनले आफ्नो देशको असंलग्नताको सिद्धान्तलाई निरन्तरता दिइने स्पष्ट पारे। असल सम्बन्धको प्रवद्र्धन र सहकार्यका लागि निरन्तर प्रयास गर्ने उल्लेख गर्दै पूर्वप्रधानमन्त्री नेपालले विशेष गरी छिमेकी मुलुकले पनि सहकार्यबाट अगाडि बढ्नुपर्नेमा जोड दिए।

तुलनात्मक लाभका क्षेत्रका केन्द्रित गरेर पर्यटन, कृषि र जलविद्युत् क्षेत्रमा वैदेशिक लगानी प्रवद्र्धन गरेर नेपाल अगाडि बढ्न चाहेको उल्लेख गर्दै उनले त्यसका लागि उच्चतम प्रविधि प्रयोग गरेर अगाडि बढ्न चाहेको बताए। नेता नेपालले भारत र चीनसँग फलदायी सहकार्य गरेर अगाडि बढ्न चाहेको उल्लेख गर्दै त्यसका लागि दुवै देशको सकारात्मक सहयोग रहने विश्वास व्यक्त गरे। उनले नेपाल–भारत सम्बन्धमा विभिन्न तहमा विभिन्न तर्क हुने गरेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्धमा जिम्मेवार भएर लेख्न र आफ्ना विचार प्रवाह गर्न आग्रह गरे।

भारतको सिक्किम विश्वविद्यालयका उपकुलपति प्रा डा महेन्द्रपी लामाले नेपाल–भारतबीचको सम्बन्धमा सबल पक्ष रहेको उल्लेख गर्दै द्विपक्षीय सम्बन्ध चाँडै सहज हुने विश्वास व्यक्त गरे। ‘साँप पनि मरोस्, लौरो पनि नभाँचियोस्’ भन्ने अर्थमा नेपालको कूटनीति अगाडि बढ्नुपर्ने बताउँदै उनले सन्तुलित कूटनीति अपनाएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो। लामाले भारत–चीनले नेपालमा वर्षौँदेखि काम गरिरहेको उल्लेख गर्दै यस अर्थमा कुनै पनि द्वन्द्व नरहेको बताए।

चीनको इस्टिच्युसन फर साउथ एशिया स्टडिजका निर्देशक प्रा डा हु सिसाङले चीन, नेपाल र भारतबीच सहकार्य हुनुपर्नेमा जोड दिँदै त्यसका लागि द्विपक्षीय विषयलाई तेस्रो पक्षले सहयोग गर्नुपर्ने बताए। ट्रान्स–हिमालय मल्टिडाइमेन्सनल कनेक्टिभिटी नेटवर्कको प्रभावकारिता र चीन–भारतबीचको सम्बन्धले पनि नेपालको समृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै उनले आगामी दिनमा नेपालको दक्षिण एशियामा महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गरे।

रासस